• ७ जेठ २०८१, सोमबार

सभामुखसँग आयोगका पदाधिकारीको भेट

blog

फाइल तस्विर

काठमाडौँ, असोज २२ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितको टोलीले भेट गरेको छ । उक्त भेटका अवसरमा सभामुख घिमिरेले नेपालको मानवअधिकार आयोगको स्तर ‘ए’ श्रेणीमा नै कायम राख्ने सम्बन्धमा संसद्ले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज आयोगका अध्यक्ष मगरसहितको टोलीसँगको भेटमा सभामुख घिमिरेले उक्त विषयमा सरकारसँग समन्वय गर्ने र आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारसँग समन्वय गरी सङ्क्रमणकालीन न्याय एवम् आयोगको ऐन सम्बन्धी संशोधन विधेयकमा आयोगका सुझावलाई समावेश गरेर अगाडि बढ्ने बताउनुभयो । 

आयोगका अध्यक्ष मगरले नेपालको स्तर ‘ए’ श्रेणी कायम गर्ने र मानवअधिकार आयोग ऐन तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक हाल संसद्को मानवअधिकार समितिमा विचाराधीन रहेको अवस्थामा आयोगले दिएका सुझावका सम्बन्धमा उहाँले अवगत गराउनुभएको थियो । 

आयोगका सदस्य डा.सूर्य ढुङ्गेलले एसिया प्रशान्त मञ्च र राष्ट्रिय मानवअधिकार संंस्थाहरुको विश्वव्यापी सञ्जालसँग आयोगले गरेका छलफल तथा पहलबारे जानकारी गराउनुभयो । भेटमा आयोगका सदस्य मनोज दुवाडी, कामु सचिव मुरारीप्रसाद खरेल र मानव अधिकार अधिकृत खिमानन्द बस्यालसमेत सहभागी हुनुहुन्थ्यो । रासस