• १ जेठ २०८२, बिहिबार

डेढ दशकदेखिको बिजुली बाल्ने सपना पूरा

blog

तानसेन समाचारदाता

पाल्पा, असोज २७ गते ।  पाल्पाको निस्दी–७, बतासाका रामबहादुर विकले बिजुली बत्ती बाल्न १५ हजार रुपियाँ बुझाएको १६ वर्ष भयो। घरमा बिजुली बत्ती बाल्ने रहरले बङ्गुरको पाठो बेचेर उहाँले १५ हजार रुपियाँ सामुदायिक विद्युतीकरणका लागि बुझाउनुभयो। 

डेढ दशकपछि बल्ल विकको घरमा बिजुली बत्ती बल्यो। यसले विकसहित बतासा गाउँका सबैलाई खुसी बनाएको छ। डेढ दशकपछि गाउँमा बिजुली बल्दा गाउँ र गाउँलेको मुहारसमेत उज्यालो भएको छ। बिजुली बत्तीको पर्खाइमा रहेका निस्दीका बासिन्दा लामो समयपछि बत्तकिो पहुँचमा पुगेका छन्। निस्दीको बतासा, ज्यामिरे र सिन्दुरे गाउँमा पहिलो पटक बिजुली बत्ती बलेपछि यहाँका बासिन्दा खुसी भएका छन्। 

बिजुली बत्ती बाल्न यहाँका बासिन्दाले सामुदायिक विद्युतीकरणमार्फत घरको खसी, बोका तथा सुँगुरका पाठा बेचेर रकम उठाएका थिए। उक्त रकम उठाएको डेढ दशकसम्म विद्युतीकरण हुन सकेको थिएन। घरमा बिजुली बत्ती बाल्ने सपनासहित विद्युतीकरणका लागि पाँच हजारदेखि १५ हजार रकम उठाएको डेढ दशकपछि बल्ल बत्ती बाल्न पाएको स्थानीय बासिन्दा टेकबहादुर पल्लीले बताउनुभयो। बिजुली बत्ती बलेपछि आफूहरूले बिजुली बाल्ने सपना पूरा भएको र अबदेखि टुकीको सहारा लिन नपर्ने भएको बताउनुभयो। 

निस्दीका अधिकांश वडामा बिजुली बत्ती बाल्नका लागि सम्बन्धित निकायलाई पटक पटक ताकिता गरेपछि काम भएको पालिकाका अध्यक्ष मुक्तबहादुर सारूले बताउनुभयो। गाउँमा विद्युतीकरण भएपछि निस्दीका जनतामा आर्थिक सामाजिक जीवनमा सकारात्मक परिवर्तन आउने अध्यक्ष सारूले बताउनुभयो। 

निस्दी वडा नं. ७ का वडाध्यक्ष मुक्तबहादुर पाटाले ज्यामिरेको धेरैजसो टोलमा विद्युतीकरण भइसकेको र बाँकी बेभोके, रोल्लाबास, मदनपुरलगायतका स्थानमा पनि छिट्टै बत्ती बल्ने बताउनुभयो। गाउँमा बिजुली बत्ती आएपछि विद्यार्थीलाई पढ्न, मोबाइल चार्ज गर्न, रेडियो सुन्न र टिभी हेर्न सजिलो भएको छ। बिजुली बत्तीको सहायताले गाउँमै अधिकांश काम हुने यहाँका बासिन्दाले अपेक्षा गरेका छन्। यसअघि टुकीको भरमा बसेका बासिन्दाका लागि बिजुली बत्ती घरमा जोड्न पाउनु खुसी र गौरवको कुरा भएको वडाध्यक्ष पाटाले बताउनुभयो।