• ११ मंसिर २०८१, मङ्गलबार

चाडपर्वमा अपनाउनुपर्ने सावधानी

blog

हिन्दुको महान् चाड दसैँ घरआँगनमा नजिकिँदै छ । दसैँ मनाउन विदेश गएका र देशका विभिन्न स्थानमा रोजगार, व्यापार, अध्ययन आदिको क्रममा बाहिरिएकाहरू आफ्नो गाउँघर फर्कंदै छन् । शनिबारसम्म सोह्रश्राद्ध छ । यो बेला श्राद्ध गर्दा वर्ष दिनसम्म पितृ तृप्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । ठुला चाड दसैँ, तिहार मनाउनुअघि पितृलाई श्रद्धापूर्वक सम्झना गरिने वैदिक सनातनी परम्परा अनुसार सोह्रश्राद्ध गरिने धर्मशास्त्रीहरूको भनाइ छ । यस वर्षको दसैँको जमरा राख्ने दिन अर्थात् घटस्थापना यही असोज २८ गते आइतबार परेको छ । 

अहिले सहरबजारमा दसैँको किनमेल गर्नेको भिड छ । अधिकांशले दसैँ, तिहार र छठका लागि आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडाको जोहो यही बेला गर्ने भएका कारण पनि देशका अधिकांश सहरबजारमा भिड लाग्छ । दसैँ, तिहार, छठ जस्ता चाडपर्व हाम्रा अमूल्य गहना हुन् । ती गहनालाई उपयुक्त ढङ्गले धारण गर्न सकेमा मात्र ती चाडपर्वको महत्व र आकर्षण चिरकालपर्यन्त रहन्छ । 

चाडपर्वका बेला अरूको देखासिकी गर्नाले अनावश्यक खर्च बढ्छ र चाडपर्वपछि कतिपय व्यक्तिहरू ऋण तिर्न विदेश हानिनुपर्ने बाध्यता आइपर्न सक्छ । त्यसैले ‘आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई’ भन्ने उक्ति चलेको होला । यस्तो हुन गयो भने यसले चाडपर्वको महत्व तथा आकर्षण हराउँछ भने यस्ता पर्वहरू बोझिला बन्न पुग्छन् । अनि कालान्तरमा चाडपर्वहरू मासिँदै जान्छन् । अतः हाम्रा चाडपर्वको महत्व र आकर्षणलाई संरक्षण गर्ने दायित्व पनि हाम्रै काँधमा छ ।

दसैँमा परिवारका ज्येष्ठ सदस्यका हातबाट टीका र जमरासँगै आशीर्वाद थापिन्छ । यसरी आशीर्वाद थाप्न पाउनु अहोभाग्य मान्नु पर्छ तर कुनै कमाइ नभएका, अरूको सहारामा बाँच्नु परेका ज्येष्ठ सदस्यकहाँ आशीर्वाद थाप्न गएकाहरूले दक्षिणा धेरै दिनु पर्छ भन्ने सोच हामीले राख्न हुँदैन । आफूभन्दा ठुलाबडाको आशीर्वाद थाप्न पाउनु लाखौँ रुपियाँ पाउनुभन्दा पनि ठुलो कमाइ हो । यो संस्कार हामीले हाम्रा भावी पुस्तालाई पनि दिन सक्नु पर्छ । टीका लगाइसकेपछि दक्षिणा कति पायौ ? यो प्रश्न अधिकांश अभिभावकको हुन्छ आफ्ना साना छोराछोरीसँग । त्यो हाम्रो ठुलो भुल हो । आशीर्वादलाई पैसामा दाँज्दै जाने हो भने हाम्रा चाडपर्वको आकर्षण बढ्दैन, घट्दै जान्छ । जब चाडपर्व पैसासँग जोडिन्छन्, त्यसलाई व्यवसायीकरण भएको मान्नु पर्छ । 

अहिलेको सन्दर्भमा मिठो मसिनो खान र राम्रो लगाउन चाडपर्व नै कुर्नु पर्छ भन्ने छैन । जहिले इच्छा लाग्छ, तहिले पाइन्छ तर अरूलाई देखाउनकै लागि चाडपर्वकै समयमा गरगहना, लुगाफाटो जोड्ने गर्दा हुनेको फुर्ती बढ्ला तर नहुनेलाई बाध्यता पर्छ र ऋण गरेरै भए पनि चाडपर्व मनाउनु पर्छ । अतः हुनेले संयमता अपनाएर चाडपर्व मनाउँदा नहुनेलाई केही राहत मिल्छ ।

सरकारले पनि हरेक वर्ष चाडपर्वको पूर्वसन्ध्यामा सहुलियत दरका खाद्यान्न पसलहरू सञ्चालन गर्ने गरेको छ । यस वर्ष पनि सरकारले त्यस्ता सहुलियत पसलहरू देशका विभिन्न स्थानमा सञ्चालनमा ल्याएको छ । सरकारले दसैँ, तिहार, छठलगायत ठुला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले यही असोज २१ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आउँदो मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालन गर्दै छन् ।

उपभोक्ताको सहजताका लागि अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन मुख्य चाडको अवधिभर यस्ता पसल सञ्चालनमा ल्याइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सरकारले सुपथ पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रूपमा उपलब्ध गराउने उद्देश्य राखेको छ ।

