तुलसीपुर (दाङ), असोज २६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङ देउखुरीस्थित राप्ती गाउँपालिकामा एकीकृत कृषि तथा पशु सेवा केन्द्रको भवन शिलान्यास गर्नुभएको छ ।
लुम्बिनी प्रदेश स्थायी राजधानी देउखुरीस्थित उक्त पालिकामा रु दुई करोड ५० लाख लागतमा निर्माण हुन लागेको उक्त भवनको आज उहाँले शिलान्यास गर्नुभएको हो । रिड परियोजनाअन्तर्गत निर्माण हुन लागेको भवनको शिलान्यास गर्नुहुँदै मन्त्री शर्माले देउखुरी क्षेत्रलाई कृषि उत्पादनको केन्द्रबिन्दु बनाउने गरी तयारी भइरहेको बताउनुभयो ।
उहाँले सङ्घको कृषि र सिँचाइ मन्त्रालयको समन्वयमा धान उत्पादनका लागि विशेष कार्यक्रम आउन लागेकोसमेत जानकारी दिनुभयो । “देउखुरी क्षेत्रमा दुई बाली धानखेती हुन्छ”, उहाँले भन्नुभयो, “त्यसैले पनि यहाँ कृषि उत्पादनको केन्द्रबिन्दु बनाउने गरी तयारी थालिएको छ ।” राप्ती गाउँपालिकाको प्राङ्गणमा उक्त भवन निर्माण हुन लागेको हो । मन्त्री शर्माले सोही भवनलाई समयमै पूरा गर्नसमेत निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । रासस