रवीन्द्र उप्रेती
बर्दिबास, असोज २२ गते । नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख एक हजार भारतीय रुपियाँ बरामद गरेको छ । बरामद भएका भारतीय नोटमा पाँच सय दरका ३७० थान तथा दुई सय दरका ७० थान रहेको महोत्तरीको जलसागरस्थित सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेड क्वार्टरले जनाएको छ ।
जलेश्वरस्थित सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द पोखरेल तथा बोर्डर आउट पोष्ट मटिहानीका सशस्त्र निरीक्षक भोलाकुमार श्रेष्ठको कमाण्डमा खटी गएको संयुक्त टोलीले मटिहानी–७ स्थित दश गजा क्षेत्रमा सुरक्षा चेकजाँच गर्ने क्रममा उक्त नोट बरामद भएको हो ।
सीमापारीको मधवापुर बजारबाट प्र २–०२–००१ प ९७५४ नंको मोटरसाइकल चढेर मटिहानीतर्फ आउँदै गरेका अपरिचित व्यक्तिले दशगजा नजिक सशस्त्रले चेकजाँच गरेको देखेपछि मोटरसाइकल छाडी भारततर्फ भागेका थिए । सशस्त्र प्रहरीले शङ्का लागि मोटरसाइकल तलासी गर्दा कालो रङकाे ब्याग फेला परेको र त्यसभित्र जतनसाथ राखिएको अवस्थाममा उक्त नोट बरामद भएको जलसागरस्थित सशस्त्र हेडक्वार्टरका एसपी लेखनाथ खनालले बताउनुभयो ।
सशस्त्रले मोटरसाइकल नियन्त्रणमा लिएको छ भने बरामद नोट पथलैयास्थित राजस्व चुहावट एकाइ बुझाउने तयारी गरेको जनाएको छ ।