• १६ वैशाख २०८१, आइतबार

अनुदानले बनायो व्यावसायिक बङ्गुर पालन

blog

बङ्गुर फार्ममा काम गर्दै कृषक खिमबहादुर पुन । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी,असोज २२ गते । यहाँका एक युवाले  सरकारी अनुदान पाएपछि व्यावसायिक बङ्गुर पालन थाल्नुभएको छ । पैसाको अभावमा खोर निर्माण र बङ्गुर खरिद गर्न समस्या भोग्दै आउनुभएका बेनी नगरपालिका ३ भकिम्ली राँखुका खिमबहादुर पुनले सरकार स्तरबाट अनुदान पाएपछि व्यवस्थित खोर निर्माण गरी व्यावसायिक रूपमा बङ्गुर पालन थाल्नुभएको हो । लगानी गर्ने पुँजीको अभावमा भौंतारिनुभएका पुनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम वरदान साबित भएको छ । 

आफ्नै गाउँ ठाउँमा कृषि पेसा गर्ने योजना भए पनि लगानीको अभाव थियो कृषक पुनले भन्नुभयो, ‘‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको बङ्गुर जोन कार्यक्रमले खोर निर्माण गर्न अनुदान दिएपछि कृषि पेसा गर्ने मेरो सपना पूरा भयो ।’’ 

डेढ वर्ष अघि बङ्गुर जोन कार्यक्रमबाट पुनले १३ लाख अनुदान प्राप्त गरेपछि बाँकी पैसा थपेर २१ लाख रुपियाँमा आधुनिक खोर निर्माण गर्नुभएको थियो । पुनको खोरमा अहिले ७ वटा माउ बङ्गुर र ५० वटा साना पाठापाठी छन् । 

राम्रो दानापानी र स्याहारसुसार गरेमा ८ देखि ९ महिनाको अवधिमा ६० देखि ७० केजीसम्मको बङ्गुर हुने पुनले बताउनुभयो । बङ्गुरको मासु बजारमा प्रतिकेजी पाँच सय रुपियाँमा विक्री हुने उहाँले बताउनुभयो । 

 दुई महिनाको पाठापाठीलाई प्रतिगोटा ६ हजार रुपियाँमा विक्री हुने गरेको कृषक पुनको भनाइ छ । परिश्रम गर्न सके बङ्गुर पालनबाट राम्रो आम्दानी लिन सकिने पुनको अनुभव छ । डेढ वर्षको अवधिमा ४० वटा पाठापाठी र १५ वटा ठुला बङ्गुर विक्री गरेको उहाँले बताउनुभयो । 

पुनले भन्नुभयो, ‘‘बङ्गुर पालनबाट अहिलेसम्म फाइदा भएको छैन । बङ्गुर विक्री गरेर प्राप्त भएको पैसाले दाना खरिद गरेको छु । बङ्गुरको सङ्ख्या बढाएको छु । साना पाठापाठी बढेर मासुका लागि तयार भए भने राम्रो आम्दानी हुने आशा  छ ।’’ तीन वर्ष इराक बसेर एक दशकअघि स्वदेश फर्किनुभएका पुनले गाउँघरमै परिश्रम गर्ने सोचका साथ विदेश नजाने निधो गर्नुभएको छ । 

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा  २०५८ देखि २०६२÷०६३ सम्म  अर्धभूमिगत राजनीतिमा पनि पुन सक्रिय हुनुभयो । अहिले पुन नेकपा (माओवादी केन्द्र) को बेनी नगर समितिको उपाध्यक्ष हुनुहुन्छ । राजनीति सँगै पुनले  बङ्गुर पालन र सुन्तला खेती गर्दै  आउनुभएको छ । पुनको पाँच रोपनी जमिनमा सुन्तला खेती छ । सुन्तला खेतीबाट वार्षिक रूपमा करिब दुई लाख रुपियाँ आम्दानी हुने गरेको पुनको भनाइ छ । 

पेसा व्यवसाय गरेर आत्मनिर्भर बनेर राजनीति गर्नुपर्ने उहाँको सुझाव छ । राजनीतिमा अहिले भ्रष्टाचार र दलालीकरण बढेको छ उहाँले भन्नुभयो, ‘‘ नेताहरूले कुनै न कुनै पेसा व्यवसाय गरेर समाजमा उदाहरण देखाउनुपर्दछ । व्यवसाय गरेपछि आफूलाई खर्च गर्ने पैसाको जोहाे हुन्छ । त्यसैले मैले राजनीति सँगै पेसालाई पनि निरन्तरता दिएको छु ।’’ राजनीतिमा लागेका नेताहरू कृषि पेसा गरेर आत्मनिर्भर हुनुपर्ने उहाँको सुझाव छ ।