भावना जोशी
अत्तरिया, असोज २४ गते । कैलालीको टीकापुरमा अवैध रकमसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । मंगलबार साँझ गस्ती गरिरहेको समयमा विशेष सूचनाका आधारमा राजस्व अनुसन्धान तथा औद्योगिक शिक्षालय टीकापुरको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोदराज श्रेष्ठका अनुसार उनीहरूको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित पाँचसयका भारतीय नोटसहित ३ लाख ८७ हजार भारतीय रुपियाँ र ६ लाख २३ हजार नेपाली रुपियाँ बरामद गरेको हो ।
साथै उनीहरू चढेको एक भारतीय नम्बरप्लेटको टाटा गाडी समेत नियन्त्रणमा लिइएको शिक्षालयका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । अहिले नगदसहित समातिएका उनलाई राजस्व अनुसन्धान तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा राखिएको छ ।
उनलाई राजस्व अनुसन्धान कार्यालयमा पठाउने तयारी भइरहेको समेत उहाँले जानकारी दिनुभयो । रकमबारे थप अनुसन्धान भइरहेको र घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।