• १९ असार २०८१, बुधबार

सुदूरपश्चिममा प्रथम बालिका सम्मेलन

blog

सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मन्त्री झपटबहादुर साउद । तस्विर : भवानी ऐर

भवानी ऐर

गोदावरी (कैलाली), असोज २५ गते । सुदूरपश्चिममा पहिलो पटक प्रदेशस्तरीय बालिका सम्मेलन सम्पन्न भएको छ । बालिका तथा किशोरीहरूको समग्र विकासमा स्थानीय सरकार र सामाजिक क्षेत्रमा कार्यरत सङ्घ संस्थालाई उनीहरूको भूमिका र दायित्व बोध गराउन सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सम्मेलनको आयोजना गरेको हो । 

बालविवाहका चुनौती, समाधान गर्ने उपाय, बालिकाको भोगाइ कस्तो छ भन्ने विषयमा बालिकासँगै छलफल गरेर घोषणापत्र सार्वजनिक गर्ने उद्देश्यले दुई दिनसम्म धनगढीमा सञ्चालन भएको सम्मेलनको उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले गर्नुभयो ।

सरकारलाई बालिका केन्द्रित नीति, कानुन तथा कार्यक्रम निर्माणमा कार्यक्रमले मद्दत पुगेको उहाँले अपेक्षा गर्नुभयो । किशोरावस्था सङ्क्रमणकालीन उमेर भएको र भविष्य निर्माणको आधार यही उमेरमा तय हुने भएकाले सरकार र सरोकारवाला सबैले बालिकाको विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।  

आत्मरक्षा तालिम, लागुऔषधविरुद्धका कार्यक्रम लगायत किशोरीलाई लक्षित गरी प्रदेश सरकारले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दैआएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले किशोरी केन्द्रित कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिन्छ । अहिले किशोरावस्थाका युवायुवती लागुऔषधको प्रयोग र कारोबारमा बढी संलग्न भएको देखिन्छ ।’

किशोरीको समग्र विकासमा प्रदेश र स्थानीय सरकारको भूमिका र दायित्व बढाउन बालिका सम्मेलन आयोजना गरिएको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख कृष्णप्रसाद भट्टराइले जानकारी दिनुभयो । ‘बालिकामा यौन तथा प्रजनन स्वास्थ्यको अधिकारको अवस्था के छ, उनीहरूले के चुनौती भोगिरहेका छन्, बालिकाका लागि प्रदेश र स्थानीय सरकारले के काम गरिरहेको छ भनेर सम्मेलनमा छलफल भएको छ’ उहाँले भन्नुभयो ।


‘सन् २०३० सम्ममा बाल विवाहको अन्त्य गर्ने दिगो विकासको लक्ष्य छ, तर अहिलेको अवस्थाले त्यो सम्भव छैन’ भट्टराईले भन्नुभयो, ‘त्यसका लागि अहिलेको भन्दा छ–सात गुणा तीव्र गतिमा काम गर्नुपर्ने देखिन्छ’ उहाँको भनाइ छ ।

चिकित्साशास्त्र अध्ययन संस्थानका डा. खेमबहादुर कार्कीले बालिकाको समग्र विकास नभएसम्म देश विकास सम्भव नभएको धारणा राख्नुभयो । नेपालमा बालविवाह र बाल उमेरमै बच्चा जन्माउने दर अहिले पनि उच्च हुनु चुनौतीको विषय रहेको उहाँको भनाइ छ । 

करिब ५० प्रतिशतले उमेर नपुग्दै र ३५ प्रतिशतले बालविवाह गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले बालविवाह र धेरै बच्चा जन्माउँदा महिलामा अनेक समस्या देखिने भएकाले बालिकाको नेतृत्वलगायत समग्र विकासका लागि समाजका हरेक गतिविधिमा बालिकाको सहभागिता आवश्यक रहेको बताउनुभयो ।  

सम्मेलनमा सुदूरपश्चिमका नौवटै जिल्लाका १० वर्षदेखि माथि र १९ वर्ष उमेर मुनिका ९० जना बालिका तथा किशोरीको सहभागिता रहेको थियो । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको आर्थिक तथा प्राविधिक सहयोग र फाया नेपाल संस्थाको व्यवस्थापनमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सम्मेलन आयोजना गरेको हो ।