• १२ मंसिर २०८१, बुधबार

निःशुल्क रगत उपलब्ध गराउन सम्झौता

blog

काठमाडौं, असोज २२ गते । काठमाडौँ महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीबिच निःशुल्क रगत र रक्त तत्त्व उपलब्ध गराउन सम्झौता भएको छ । 

महानगरप्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डङ्गोलको रोहवरमा महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीको तर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सम्झौता पत्रमाहस्ताक्षर गर्नुभएको छ । यस अघि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइरहेकोमा स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाउन रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराउन लागिएको हो । 

सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले रगत प्राप्त गर्न कसैलाई फोन गर्नुपर्ने, सिफारिस गराउनु नपर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । 

उपप्रमुख डङ्गोलले भन्नुभयो, “नियमित रक्तदान कार्यक्रम र सङ्कलित रगतको उचित व्यवस्थापनबाट अभाव कम गराउन सकिन्छ । यसबेला कसैलाई सिफारिस गर्नुपर्ने स्थिति हुँदैन ।” महानगरबासीबाट थालिएको निःशुल्क रगत र रक्ततत्व उपलब्ध गराउने कार्यक्रमको प्रभाव हेरेर विस्तार गरिने उहाँको भनाइ छ ।

जनस्वास्थ्य विभागका प्रमुख पौडेलकाअनुसार महानगरपालिकावासीलाई उपलब्ध गराइने रगतको व्यवस्थापनका लागि रक्त सञ्चार सेवालाई रकम उपलब्ध गराइनेछ । यसका लागि प्रति युनिट एक हजार १६० रुपैयाँ र क्रस म्याच गराउनु परे थप दुई सय रुपियाँ उपलब्ध गराइनेछ ।