• १३ पुस २०८१, शनिबार

‘मास्टर्नी’ को अर्थ नबुझ्दा...

blog

म सानो छँदा घरमा मुवालाई ‘मास्टर्नी’ भनेर बोलाएको सुन्थेँ । जिजुमुवाले प्रायः मुवालाई मास्टर्नी बुहारी भन्नुहुन्थ्यो । जिजुबुवाले पनि मास्टर्नी नै भनेर बोलाउनुहुन्थ्यो । परिवारका अरूले पनि मास्टर्नीकै पछाडि साइनो जोडेर नै बोलाएको सुनेँ । गाउँका मानिसले पनि मास्टर्नी नै भनेर बोलाउँथे । मुवाको नाम त के थियो, त्यतिबेला मलाई थाहा थिएन । कतै मास्टर्नी भन्ने शब्द सुन्यो भने मेरो मुवा नै हो भन्ने लाग्थ्यो मलाई । विस्तृत कुरामा त ध्यान पनि गएन । मेरो मुवाको नाम नै मास्टर्नी हो भन्ने लागेको थियो । 

अलि ठुली भएपछि स्कुलमा पनि मास्टर्नी भन्ने शब्द सुनेँ । स्कुलमा पढाउने शिक्षिकलाई मास्टर्नी भन्ने रहेछन् । मलाई लाग्यो, शिक्षिकाको नाम पनि मास्टर्नी नै रहेछ । शिक्षकलाई त ‘सर’ भनेर बोलाइन्थ्यो । हामी मास्टरजी पनि भन्थ्यौँ । त्यो बेलामा मास्टरजी शब्दको चलन बढी थियो । कसै कसैले मास्टसाब पनि भनेको सुनिन्थ्यो । मेरो बुवालाई सबैले मास्टरजी नै भन्थे । कसै कसैले भने ‘हेडसर’ वा ‘मास्टसाब’ पनि भन्थे । 

सात कक्षा पढ्ने बेलामा मैले गाउँमा चेलीबेटी कक्षा पढाउन सुरु गरेँ । पढ्ने नानीहरूलाई मैले मलाई मिस भन्नू भनेर सिकाएकी थिएँ । त्यसैले उनीहरूले मिस भनेर बोलाउँथे तर त्यो गाउँका अरू मानिसले भने मलाई पनि मास्टर्नी नै भन्दा रहेछन् । चेलीबेटी पढाउने मास्टर्नी आइन् भन्थे । मास्टर्नी आइन्, पढ्न जाउ भन्थे । कुनै दिन पढाउन नजाँदा “आज मास्टर्नी कहाँ गइछन्, आइनन्” भन्थे । मेरो नाम त अर्कै हो । किन मलाई पनि मास्टर्नी भनेका होलान् ? मेरो दिमागमा यो मास्टर्नी शब्द घुम्न थाल्यो । घरमा मास्टर्नी, स्कुलमा मास्टर्नी र यहाँ मलाई पनि मास्टर्नी ? फरक फरक पृष्ठभूमिका महिलालाई मास्टर्नी भनिन्थ्यो ? के रहेछ यो मास्टर्नी भनेको ?

मास्टर्नी भनेको साइनो हो या नाम हो या पद हो या पेसा हो, के हो ? म रनभुल्लमा परेँ । नाम हो भनौँ भने मलाई पनि मास्टर्नी नै भन्छन् । मेरो नाम त अर्कै हो । साइनो हो भनौँ भने सबै साइनो लाग्नेहरूले मास्टर्नी नै भन्छन् । पद हो भनौँ भने कस्तो खालको पद हो, थाहा पाउन गाह्रो भयो । यो शब्दले मलाई हैरान बनायो । 

मेरो हैरानीलाई बुझाउन एक दिन मैले बुवालाई सोधेँ, “बुवा यो मास्टर्नी भनेको के हो ? चेलीबेटी कक्षा पढाउने गाउँमा मलाई पनि मास्टर्नी भन्छन् । स्कुलमा पनि मास्टर्नी भनेको सुनेँ । घरमा मुवालाई पनि मास्टर्नी नै भन्छन् ।” 

बुवाले भन्नुभयो, “पढाउने महिलालाई मास्टर्नी भन्छन् । आजकाल तिमीले पढाउन थाल्यौ, त्यसैले तिमीलाई पनि मास्टर्नी भनेको हो ।” मैले फेरि सोधेँ, “पढाउने लाग्नेमान्छेलाई मास्टरजी भन्छन् त । किन महिलालाई मास्टर्नी भनेको ?” 

