गुणबहादुर रोका
सुलीकोट, असोज २७ गते । नेपालीको मुख्य पर्व दसैँ–तिहारका बेला यातायात व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न गोरखा सदरमुकामको दुई ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले आज सदरमुकामको पुरानो बसपार्कमा र १२ किलोमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । विशेषगरी चाडपर्वको बेलामा विभिन्न सहर र बजारबाट घर फर्कनेको भिड हुने र हतार–हतार धेरै यात्रुको झोलालगायत सामग्रीबिच बाटैमा छुट्ने, यात्राको क्रममा बढी भाडा लिने र यात्रुले सिट नपाउनेलगायतका गुनासोहरू सुन्न यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख वेदनाथ भण्डारीले बताउनुभयो ।
यात्रु सहायता कक्ष दसैँदेखि तिहारसम्म सञ्चालन हुने भएको छ । सो कक्षमा ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयका कर्मचारी खटिने बताइएको छ । त्यस्तै सवारी चेकजाँचलाई समेत कडाइ गरिने ट्राफिक प्रमुख भण्डारीले बताउनुभयो । जिल्लाका विभिन्न रुटमा सञ्चालन हुने सवारीसाधनमा चाडपर्वको बेलामा सिट क्षमताभन्दा बढी बोक्ने र सवारी साधन दुर्घटना हुने सम्भावना भएकाले २४ घण्टा सवारी चेकजाँचमा कडाइ गरिएको उहाँले बताउनुभयो ।