• १२ मंसिर २०८१, बुधबार

पछिल्लो नीतिपछि सेयर बजार

blog

नेपाल राष्ट्र बैङ्कले सेयर कर्जा र घरजग्गा कर्जामा अपनाएको लचकताको सकारात्मक असर सेयर बजारमा देखिने अपेक्षा गरिएको थियो तर सो नीतिपश्चात् कारोबार भएको दिन गत आइतबार नै सेयर बजार परिसूचकाङ्कमा ठुलो गिरावट आयो । लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएको सेयर धितो कर्जाको व्यवस्थालाई सहज बनाएपछि खुलेको बजारमा पनि लगानीकर्ताको मनोबल उच्च देखिएन । यसले बजारमा उच्च अङ्कले गिररावट आयो, जसको निरन्तरता सोमबार र मङ्गलबार पनि रह्यो । आइतबार नेप्सेमा ३५.६७ अङ्क घटेको छ भने सोमबार पनि निरन्तर ओरालो लाग्ने क्रम जारी रहँदै नेप्से १२.५८ अङ्कको गिरावट आयो । मङ्गलबार पनि नेप्सेमा १९.०६ अङ्कले गिरावटसहित परिसूचकाङ्क एक हजार ८८९.५९ को बिन्दुमा पुगेर रोकिएको छ । मुलुकमा चौतर्फी आर्थिक मन्दी छाएको बेलामा राष्ट्र बैङ्कले लिएका सामान्य फेरबदलसहितको निर्णयले सेयर बजारमा एकाएक माग वृद्धि हुने र लगानीको ओइरो लाग्ने परिकल्पना नै गलत थियो, जुन बजारको कारोबारले साबित पनि गरेको छ । 

राष्ट्र बैङ्कले जारी गरेको परिपत्र अनुसार सेयर धितो कर्जा व्यक्तिगततर्फ १२ करोडबाट बढाएर १५ करोड रुपियाँ पु¥याइएको छ भने संस्थागत लगानीकर्ताको हकमा सेयर धितो कर्जाको सीमा २० करोड रुपियाँ कायम गरिएको छ । सेयर बजारमा सामान्यतया चाडबाडको समय खर्चका लागि सेयर बिक्री गरेर खर्च टार्ने परम्परा अन्तर्गत थुप्रै साना लगानीकर्ताले सेयर बिक्री गर्ने हुँदा बिक्रीको चाप बढ्नुले बजारमा नकारात्मक असर पर्दै आएको हो । यस वर्ष भने सेयरको माग बढाउनका लागि नेपाल राष्ट्र बैङ्कले लिएको कदमले खासै सहयोग पु¥याएन, जसले लगानीकर्ता राष्ट्र बैङ्कको कदमबाट सन्तुष्ट छैनन् भन्ने स्पष्ट हुन्छ । नेपाल राष्ट्र बैङ्कको सेयर धितो कर्जाले लगानीकर्ताको मनोबल घटाएको भने अवश्य पनि होइन । पहिलेको व्यवस्थाभन्दा लचिलो नीति केन्द्रीय बैङ्कले लिएको सकारात्मक प्रभाव आगामी दिनमा बजारमा देखिने आशा भने गर्न सकिन्छ तर तत्कालका लागि सेयरको मागभन्दा आपूर्ति नै उच्च भएकाले बजार ओरालो लाग्न सघाउ पुगेको देखिन्छ । लगानीकर्ताको अपेक्षा भने आगामी मौद्रिक नीतिको समीक्षाबाट थप लचकतासहितको व्यवस्था रहेको छ । 

सेयर बजार उकासिन नसक्नुमा नेपाल राष्ट्र बैङ्कको नीति मात्र नभएर मुलुकको समग्र आर्थिक क्रियाकलाप सुस्त हुनु पनि हो । त्यसै गरी सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले सेयर बजारमा सेयरको माग हुने कदम चाल्ने नीतिलाई बेवास्ता गर्दै धमाधम नयाँ प्राथमिक सेयर त्यसमा पनि कतिपय प्रिमियमसहितका तथा हकप्रद (राइट) सेयर जारीलाई स्वीकृति प्रदान गर्नुले पनि बजारमा सेयरको आपूर्ति उच्च हुन गएको देखिन्छ, जसले बजार सुधारका लागि बाधा सिर्जना भएको देखिन्छ । 

नेपाल राष्ट्र बैङ्कले ल्याएको पछिल्लो संशोधित एकीकृत निर्देशन, २०७९ सेयर बजारलाई तत्काल बढोत्तरी दिन नसके तापनि यसले केही समयपश्चात् अर्थतन्त्र चलायमान गराउन मद्दत पुग्ने दाबी बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को रहेको छ । अर्थतन्त्र चलायमान हुने विषयले सेयर बजारलाई सघाउ पुग्ने कुरामा शङ्का छैन । सेयर बजारमा कारोबार गराउने सेयर दलालहरूको सङ्ख्या थपिएको अवस्था तथा दसैँ, तिहार लक्षित गरेर प्रशस्त मात्रामा भित्रिने रेमिट्यान्सले चाडपर्वलगत्तै सेयर बजार घरजग्गाको कारोबारमा केही सुधार आउने अपेक्षा भने गर्न सकिन्छ । 