“केटालाई मास्टर र केटीलाई मास्टर्नी भन्ने चलन छ, त्यही भएर मास्टर्नी भनेको हो । स्कुलमा त मिस, मेडम पनि भन्छन् नि हैन,” बुवाले सम्झाउनुभयो । 

मलाई उहाँको उत्तरले चित्त बुझेन । फेरि सोधेँ, “घरमा मुवालाई पनि त मास्टर्नी नै भन्छन् । गाउँका सबै जनाले मुवालाई मास्टर्नी नै भनेर बोलाउँछन् । मुवाले त कतै पढाउनुहुन्न त । उहाँलाई किन मास्टर्नी भनेको ?” 

बुवा हाँस्नुभयो र भन्नुभयो, “तिम्रो मुवालाई त मैले गर्दा मास्टर्नी भनेको ।” 

“किन हजुरले गर्दा ?” 

“म मास्टर भएँ, त्यसैले उनलाई मास्टर्नी भनेको । मास्टरको श्रीमतीलाई गाउँमा मास्टर्नी भन्ने चलन छ ।”

‘ए ! त्यसो भए पढाउने महिलालाई पनि मास्टर्नी अनि मास्टरको श्रीमतीलाई पनि मास्टर्नी ? यो कसरी हुन्छ ? फरक पृष्ठभूमि भएकाहरूलाई पनि एउटै सम्बोधन कसरी हुन्छ ?” मैले जिज्ञासा राखेँ । 

“हाम्रो समाजको चलन यस्तै छ । श्रीमान् खरदार भए श्रीमती खरदार्नी, मास्टर भए मास्टर्नी, डाक्टर भए डाक्टरनी, सुब्बा भए सुब्बिनी, बैदार भए बैदार्नी, प्रधान भए प्रधान्नी । यस्तै गरी बोलाउने चलन छ । हाम्रो गाउँमा मात्र होइन, सबै गाउँमा यस्तै भनेर बोलाउँछन्,” बुवाले फेरि सम्झाउनुभयो । 

मेरो जिज्ञासा मेटिएन । मैले फेरि सोधेँ, “त्यसो भए भोलिपर्सि म पढेर सुब्बा भएछु भने मेरो श्रीमान्लाई के भन्छन् त ? सुब्बा नै भन्छन् ? म स्कुलमा पढाउने मास्टर भएँ भने मेरो श्रीमान्लाई पनि मास्टर नै भन्छन् ?” 

बुवाले भन्नुभयो, “होइन, तिमी सुब्बा भए पनि तिम्रा श्रीमान्लाई सुब्बा भन्दैनन् । तिमी मास्टर भए पनि तिम्रा श्रीमान्लाई मास्टर भन्दैनन् । उसलाई त उसकै नामले बोलाउँछन् । कसैले मास्टर्नीको पोइसम्म भन्लान् ।” बुवाको कुरा सुनेर मलाई हाँसो उठ्यो । बुवा पनि हाँस्नु भयो र “सोध्न पनि कस्तो कस्तो कुरा सोध्छौ” भन्नुभयो । 

“कस्तो अचम्म ! श्रीमान् कुनै पदमा पुगे भने श्रीमतीलाई त्यही पदले ‘...अर्नी’ जोडेर बोलाउने तर श्रीमतीले पद धारण गरिन् भने श्रीमान्लाई केही नभन्ने ? उनलाई पनि ‘...अर्नाे’ जोडेर बोलाउनु पर्दैन र ? यसो गर्दा श्रीमान्को पनि त सम्मान हुँदो हो,” मैले फेरि सोधेँ । 

उत्तरमा उहाँले भन्नुभयो, “खै ! त्यस्तो भन्ने गरिएको छैन । महिलालाई बोलाउन र चिनाउन सजिलो हुने भएकाले नै श्रीमान्को पदसँग नाम जोडेर भनिएको होला सायद । कतिपय अवस्थामा नाम भनी राख्न असहज पनि हुन्छ । नामैले बोलाउँदा कसैलाई राम्रो लाग्दैन । श्रीमान्को पदसँग जोडेर बोलाउँदा सम्मान गरिएको पनि मानिन्छ । महिलाको इज्जत पनि बढ्छ । कहिलेकाहीँ त नामले बोलायो भने अप्ठ्यारो मान्छन् । श्रीमान्को पदसँग नाम जोडेर सम्बोधन गर्नु भनेको महिलाप्रतिको सम्मान पनि हो छोरी ।” 

