• ११ मंसिर २०८१, मङ्गलबार

दुर्घटनाको डरलाग्दो तस्बिर

blog

नेपालमा सडक दुर्घटनाबाट हुने मानवीय क्षतिको स्थिति हेर्दा निकै डरलाग्दो देखिन्छ । दैनिक औसत ८ देखि १० जनासम्मको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ । अझ चाडबाडको बेला यो तथ्याङ्क उकालो लाग्छ । दसैँको बेला घर फकर्ने यात्रुहरूको चाप अत्यधिक भए पनि सडकमार्गको अवस्था भने नाजुक छ । पूर्वपश्चिम राजमार्गका सडकहरू बढी व्यस्त हुँदा दसैँमा घर फकर्नेलाई सकस हुने गर्छ भने सडक दुर्घटना पनि अत्यधिक बढ्ने गरेको छ । 

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार मृत्यु हुनेको तथ्याङ्क हेर्दा नेपालमा सबैभन्दा बढी दुर्घटना काठमाडौँ र राजमार्ग अन्तर्गतका जिल्लाहरूमा हुने गरेको छ तर सबैभन्दा बढी दुर्घटनाको दर हेर्दा काठमाडौँ उपत्यकाभित्र छ । तथ्याङ्क अनुसार काठमाडौँ उपत्यका भन्दा तराई क्षेत्रमा सवारी दुर्घटना दर निकै कम हुने गरेको छ तर दुर्घटनामा ज्यान गुमाउने दर भने निकै उच्च छ । 

राजधानीलगायत सहरी क्षेत्रमा सवारीको अत्यधिक चाप, चालकको लापरबाही, यात्रुहरूको जथाभावी सडक काट्ने प्रवृत्ति, सडकका पेटीहरूको अतिक्रमण, कमजोर ट्राफिक व्यवस्थापन, सहरी मापदण्ड अनुसारको गुणस्तरीय सडकको अभाव, पुराना सवारीको बाहुल्यता, ट्राफिक सङ्केतको अभावलगायतका कारण सवारी दुर्घटना बढ्ने गरेको छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार २०८०/०८१ को भदौसम्म चार हजार ५७ वटा सडक दुर्घटना भएका छन् । जसमा मृत्यु हुनेको सङ्ख्या ३१५ रहेको छ । सोही अवधिमा घाइते हुनेको सङ्ख्या एक हजार १२ रहेको छ । चालु वर्ष सडक दुर्घटना हुनेमध्ये सबैभन्दा बढी दुर्घटना काठमाडौँ उपत्यका परेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा बितेका दुई महिनामा एक हजार ९०५ वटा सडक दुर्घटनाका घटना भएका छन् । यहाँ सडक दुर्घटना हुने सङ्ख्या अत्यधिक भए पनि मृत्यु हुनेको सङ्ख्या भने कम देखिन्छ । पछिल्लो दुई महिनामा काठमाडौँ उपत्यकामा सडक दुर्घटनाबाट २७ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । 

कोशी प्रदेशको ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार त्यस प्रदेशमा साउनयता ४७६ वटा सडक दुर्घटना भएका छन् भने ५५ जनाको मृत्यु र १०८ जना घाइते भएका छन् । बागमती प्रदेशमा १९६ वटा सडक दुर्घटना हुँदा ४१ जनाको मृत्यु र ९४ जना घाइते भएका छन् । मधेश प्रदेशमा एक हजार ७४ वटा सडक दुर्घटना हुँदा ८२ जनाको मृत्यु र ४३० जना घाइते भएका छन् । गण्डकी प्रदेशमा ६८ वटा सडक दुर्घटना हुँदा २४ जनाको मृत्यु र ५३ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनी प्रदेशमा बितेका दुई महिनामा १३० वटा सडक दुर्घटना भएका छन् । यस प्रदेशमा सडक दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या ४४ र घाइते हुनेको सङ्ख्या १३४ रहेको छ । कर्णाली प्रदेशमा १५७ वटा सडक दुर्घटनासम्बन्धी घटना हुँदा २० जनाको मृत्यु र ९२ जना घाइते भएका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशमा ५१ वटा सडक दुर्घटनाका घटना हुँदा २२ जनाले मृत्युवरण गरेका छन् भने ५४ जना घाइते भएका छन् । 