चालु आर्थिक वर्षको पहिलो महिनामा प्रकाशित मुलुकको आर्थिक तथा वित्तीय स्थितिले बाह्य स्थिति सुधारोन्मुख देखिएको छ भने मन्द गतिमा रहेको अर्थतन्त्रलाई थप चलायमान बनाउन नेपाल राष्ट्र बैङ्कको नीतिगत निर्णयको सकारात्मक परिणाम देखिन भने अझै केही समय कुर्नुपर्ने भएकाले हाल बजार घटेका बेला सेयर किन्न आँट गर्नेले राम्रो कमाइ गर्न सक्ने विज्ञहरूको भनाइमा सहमत हुन सकिन्छ । 

नेपाल राष्ट्र बैङ्कको नीतिमा प्राकृतिक व्यक्तिको बचतको पाँच लाख रुपियाँसम्मको कर्जा तथा निक्षेप सुरक्षण कोषसँग सुरक्षण गराउनु पर्ने व्यवस्थाले बैङ्क वित्तीय संस्थाप्रति जनताको विश्वास बढ्ने निश्चित छ । २५ लाखसम्मको व्यक्तिगत हायर पर्चेज र अटो कर्जाको जोखिम भार १२५ प्रतिशत गरिनुले अटो कर्जा सहज हुने भएकाले अर्थतन्त्र थप चलायमान बनाउन मद्दत पुग्ने देखिन्छ । त्यसै गरी बैङ्कहरूले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलको सेयरमा गरिएको कुल लगानी रकमलाई पुँजी कोष गणना गर्दा प्राथमिक पुँजीमै जोड्न पाउने व्यवस्थाले समेत अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने भएकाले आगामी दिनमा सेयर बजारमा समेत थप उत्साह आउने र लगानीकर्ता उच्च मनोबलका साथ बजारमा छिर्ने सम्भावना बढेको छ । 

सेयर बजारको उतारचढावमा मुलुकको समग्र अर्थतन्त्रले प्रमुख भूमिका खेल्ने कुरामा कसैको दुईमत हुन सक्दैन । नेपाल राष्ट्र बैङ्कले सेयर बजार मैत्री नीति लिँदाको अवस्थामा पनि बजार किन बढ्न सकिरहेको छैन सबैको चासो र चिन्ताको विषय बनेको छ अहिले । 

मुलुकको समग्र अर्थतन्त्रको वस्तुस्थिति सरसर्ती हेर्दा वस्तु निर्यात दुई वर्षअघिको आधाले घटेको छ । सरकारले आयात प्रतिबन्ध लगाउँदाको अवस्थाको जति पनि आयात देखिएको छैन, जसले पनि अर्थतन्त्र चलायमान बनाउन बाधा पुगेको देखिन्छ भने सम्पूर्ण व्यापार १६ प्रतिशत कमी आएको तथ्याङ्कले देखाएको छ । भन्सार राजस्वमा निकै आश्रित नेपालको अर्थतन्त्र आयात घट्दै गर्दा राजस्व घटेको छ । त्यसले समस्या निम्त्याउन सक्छ । 

आशा लाग्दो विषय भनेको चाहिँ सन् २०२३ को नौ महिनामा सात लाख ८२ हजार ३७२ पर्यटक भित्रिनु हो, जसले विदेशी मुद्रा आर्जन पर्यटन क्षेत्रमा थप रोजगारी सिर्जनामा सघाउ पुग्नुका साथै मुलुकको समग्र अर्थतन्त्र उकास्न सघाउ पु¥याएको छ । 

त्यसै गरी मुलुकमा भित्रिने विप्रेषणमा समेत सुधार आएको र अमेरिकी डलरको भाउ वृद्धिले त्यस्तो विप्रेषणको आँकडामा अझै सुधार आउने सङ्केत देखिएको छ, जुन अर्थतन्त्र सुधारका लागि सघाउ पुग्ने विषय नै हो । तत्कालका लागि सेयर बजारले गति लिन नसकेको देखिए तापनि आगामी दिनमा मुलुकको अर्थतन्त्रमा देखिएको सुधार र राज्यले लिएको सेयर बजार मैत्री नीतिको कारण सेयर बजारमा सकारात्मक प्रभाव पर्ने निश्चित छ । त्यसैले कर्जा लिएर भन्दा पनि भएको बचत राम्रा कम्पनीको सेयरमा लगानी गर्ने अवसरको रूपमा यो समयलाई उपयोग गर्नुपर्ने देखिन्छ । 

  

Author

सरोज अधिकारी