यो मेरो बुवाको आफ्नो तर्क हो । उहाँले हाम्रो समाजको चलनचल्तीमा आएको रीतिको कुरा गर्नुभयो । महिलालाई पुरुषसँग जोडेर बोलाउँदाखेरि सम्मान हुने मिठो तरिकाले मलाई सम्झाउनुभयो । उहाँको यो भनाइले मभित्र झन् खुल्दुली पैदा भयो । मेरा माहिलो बुवा तत्कालीन गाउँ पञ्चायतको प्रधानपञ्च हुनुहुन्थ्यो । माहिली मुवा तत्कालीन महिला विकास शाखामा काम गर्नु हुन्थ्यो । महिला विकास कार्यकर्ता हो सायद । उहाँ स्थायी सरकारी जागिरे हो । बुवाले माहिली मुवालाई सम्बोधन गर्दा सधैँ प्रधान्नी नै भन्नुहुन्थ्यो । कहिलेकाहीँ माहिली पनि भन्नुहुन्थ्यो । मुवाले भने माहिली भाउ भनेर बोलाउनु हुन्थ्यो । माया गरेर बोलाएको होला सायद । माहिलो बुवालाई माहिली मुवाको पदसँग नाम जोडेर सम्बोधन गरेको कहिल्यै सुनिनँ । उहाँ पनि खरदार या सुब्बा त पक्कै पनि हुनुहुन्थ्यो त्यतिबेला । उहाँको पद त गुमनाम ! उहाँको आफ्नै सम्मानित पद हुँदाहुँदै पनि उहाँलाई आफ्नो पदले सम्बोधन गरिएको कहिल्यै सुनिनँ । घरमा होस् या गाउँमा । कतै पनि मेरी माहिली मुवालाई उहाँको आफ्नो पदले सम्बोधन गरेर बोलाइएन । 

मलाई अहिलेसम्म पनि मेरो जिजुमुवाको नाम थाहा छैन । मैले घरमा कहिल्यै पनि कसैबाट जिजुमुवाको नाम उच्चारण भएको सुनिनँ । उहाँलाई उहाँको नामले कसैले पनि बोलाउँदैन थियो । जिजुबुवाले उहाँलाई ‘मास्टरकी मा’ भन्नुहुन्थ्यो । कहिलेकाहीँ 

‘बड्डी’ पनि भन्नुहुन्थ्यो । बोलाउँदाखेरि “ए सुन् त” भन्नुहुन्थ्यो । उहाँलाई गाउँमा साहुकार्नी भनिन्थ्यो । गाउँमा सबैले साहुकार्नी नै भनेर बोलाएको, सम्बोधन गरेको सुनेँ । साहुकार्नी बज्यै, साहुकार्नी भाउजु, साहुकार्नी जिया, साहुकार्नी सासु आदि आदि । जिजुबुवालाई सबैले साहुकार भन्थे । उहाँ साहुकार भएकाले जिजुमुवा साहुकार्नी हुनुभएको रहेछ । उहाँको नाम त अर्कै थियो होला । थाहा भएन । जिजुबुवाको नामसम्म थाहा थियो मलाई । आजकाल कुनै ठाउँमा पारिवारिक पुस्तौली दिनु पर्दा जिजुमुवाको नाम लेख्ने ठाउँमा खाली छोड्छु । जिजुमुवाको नाम त बुवालाई पनि सोधिनँ मैले । 

सायद यही नै सामाजिक संस्कार थियो । सामाजिक विश्वास पनि । मिठो तरिकाले महिलाको नाम अगाडि ल्याउन नखोजिएको । ल्याउन जरुरी पनि नसोचिएको । महिलालाई आफ्नो पहिचान बनाउन नलगाइएको । महिलालाई पढाउने चलन पनि थिएन । बल्ल बल्ल गाउँभरिमा दुई तीन जना मात्रै छोरी स्कुल जान थालेका थिए । 

आजकाल मैले बुझ्दा त्यो त पुरुषप्रधान भएको समाज लाग्यो । पितृसत्तात्मक समाज । पुरुषकै नामले महिलाको पहिचान हुने । पुरुषवादी समाज । पुरुष नै हर्ताकर्ता । घरमा महिलाले खेती गरी उब्जाएको खाना हुन्थ्यो त पुरुषले जागिर गरी ल्याएकाले लुगा फाटो । आखिर काम त बराबर नै त भयो । महिलाको आफ्नो नाम गुमनाम हुने । पाएको पदलाई पनि बटारेर ‘...अर्नी’ जोडिदिने ।   

Author

वसन्ती शाही