• १२ असार २०८१, बुधबार

धनगढी र गोदावरीका खाद्य उद्योगमा मन्त्रीको छड्के अनुगमन

blog

खाद्य गोदामको अनुगमन गर्दै मन्त्री रमेश धामीको टोली । तस्बिर : भवानी ऐर

भवानी ऐर

गोदावरी (कैलाली), असोज २६ गते । चाडपर्वका बेला अखाद्य वस्तुको बिक्रीवितरण रोक्नका लागि सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कैलालीको धनगढी र गोदावरी नगरभित्र रहेका खाद्य उद्योग तथा गोदामहरुको अनुगमन थालेको छ ।

मन्त्रालयअन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण निर्देशनालयको संयोजकत्वमा जिल्ला प्रशासन, प्रहरी लगायत सरोकारवाला निकायका प्रतिनिधिसहितको टोलीले शुक्रबार यहाँका चारवटा खाद्य उद्योगको अनुगमन गरेको हो । धनगढीको राजश्री फुड इण्डस्ट्रीज प्रालि, ठाकुर खाद्य इण्डस्ट्रीज तथा गोदावरी फ्लोर मिल र गोदावरीको  सुदूर फुड इण्डस्ट्रीजमा अनुगमन गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयअन्तर्गत उद्योग, वाणिज्य तथा उपभोक्ता हित निर्देशनालयका निर्देशक खेम चौधरीले ठाकुर खाद्य इण्डस्ट्रीजमा अन्य कम्पनीले उत्पादन गरेको चामल पनि भेटिएको जानकारी दिनुभयो । त्यहाँ केही चामल अखाद्यजस्तो देखिएको उल्लेख गर्नुहुँदै उहाँले त्यसलाई तत्काल नचलाउन निर्देशन दिइएको बताउनुभयो ।

‘‘विभिन्न कम्पनीले उत्पादन गरेका अलग अलग ब्राण्डका चामल ठाकुर खाद्य इण्डस्ट्रीजमा भेटिएका छन्, त्यसरी राख्न पाउँछ कि पाउँदैन, दर्ता प्रमाणपत्र ल्याउनु भनेका छौँ,’’ निर्देशक चौधरील भन्नुभयोे, ‘‘केही सामान शङ्कास्पद पनि देखियो, यसबारे पनि छलफल गर्छौँ ।’’

उत्पादित चामलको बोरामा पुरानो छाप नदेखिने गरी ठाकुर खाद्यले नयाँ छाप हानेको पनि देखिएको अनुगमन टोलीले जनाएको छ । अन्य उद्योगहरुमा भने त्यस्तो कैफियत फेला नपरेको निर्देशक चौधरीले जानकारी दिनुभयो । ‘‘चाडवाडमा अखाद्य बस्तुको बिक्रीवितरण अरुबेलाभन्दा बढी हुन्छ, खाद्य स्वच्छता कायम गर्न खाद्य उद्योगको अनुगमन थालिएको हो,’’ निर्देशक चौधरीले भन्नुभयो ।

चाडपर्वको समयमा अखाद्य वस्तुको बिक्रीवितरण बढी हुने भएकाले बजारमा खाद्य स्वच्छता कायम गर्न मन्त्रालयले खाद्य उद्योगहरुको अनुगमन थालेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले बताउनुभयो । उहाँले खाद्य उद्योगहरुको अनुगमनलाई निरन्तरता दिइने बताउनुभयो ।

अनुगमनले उद्योगीहरुका समस्या तथा गुनासा बुझ्न पनि प्रदेश सरकारलाई मद्दत पुगेको भन्दै मन्त्री धामीले भन्नुभयो, ‘‘यो अनुगमन कसैलाई दण्ड जरिवानाका लागि मात्रै नभएर उद्योगीहरुका समस्या र उपभोग्य बस्तुहरुको अवस्था बुझ्न गरिएको हो ।’’ वर्तमान अवस्थामा उद्योगले सहजरुपमा कच्चा पदार्थ पाइरहेका छन्, या छैनन्, सरकारबाट सहुलियत गर्नुपर्ने कुराहरु लगायतको समग्र जानकारी लिइएको भन्दै मन्त्री धामीले भन्नुभयो, ‘‘उद्योगीका समस्या समाधान गर्न प्रदेश सरकारले सहयोग गर्छ तर, गलत गरेको भेटिए कारवाहीको दायरामा ल्याउँछाैं ।’’

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढी उपमहानगरपालिका लगायतका निकायको प्रतिनिधित्व थियो ।