विगतका वर्षमा पनि नेपालमा सडकसम्बन्धी दुर्घटनाको दर उच्च देखिन्छ तर सडक दुर्घटनामा परेकालाई समयमै उपचार नगर्दा धेरैको ज्यान जाने गरेको छ । हाल सरकारले ठुला राजमार्गमा सुविधा सम्पन्न ट्रमा सेन्टर खोल्ने योजना प्रत्येक वर्षको बजेटमा समेट्छ तर ती योजना सुरु नै भएको पाइँदैन । त्यसो हुँदा राजमार्ग र राजमार्ग आसपासका सडकमा भएका दुर्घटनामा घाइतेहरूले समयमै उपचार नपाएपछि मृत्युवरण गर्नेको दर उच्च छ । 

प्रहरीको तथ्याङ्क अनुसार आव २०७९/८० मा पनि सडक दुर्घटनाका घटना डरलाग्दो देखिन्छ । यस वर्ष २३ हजार ५९७ वटा सडक दुर्घटनासम्बन्धी घटना भएका छन् भने यस वर्ष मृत्युवरण गर्नेको सङ्ख्या दुई हजार ३६८ रहेको छ । सो आवमा सबैभन्दा बढी सडक दुर्घटना काठमाडौँ उपत्यकामै भएको छ । तीन जिल्लामा दस हजार ६७५ वटा सडक दुर्घटना भएका छन् भने १७९ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्कले देखाउँछ । सो वर्ष उपत्यकामा ट्राफिक दुर्घटनाबाट घाइते हुनेको सङ्ख्या २६१ रहेको छ । 

त्यस्तै बागमती प्रदेशमा एक हजार ३६१ वटा सडक दुर्घटना हुँदा २९९ जनाको ज्यान भएको छ भने ७२९ जना घाइते भएका छन् । यो वर्ष सडक दुर्घटना बढी हुने प्रदेश मधेश प्रदेश हो, जहाँ पाँच हजार ९८८ वटा दुर्घटना भएका छन् । त्यस्तै कोशी प्रदेशमा तीन हजार ५१० वटा सडक दुर्घटना भएका छन् भने मृत्यु हुनेको सङ्ख्या ४१२ रहेको छ । यस वर्ष अन्य प्रदेशमा पनि सडक दुर्घटना बढी देखिए पनि सबैभन्दा बढी मृत्यु हुनेको सङ्ख्या मधेश प्रदेशमा पर्छ । 

आव २०७८/०७९ मा २४ हजार ५३७ वटा सडक दुर्घटना भएका छन् । यस वर्ष पनि सबैभन्दा बढी दुर्घटना काठमाडौँ उपत्यकाभित्र रहेको देखिन्छ तर मृत्यु हुनेको सङ्ख्या भने मधेश प्रदेशमा बढी छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा १० हजार ७३३ वटा सडक दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । सो वर्ष मधेश प्रदेशमा सडक दुर्घटनामा परी मृत्युवरण गर्नेको सङ्ख्या ५८५ रहेको छ । यस प्रदेशमा सो वर्ष पाँच हजार ७११ वटा सडक दुर्घटनासम्बन्धी घटना भएका थिए । बागमती प्रदेशमा एक हजार ७९८ वटा सडक दुर्घटनाका घटना भएका छन् भने ४१३ जनाको मृत्यु भएको छ । त्यस्तै लुम्बिनीमा सो वर्ष ट्राफिक दुघर्टनाबाट मृत्यु हुनेको सङ्ख्या ५३८, गण्डकीमा २५४, कर्णालीमा १७८, सुदूरपश्चिममा १९६ जनाको ज्यान गएको छ । 

