• १५ मंसिर २०८१, शनिबार

सचेतना अभियानलाई तीव्र बनाउन प्रहरी गाउँमा

blog

आत्महत्या न्यूनीकरण गर्न गाउँ–गाउँमा सचेतना अभियान चलाउँदै प्रहरी । तस्विर : मीना कंडेल

मीना कंडेल

कावासोती, असोज २२ गते । पछिल्लो समयमा आपराधिक घटनामा वृद्धि भएपछि न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय नवलपुरले सचेतना अभियानलाई तीव्रता दिँदै ग्रामीण भेगमा पुगेको छ । 

प्रहरीले शान्ति र स्थायित्वका लागि ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ सुरु गरेको अभियानलाई कार्यान्वयन गर्न जनचेतनामूलक कार्यक्रम गरेको हो । 

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक अभियानलाई प्रहरीले विद्यालयदेखि हरेक टोलसम्म पुगाएको छ । लागुऔषध दुर्व्यसन तथा ओसारपसार रोक्न समुदाय प्रहरी साझेदारी अन्तर्गत सचेतना फैलाउने, आपूर्ति रोक्ने, सेवन कर्तालाई मनोसामाजिक परामर्श र लागु औषधविरुद्ध सचेतना कार्यक्रम अगाडि बढाएको छ । 

त्यसैगरी यहाँ विकराल समस्याको रूपमा आत्महत्या रहेकाले यसको रोकथामका लागि विशेष अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनुभयो ।

महिला तथा बालबालिका विरुद्ध अपराधलाई मुख्य प्राथमिकता दिएर प्रहरीले त्यसका लागि समुदाय प्रहरी साझेदारी अन्तर्गत सचेतना र शून्य सहनशीलता अपनाउने काम छ । यस्तै, साइबर अपराध न्यूनीकरणका लागि समुदाय प्रहरी साझेदारी अन्तर्गत सचेतना र सामाजिक सञ्जाल प्रयोगमा सचेतना बढाउने विद्यालयमा सचेतना कक्षा चलाएको छ ।

दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा योजना, सडक सुरक्षा सचेतना र योजनबद्ध ट्राफिक चेकिङ र मादक पदार्थ सेवन (मापसे) चेकिङलाई प्राथमिकता दिइएको छ । आत्महत्या, सवारी दुर्घटना, चोरी तथा चोरी निकासी, साइबर अपराध लागुऔषध दुर्व्यसन तथा ओसारपोसार र महिला तथा बालबालिका विरुद्ध अपराधलाई मुख्य अपराध सूचकका रूपमा रहेको हुँदा त्यसको न्यूनीकरणका लागि जिल्लामा व्यापक रूपमा सचेतना कार्यक्रम गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले “समुदाय प्रहरी साझेदारी” कार्यक्रम सफल हुँदैगएको बताउनुभयो । विकास र सुरक्षाको अन्तरनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथामगरी समाजमा शान्ति, सुरक्षा र अमनचयनका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम समुदायसँग बसेर विकृति र विसंगतिसँग लड्दै अपराध न्यूनीकरण गर्नमा यो कार्यक्रम प्रभावकारी भएको उहाँको भनाइ छ ।

जिल्लाका आठ वटै स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर गरी प्रहरीले अभियानलाई तीव्र पार्दै विभिन्न चरणमा अभिभावक विद्यार्थी, शिक्षक शिक्षिका, आमा समूह, प्रहरी कर्मचारीलाई चेतनामूलक तालिम प्रदान गरेको सामुदायिक प्रहरी सेवाका अध्यक्ष नारायणी भट्टराईले बताउनुभयो ।