कास्की समाचारदाता
कास्की, असोज २६ गते । पोखराको फोहोरमैला व्यवस्थापनका लागि गुरुयोजना निर्माण हुँदै छ । नेपालका लागि जापानी राजदूत किकुता युताका र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबिच भएको भेटवार्तामा फोहोर व्यवस्थापनका लागि गुरुयोजना निर्माण गर्ने सहकार्य भएको हो । पोखरा महानगरका प्रमुख आचार्यले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को निमन्त्रणामा आफूले जापानको भ्रमण गरेको स्मरण गराउँदै सहकार्यका लागि कुरा भएको उल्लेख गर्नुभयो ।
जापानले जाइकामार्फत सम्पन्न हुने क्रममा रहेको खानेपानी आयोजनालगायत पोखरामा सञ्चालित महत्वपूर्ण विकास परियोजनामा दृढ र समर्पित साझेदारको भूमिका निर्वाह गर्ने बताइएको छ । पोखरालगायत समग्र नेपालको विकास यात्रामा जापान एक दृढ साझेदारका रूपमा रहँदै आएको आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो, “जापानको कोमागाने सहरसँग सन् २००१ देखि नै पोखराको भगिनी सम्बन्ध छ । यस सम्बन्धले दुई सहरलाई मात्र नभई दुई देशबिचमा स्थायी रूपमै सांस्कृतिक आदानप्रदान, सहकार्य र जनस्तरको सम्बन्धलाई सुदृढ बनाइरहेको छ ।” जापानले निरन्तर रूपमा पोखराको सामाजिक, आर्थिक र सांस्कृतिक प्रगतिमा आफ्नो प्रतिबद्धता व्यावहारिक रूपमै देखाएको छ । पोखरालाई निकट भविष्यमा पर्यटनको राजधानी सहरका रूपमा घोषणा गर्ने तयारी गरिएको उल्लेख गर्दै प्रमुख आचार्यले पोखरा र जापानका विभिन्न सहरहरूबिच नियमित अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण तयार गर्न राजदूत किकुतामार्फत जापान सरकारलाई आग्रह गर्नुभयो ।
जाइकामार्फत जापान सरकारको सहयोगमा सञ्चालित परियोजनाहरू समयमा सम्पन्न गर्न र पोखराको आर्थिक, सामाजिक, पर्यटन र पूर्वाधार निर्माणका क्षेत्रमा लगानी बढाउनसमेत उहाँले आग्रह गर्नुभयो । पोखरा खानेपानी सुधार आयोजना अन्तर्गत पोखरा–१५, कोलपाटनमा निर्माणाधीन ओभर हेड वाटर ट्याङ्की (खानेपानी ट्याङ्की) को समस्या समाधानका लागि समेत उहाँले आवश्यक पहल गरिदिन राजदूत किकुतालाई अनुरोध गर्नुभयो । हालसम्म निर्माणमा १४ करोड रुपियाँ खर्च भएको ट्याङ्कीलाई काटेर पुनः प्रयोगमा ल्याउन करोडौँ रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
जवाफमा राजदूत किकुताले पानी ट्याङ्कीको समस्या पोखरा महानगरपालिकाको मात्र नभई राजदूतावास, जाइका र नेपाल सरकारको समस्या भएको बताउनुभयो । यो साझा समस्याको समाधानका लागि सबै सरोकारवालाबिच छलफल तथा समन्वय गर्नुपर्ने उहाँले बताउनुभयो । जापान सरकारको कार्यान्वयन एकाइका रूपमा जाइकामार्फत सञ्चालित परियोजनाको गुणस्तर र प्रतिफल पोखरेली जनताको जीवनसँग जोडिने विषय भएकाले यसमा कुनै प्रकारको कमजोरी हुन नदिने राजदूत किकुताले विश्वास दिलाउनुभयो ।