• १२ मंसिर २०८१, बुधबार

मानसिक स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउनु आवश्यक : स्वास्थ्यमन्त्री बस्नेत

blog

काठमाडौँ,  असोज २३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मानसिक स्वास्थ्य समस्या भएकै कारण अब कुनै पनि व्यक्ति मानव अधिकारबाट वञ्चित  नहुने बताउनुभएको छ । 

आज विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा जारी सन्देशमा उहाँले मानसिक स्वास्थ्य समस्यालाई सामाजिक कलङ्कका रूपमा लिन र  भेदभाव गर्न नहुने बताउनुभएको हो । मन्त्री बस्नेतले मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउँदै यसको सेवालाई सर्वसुलभ बनाउन सरोकारवाला सबैलाई अपिलसमेत गर्नुभयो ।  “मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउँदै मानसिक स्वास्थ्यसँग जोडिएका भेदभावपूर्ण व्यवहार र कुरीतिहरू सम्बोधन गर्न बहुक्षेत्रीय तथा बहुपक्षीय सरोकारवालाहरूबिच निरन्तर समन्वय र सहकार्य गर्दै मानसिक स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने कार्यमा हातेमालो गर्न अपिल गर्दछु”, उहाँले भन्नुभयो । 

मन्त्री बस्नेतले सबै व्यक्तिलाई मानसिक स्वास्थ्यको जोखिमबाट जोगाउँदै यसबाट सुरक्षित राख्न र सेवा सबै नागरिकको पहुँचमा पुर्याउनुआजको आवश्यकता भएको बताउनुभयो । मानसिक स्वास्थ्यका कारण सामाजिक र आर्थिक क्षेत्रमा पनि ठुलो असर पुग्ने भएकाले यसमा थप लगानी तथा स्रोत जुटाउन सरकारले प्राथमिकता दिएको उहाँले जनाउनुभयो । मन्त्री बस्नेतले नेपालीलाई लाग्ने रोगको भारमध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको उल्लेख गर्नुभयो । 

पछिल्लो अध्ययनअनुसार नेपालमा १८ वर्षमाथिका व्यक्तिहरूमध्ये दस प्रतिशतलाई मानसिक स्वास्थ्य समस्या देखिएको छ ।  मानसिक स्वास्थ्य समस्याबाट सताइएका किशोरकिशोरी र युवाहरूको सङ्ख्या दिनप्रतिदिन बढेकामा चिन्ता प्रकट गर्दै मन्त्री बस्नेतले स्वास्थ्य रहन आहारविहार एवं नियमितरुपमा व्यायाम गर्न, द्युमपान, मद्यपान तथा लागूपदार्थ सेवन नगर्न र पर्याप्त निन्द्राजस्ता जीवनशैली अपनाउन आग्रह गर्नुभयो । 

“स्वास्थ्य व्यक्तिको तुलनामा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूको दशदेखि २० वर्षअगावै मृत्यु हुने तथ्याङ्कले देखाएको छ”, उहाँले भन्नुभयो, “सहयोग लिन नहिचकिचाउनुस्, परामर्श लिउ र लिन सहयोग गरौँ । कतिपय अवस्थामा यसलाई सामाजिक कलङ्कका रूपमा लिने गरिन्छ । यदि आफूलाई तनाव छ वा मानसिक स्वास्थ्यमा समस्या देखिएमा सहयोग लिन नहिच्किचाउ, समयमै मनोचिकित्सक वा मनोविद्सँग परामर्श लिऔँ  र अरूलाई पनि परामर्श लिनका लागि सहयोग गरौँ ।” रासस