अमृतप्रसाद पौडेल
म्याग्दी, असोज २७ गते । सोह्र श्राद्धको चतुर्दशीतीथिका दिनमा बेनी नगरपालिका वडा –२ बगरफाँटका ९९ वर्षीय खड्गबहादुर थापा लौरी टेकेर जिल्ला सदरमुकाम बेनी जाँदै हुनुहुन्थ्यो । उहाँको साथमा उहाँकी पत्नी खिरकुमारी पनि सँगै हुनुहुन्थ्यो ।
एकसय टेक्नैलागेका खड्ग र ८४ वर्षीया खिरकुमारी बेनी नगरपालिकाले प्राइम कमर्सियल बैङ्कको खातामा डिपोजिट गरिदिएको सामाजिक सुरक्षा भत्ता निकाल्न त्यहाँ जानुभएको हो ।
४२ वर्षअघि छोरा मीनबहादुर थापाको युवा अवस्थामा नै मृत्यु भएपछि श्रीमती खिरकुमारीसँग आफन्तको सामान्य छाप्रोमा बस्दै आउनुभएका थापा दम्पत्तिलाई स्याहारसुसार गर्ने आफ्ना कोही छैनन् ।
थापा दम्पत्तिका बोल्न सुन्न नसक्ने एउटी छोरीको बेनी नगरपालिका –३ तोराखेत विवाह भएको छ । देख्दा स्वस्थ शरीर र हँसिलो मुद्रामा देखिने थापा लट्ठीको सहाराबिना हिँड्न सक्नुहुन्न । गाउँ यताउता घुम्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध दही जे पाइन्छ ल्याएर खाने गर्नुहुन्छ । सम्पत्तिका नाममा थापाको न बास छ, न खाने गाँस । थापा दम्पतीलाई बिरामी हुँदा निकै समस्या पर्नेगरेको उहाँका अर्का छिमेकी टेकबहादुर कार्कीको भनाइ छ ।
थापाले भन्नुभयो, “सम्पत्ति कमाएँ अर्कैलाई भयो, अहिले सम्पत्ति खाने मान्छेले फर्केर पनि हेर्दैन ।’
“बुढेसकालमा सहाराविहीन भएर बाँच्नु पर्दा निकै ठुलो पीडा हुँदोरहेछ” थापाले भन्नुभयो, “सहारा दिने मान्छे नभएपछि आफ्नै जीवन आफैलाई बोझ हुँदोरहेछ ।” सदरमुकाम बेनी बजारनजिकै रहेको बगरफाँट गाउँमा बस्ने भएकाले थापा दम्पतीलाई समय समयमा बेनीमा रहेका सङ्घ संस्था र व्यक्ति अनि गाउँलेबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुनेगरेको छ ।