आव २०७७/०७८ मा सडक दुर्घटनाबाट मृत्यु हुनेको तथ्याङ्क पनि डरलाग्दो छ । यस वर्ष सडक दुर्घटनाबाट देशभर दुई हजार पाँच सय जनाको ज्यान गएको छ भने २० हजार ६४० वटा सडक दुर्घटनासम्बन्धी घटना भएका छन् । यस वर्ष लुम्बिनी र मधेश प्रदेशमा ज्यान जानेको सङ्ख्या बढी देखिन्छ । लुम्बिनी प्रदेश ५२६ र मधेश प्रदेशमा ५२३ जनाले सडक दुर्घटनाबाट ज्यान गुमाउनु परेको छ । यस वर्ष देशभर भएका सडक दुर्घटनामा परी घाइते हुनेको सङ्ख्या छ हजार ४४८ रहेको छ । यस वर्ष काठमाडौँ उपत्यकाका तीन जिल्लामा नौ हजार ५४५ वटा सडक दुर्घटना भएका थिए भने १६७ जनाको मृत्यु भएको थियो । 

थन्कियो अध्ययन प्रतिवेदन 

यसअघि नेपालमा हुने सडक दुर्घटनासम्बन्धी सङ्घीय संसद्को विकास तथा प्रविधि समिति गठन गरेको ‘सवारी दुर्घटना न्यूनीकरण अध्ययन उपसमिति’ले २०७७ मा अध्ययनसमेत गरेको थियो तर उक्त प्रतिवेदन हालसम्म पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा थन्किएको छ । प्रतिवेदनले सडक दुर्घटनाका कारण र रोकथामसम्बन्धी सुझावसहितको प्रतिवेदन पेस गरेको थियो । त्यतिबेलाको अध्ययनले सडक अनुशासनको अवहेलना, दक्ष र अनुभवी चालकको कमी, मापदण्डविपरीत बनेका सडक संरचना, सवारीसाधन प्रयोगकर्तामा सवारी नियमको ज्ञानको अभावलगायत कारणले पनि दुर्घटना बढेको उल्लेख गरेको थियो । 

दुर्घटना कम गर्न के गर्ने ? 

नेपालका सडकमा अझै पनि थोत्रा र २० वर्ष पुराना सवारीसाधन सडकमा गुड्ने गरेका छन् । दुर्घटना रोक्न यसलाई पूर्ण रूपले बन्देज लगाउनु पर्ने देखिन्छ । त्यस्तै ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार चालकको अवस्था र गाडी चलाउने अवधि लागु गर्न प्रविधिको प्रयोग गर्दा दुर्घटना बढी हुने गरेकोले यसतर्फ चासो दिनुपर्ने देखिन्छ । सडकको अवस्था र भूगोल अनुरूपको सवारीसाधन सञ्चालनका लागि रुट अनुमति दिने, तीन हजार पाँच सय किमि यात्रापछि सबै सवारीसाधनलाई अनिवार्य प्रमाणित वर्कसप पठाउने, तोकिएको सडकबाहेक सवारी प्रवेश निषेध गर्ने, उच्च जोखिम क्षेत्र पहिचान गरी यातायात र सडक पूर्वाधार सुधार गर्ने, राजमार्गका विभिन्न स्थानमा अस्पताल बनाई सेवा प्रदान गर्ने, विद्यालय तहदेखि नै सडक सुरक्षासम्बन्धी पाठ्यपुस्तकमा समावेश गर्ने, हरेक प्रदेशमा एउटा ट्रमा सेन्टर निर्माण गर्नेलगायत सावधानी अपनाएका सडक दुर्घटनासम्बन्धी घटना कम हुन सक्छन् । यसका लागि सडक पूर्वाधारसँग सम्बन्धित सरकारी निकायले बढी जिम्मेवार देखिनु आवश्यक छ । 

  

Author

रामहरि कार्की