• १३ मंसिर २०८१, बिहिबार

‘नयाँ घर बनाउन आउँछु भन्थ्यो, हामीलाई रुवाएर गयो’

blog

भावविह्लल परिवारका सदस्य । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक शर्मा ‘इच्छुक’

सल्यान, असोज २२ गते । शारदा नगरपालिका –३ साहुटोल अहिले शोकमय छ । गाउँको तीक्ष्ण, मेहनती युवा अध्ययनका लागि इजरायल पुगेका प्रवेश भण्डारीको निधनको खबरसँगै गाउँ शोकमय बनेको हो ।

गएको भदौ २० गते सल्यान शारदा नगरपालिका –३ साहुटोल सिरुवारका प्रवेश भण्डारी इजरायल जानुभएको थियो । बुवाआमाका बुढेसकालको सहारा एक्लो छोरा हुनुहुन्थ्यो उहाँ । उहाँसहित ४९ जना सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान सङ्कायमा पढेर काम सिक्न इजरायल पुग्नुभएको थियो । 

इजरायल पुगेका प्रवेशले फोन गर्दा बुवाआमालाई फर्किएर आएपछि नयाँ घर बनाउने योजना सुनाउनुभएको थियो । उहाँ भन्नुहुन्थ्यो, “आफ्नो चिन्ता नगर्न बुवाआमालाई आग्रह गरेको थियो ।” बुवा (४५) चक्रबहादुर भण्डारीले भन्नुभयो, “फोनमा कुरा हुँदा बुवाआमा अब तपाईंले धेरै दुःख गर्नुपर्दैन है ! अब तपाईंको छोरा कमाउने भैसक्यो, चिन्ता नगर्नुस् । दिदी पनि टाढा छिन्, म नयाँ घर बनाएपछि दिदीलाई पनि नयाँ घरमा ल्याएर राख्छु ।”

शुक्रबार अन्तिम फोन संवाद भएको परिवारको भनाइ छ । इजरायल पुगेपछि परिवारसँग निरन्तर फोन सम्पर्कमा रहेका प्रवेशले बुवा मेरा चिन्ता नगर्नुस् अब म भोलि शनिबार कुरा गर्छु भन्दै फोन राख्नुभएको थियो । बुवाले फोन वार्ता सम्झँदै भन्नुभयो, “सधैं चिन्ता नलिनुहोस् । धेरै दुःख गर्नुपर्दैन है । अब तपाईंको छोरा कमाउने भैसक्यो चिन्ता नगर्नुस् भन्थ्यो ।”


शनिबार प्रवेशसँग कुराकानी गर्ने प्रतीक्षामा बसेका परिवारका सदस्यले उहाँलाई अनलाइनमा देखेनन् । शुक्रबार राति ९ बजेपछि प्रवेशको परिवारसँग सम्पर्क टुटेको थियो । छोरालाई पटक–पटक अनलाइनमा खोजे तर देखेनन् । 

सानीआमा शोभा सेजवालले भन्नुभयो, ‘ग्रुपमा कल गरेको रहेछ, मैले फोन उठाउन पाइनँ, भोलि शनिबार आमाबुवासँग बोल्छु, बोलाइदिनुहोला भनेर एसएमएस छाडेको थियो ।”

जब इजरायलमा भएको घटना सार्वजनिक भयो । उहाँको बुवा आत्तिनुभयो । रेडियोबाट मात्र आक्रमण भइरहेको खबर सुनिरहनुभयो । तर पनि छोराको खबर पाउन सक्नुभएको थिएन । छोरासँगको सम्पर्क टुटेपछि बुवा चक्र र आमा चन्द्रिका अत्तालिनुभयो । ‘छोराको अवस्थामा कस्तो छ ? जिउँदो छ कि के छ ? थाहा हुन सकेन’ उहाँहरुको भनाइ थियो ।

बुवाले आइतवार दिउँसो नेपाली विद्यार्थी पनि हमलामा परेको भन्ने खबर रेडियो र फेसबुकमार्फत थाहा पाउनुभयो । छोरा कतै भागेर बाँचेको छ कि भन्ने आशा लाग्यो । तर साँझ ७ बजे छोराको मृत्यु भएको खबर परिवारमा आयो ।

प्रवेशकी ४६ वर्षीया आमा र दिदी बेहोस अवस्थामा हुनुहुन्छ । छोराको सास त आएन तर लाश ल्याउन नेपाल सरकारसँग परिवारले आग्रह गरेको छ । छोराको मृत्युको खबर पाएपछि अहिले परिवार भावविह्लल अवस्थामा छ । गाउँ शोकमा डुबेको छ ।


सल्यानका प्रवेशसहित इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । हमलामा घाइते हुनेमा सल्यान शारदा नगरपालिका –२ का विधान सेजवाल छन् । उहाँको त्यहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुवैको खट्टामा गम्भीर चोट लागेको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार आक्रमणमा परेका सल्यान त्रिवेणी गाउँपालिका –१ का प्रमोद केसी सुरक्षित छन् ।