चाडपर्वको समयमा बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन सरकारले काठमाडौँ उपत्यकामा रहेका बिक्री केन्द्र र तीन घुम्ती पसल गरी ३५ ठाउँका सुपथ मूल्य पसलबाट खाद्यान्न बिक्री वितरण थालेको छ । खाद्य व्यापार कम्पनीले ४२ जिल्लाका ४८ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । 

असत्यमाथि सत्यको विजय भएको दिन भनेर दसैँको दसौँ दिनलाई विजयादशमी भनिन्छ । हामीले असत्यलाई परास्त गर्न सक्यौँ कि सकेनौँ ? सत्य के हो अनि असत्य के हो भनेर आफ्ना सन्तानलाई बुझाउन सकेका छौँ कि छैनौँ ? यसबारेमा पनि सोच्न जरुरी छ । बाहिरी रूप जस्तोसुकै भए पनि भित्री स्वभावले मानवी र दानवी प्रवृत्तिलाई बोध गराउने सत्यलाई हामीले बुझेर पनि बुझ पचाइरहेका छौँ कि । हामी आफैँ पनि बाहिर सुन्दर भएर हिँडेका छौँ तर भित्री रूप दानवी हुन सक्छ । त्यसलाई नियन्त्रण गर्न लागिपरेका छौँ कि छैनौँ ? यसबारेमा पनि गम्भीर भएर सोच्नु पर्छ ।

अतः हाम्रा चाडपर्वलाई आर्थिक दृष्टिकोणले बोझिलो बनाउने होइन, सरल बनाउनु पर्छ । घाँटी हेरी हाड निल्नु भन्ने उखानलाई मनन गर्नु पर्छ । धनले होइन, मनले भावनात्मक सम्बन्ध बलियो पार्नु पर्छ । आपसी भाइचाराको सम्बन्ध धनले होइन, मनले नै जोड्न सक्नु पर्छ । सानासाना बालबालिकालाई उचित संस्कार दिन सक्यौँ भने मात्र हाम्रा चाडपर्व सहज ढङ्गले मनाउँदै जान सकिन्छ । अन्यथा व्यावसायीकरण हुँदै जाँदा चाडपर्व कुनै दुर्घटनामा पर्न सक्छन् र ती चाडपर्वको अस्तित्वमाथि प्रश्नचिह्न खडा हुन्छ ।

हामीले चाडपर्वको समयमा स्वास्थ्यको राम्रोसँग विचार पु¥याउनु पर्छ । हाम्रो भोजनको शैली र खानाको गुणस्तर तथा परिकारले हाम्रो स्वास्थ्य निर्धारण गर्छ । हिजोआज चाडपर्वको खान्की स्वास्थ्य निर्माण गर्नेभन्दा पनि बिगार्ने प्रकारको छ । 

नेपालका अस्पतालको आँकडा हे¥यौँ भने दुई वटा चाडपर्वपछि सबैभन्दा धेरै बिरामी अस्पताल गएका हुन्छन् । तीमध्येका हुन् – दसैँ, तिहार र छठ । मान्छे सृष्टिले बनाउन खोजेको देवता हो तर खानपिन यसरी गर्छ कि राक्षसी पाराले । हामीले चाडबाडको बेला हाम्रो स्वास्थ्य राम्रो बनाउनुपर्नेमा उल्टै रोग कमाउँछौँ । 

हामीले के खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ र के खाँदा हानि हुन्छ भन्ने कुरामा ध्यान नदिँदा पेटका रोगी बढेका बढ्यै छन् । चाडपर्वको बेला आपराधिक घटना पनि हुन्छन् । हामीले हाम्रा चाडपर्वलाई अपराधको कारखाना बनाएका पो छौँ कि ? अपराध दुई प्रकारका हुन्छन् । एउटा आफैँमाथि गरिएको र अर्काे अरूमाथि गरिएको अपराध । अरूमाथि गरिएको अपराधका लागि त प्रहरी छ, अदालत छ । उनीहरूले रोक्छन् तर आफैँमाथि गरेको अपराध कसरी रोक्ने ?

चाडपर्वका बेला हामी आफ्नो घर वा डेरा छोडेर आफन्तकहाँ जान्छौँ । यो बेला हामीले घरको सुरक्षामा विशेष ख्याल पु¥याउनु पर्छ । आजकल सामाजिक सञ्जालको प्रयोग बढी नै हुने गरेको छ । हामीले सामाजिक सञ्जाल प्रयोगमा विशेष ख्याल पु¥याउन सक्यौँ भने पनि हाम्रो घरको सुरक्षा गर्न सकिन्छ । आफू कुन दिन कहाँ जाँदै छु भन्ने कुरा सामाजिक सञ्जालमा असावधानीवश व्यक्त गर्दा चोर्ने मौका कुरेर बसेका व्यक्तिलाई थाहा हुन्छ र उनीहरू मौका छोपेर सोही समयमा घरमा चोरी गर्न सक्छन् । त्यसैले सामाजिक सञ्जाललाई सही रूपमा सदुपयोग गर्न जानियो भने भने पनि केही हदसम्म हाम्रो धनजनको सुरक्षा हुन सक्छ ।

   

Author

फणीन्द्र फुयाल ज्वाला