मीना कंडेल
कावासोती, असोज २७ गते । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ महाधिवेशनमा नवलपुरको गैँडाकोट घर भएका तिलकप्रसाद गैरेले सह–कोषाध्यक्षमा उम्मेदवारी दिने बताउनुभएको छ ।
गैरे युरोप क्षेत्रका उपसंयोजक र गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्वअध्यक्ष समेत हुनुहुन्छ । गैरेले ७ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै सबल एनआरएनएका लागि स्थायी रूपमा बलियो कोष निर्माण गर्ने, सङ्घको कोषलाई फजुल खर्चबाट जोगाएर मितव्ययी र पारदर्शी बनाउने, आपसी सहयोग अभिवृद्धि र आइपर्ने विभिन्न समस्या समाधानका लागि आइसिसी कोषाध्यक्ष र सह-कोषाध्यक्षको नेतृत्वमा सबै एनसीसीका कोषाध्यक्ष र सह–कोषाध्यक्ष रहेको संयन्त्र गठन गर्ने लक्ष्य लिएको बताउनुभयो ।
नेपालको भाषा, संस्कार, संस्कृति, नेपालीपन र नेपाली माटोसँग भौतिक र भावनात्मक रूपमा जोड्न भाषा, संस्कृति प्रवर्धन र जगेर्नाका लागि एउटा छुट्टै कोष बनाएर काम गर्ने बताउनुभएको छ । एक पटकको नेपाली सधैँको नेपाली भन्ने सङ्घको मुलमन्त्रलाई पूर्ण रूपमा सफल बनाउन सधैँ क्रियाशील बन्ने, नेपालीका लागि नेपाली भन्ने सङ्घको मूल नाराको भावना बमोजिम सधैँ सक्रिय रहने प्रतिबद्धता जनाउनुभएको छ ।
मध्यपूर्व, युरोपलगायत विभिन्न देशमा गएका श्रमिकको कुनै कारणले निधन हुन गएमा उनीहरूको शव नेपाल ल्याउने प्रबन्धका लागि अनिवार्य रूपमा नेपाल सरकारले जीवन बिमाको रकमबाट भुक्तानी मिलाउन पहल गर्ने, परिवारले पाउनुपर्ने क्षतिपूर्तिलाई पनि सुनिश्चित गर्न पहल गर्ने उहाँको भनाइ छ ।
नवलपुरमा अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचेयर उपलब्ध गराएको, कोरोना महामारीको बेला अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य उपकरण तथा सामग्री सहयोग गरेको, पोर्चुगलमा नेपाली बसेको घरमा पुगेर खाद्यान्नलगायत औषधि वितरण तथा कोरोना सङ्क्रमितको उपचारका लागि पहलकदमी र अगुवाइ गरेको, एकल सुत्केरी महिलालाई आर्थिक सहयोग उपलब्ध गराएको उहाँको भनाइ छ ।
गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११ औँ महाधिवेशन तथा विश्व सम्मेलन आगामी १७–२० अक्टोबर काठमाडौँमा हुँदैछ ।