घोराही समाचारदाता
घोराही, असार १९ गते । निर्माण व्यवसायीको लापर्बाहीका कारण डेढ वर्षमा बन्नुपर्ने पुल चार वर्षभन्दा बढी समय बित्दासमेत बन्न सकेको छैन । दाङको घोराही उपमहानगरपालिका–१७, गैरागाउँ र घनिबगिया जोड्ने ४० मिटर लम्बाइको कटुवाखोला पुल निर्माणमा ढिलो भएको हो ।
पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयले बर्सातको समयमा दुःख पाउने गरेका छन् । २०७९ साल माघसम्म पुल निर्माणको काम सक्ने गरी २०७८ असार १४ गते महादेव खिम्ती/अञ्जना/जलजला जेभी काठमाडौँसँग ठेक्का सम्झौता भएको थियो । सडक पूर्वाधार विकास कार्यालय दाङका सूचना अधिकारी लीलाधर गिरीले चार करोड १७ लाख २४ हजार रुपियाँमा पुल निर्माणको जिम्मा पाएको महादेव खिम्ती/अञ्जना/जलजला जेभीले काम गर्न नसकेपछि चालु आर्थिक वर्षदेखि नयाँ निर्माण कम्पनीले पुल निर्माणको काम गरिरहेको जानकारी दिनुभयो । उहाँले ठेक्का लागेको लामो समयसम्म अलपत्र परेको पुल निर्माणले पछिल्लो समय गति लिएको बताउनुभयो ।
सूचना अधिकारी गिरीका अनुसार खिम्ती/अञ्जना/जलजला जेभी काठमाडौँकै ठेक्का रहने गरी निर्माण व्यवसायी डिल्ली डाँगीले पुल निर्माणको जिम्मा लिएपछि अहिले करिब ७० प्रतिशत पुल निर्माणको काम सकिएको छ । नयाँ निर्माण व्यवसायीले पुल निर्माणको जिम्मा लिएपछि कामले गति लिएको भन्दै सूचना अधिकारी गिरीले भन्नुभयो, “नयाँ निर्माण व्यवसायीले पुल निर्माणको काम जिम्मा लिएपछि कामले गति लिएको छ ।