• १९ पुस २०८१, शुक्रबार

घरमै सामाजिक सुरक्षा भत्ता वितरण

blog

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिदै ।

गुणबहादुर रोका 

सुलीकोट, असोज २२ गते । गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले अशक्त र ज्येष्ठ नागरिकलाई घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । दसैँको मुखमा घरैमा सामाजिक सुरक्षा भत्ता पाएपछि बारपाक सुलिकोट गाउँपालिकाका अशक्त र ज्येष्ठ नागरिकले राहत महसुस गरेका छन् । 

गाउँपालिकाले टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेपछि लाभग्राहीलाई राहत भएको हो । “पहिले त बृद्धाभत्ता लिन बैङ्कसम्म धाउनुपर्थ्यो, ज्येष्ठ नागरिक बृजकुमार गुरुङले भन्नुभयो, ‘‘अहिले घरै नजिकको टोलमा आएर बाँड्न थालेपछि सजिलो भएको छ ।’’ 

उहाँले भत्ता बुझ्न बैङ्कसम्म जान र आउन आफूहरूले धेरै हैरानी खेपेको बताउनुभयो । ज्येष्ठ नागरिकलाई डोकोमा बोकेर गाडीसम्म पुगाउने दिनको अन्त्य भएको उहाँको भनाइ छ । ‘‘बैङ्कमा गएर लाइन बस्नुपर्दा पनि साह्रै नै गाह्रो हुन्थ्यो, गुरुङले भन्नुभयो, ‘गाडीभाडा खर्च उस्तै हुने, झण्झट पनि त्यस्तै हुन्थ्यो, आजभोलि त बैङ्कका मान्छेहरू नै टोल–टोलमा आएर बाँड्छन्, सजिलो भएको छ ।’’ 

गाउँपालिकाले चाडबाड मनाउन सजिलो होस् भन्ने उद्देश्यसहित चालु आर्थिक वर्षको पहिलो चौमासिक अन्तर्गतका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्तिहरू, एक महिलालगायतका लाभग्राहीलाई वडामा पुगेर भत्ता वितरण गर्न सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले जानकारी दिनुभयो । 

बैङ्क तथा गाउँपालिकाका कर्मचारीसहितको टोलीले आइतबार गाउँपालिकाको वडा  ४ स्थित रन्चोक, सिम्बु र बर्दी डाँडामा सामाजिक सुरक्षा भत्ता वितरण गरेको उहाँले बताउनुभयो । २१ गते आइतबारदेखि सुरु गरिएको सामाजिक सुरक्षा भत्ता वितरणको काम यहीँ असोज २६ गतेसम्म चल्ने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले वडाभित्र पायक पर्ने स्थानमा केन्द्र बनाएर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको प्रशासकीय अधिकृत आचार्यले बताउनुभयो । सामाजिक सुरक्षा भत्ताका लागि असहाय तथा ज्येष्ठ नागरिकहरू बैङ्कसम्म पुग्न हैरानी खेप्नुपरेको भन्दै गाउँपालिकाले बैङ्कसँग समन्वय गरी वडा र टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दैआएको छ । यस्ता कामले अशक्त र ज्येष्ठ नागरिकलाई राहत भएको छ ।