• ७ जेठ २०८१, सोमबार

काठे गाई संरक्षरण गर्ने कृषकलाई सुत्केरी खर्च

blog

लोकल गाई पालक कृषक । तस्बिर : मनोज वैठा

प्रनिश गिरी

कुश्मा (पर्वत), असोज २० गते । पर्वतको विहादी गाउँपालिकाले लोपोन्मुख स्थानीय काठे गाईको सरंक्षण गर्न भनी गाईपालक कृषकलाई सुत्केरी खर्च दिदैआएको छ । घरमा पालेको लोकल गाई सुत्केरी हुँदा कृषकलाई प्रोत्साहनका लागि लोकल गाई संरक्षण कार्यक्रम अन्तर्गत सुत्केरी खर्च दिइने गरेको हो ।

लोकल गाई सुत्करी हुँदा गाईपालक कृषकलाई २ हजार ५ सय रुपियाँ दिइने पालिकाको पशु शाखामा कार्यरत कर्मचारी मनोज वैठाले बताउनुभयो ।उहाँका अनुसार विहादी पालिकाभरिका किसानले पालेका लोकल काठे गाईलाई लोकल साँढेबाट प्रजनन गराएर सुत्केरी भएका गाईलाई सुत्केरी स्याहार भत्तास्वरुप रकम दिइन्छ ।  पशु शाखाका अनुसार पालिकाका ६ वटा वडामा गरेर ४ सय ५० जति लोकल गाईको संख्या छ । 

आर्थिक र सांस्कृतिक महत्व बोकेका लोकल गाईलाई लोप हुनबाट जोगाउन पालिकाले संरक्षण कार्यक्रमलाई वार्षिक योजनामा दुर्ई वर्षदेखि समावेश गरेको छ । गाउँघरमा किसानहरुले स्थानीय जातका काठे गाईको पालनमा रुचि देखाउन छाडेपछि लोप हुने अवस्थामा पुगेका छन् । 

विहादी पालिका वडा १ का अध्यक्ष चित्रबहादुर गुरुङले भन्नुभयो, “हामीले गाईलाई गौमाताको रुपमा पुजा गर्छौं । पुजाका लागि गाईको गहुँत, गोवर, दुध चाहिन्छ । जर्सी गाईको दुधले पुजा हुँदैन । गाउँघरमा रैथाने गाई नै पाल्न छाडिसकेपछि धर्म र संस्कृति समेत लोप हुँदैछ ।”

शिवजीको रुद्री पुजा लगाउन खोज्दा गाईको दुध नपाइने अवस्था आएको उहाँले बताउनुभयो । धर्मसंस्कृति जोगाउन पनि रैथाने गाईको पालनमा प्रोत्साहन होस् भनी गाई व्याउदा कृषकलाई सुत्केरी खर्च दिन लागेको अध्यक्ष गुरुङले बताउनुभयो । 

बिहादी गाउँपालिकाकी उपाध्यक्ष मिना शर्मा तिवारीले गाईपालक कृषकलाई सुत्केरी खर्च सम्वन्धमा काठे गाईपालनमा प्रोत्साहनले एकातिर हाम्रो धर्मसंस्कृतिको संरक्षण हुन्छ भने अर्कोतर्फ गाईबाट जन्मने बाच्छाले पछिगएर खेतबारी जोत्ने गोरुको काम गर्ने बताउनुभयो ।  

उपाध्यक्ष तिवारीले भन्नुभयो, “एउटै गाईलाई सुत्केरी भएपिच्छे वर्षेनी सुत्केरी वापत भत्ता दिइने गरिएको छ । कृषकहरु सुत्करी वापतको रकम पाउदा लोकल गाईपालनमा उत्साहित भएका छन् । कार्यक्रम प्रभावकारी देखिएको हुनाले नै यस वर्ष पनि थप गरिएको छ ।” 

पालिकाको पशु शाखाका अनुसार गत वर्ष गाई संरक्षण कार्यक्रम अन्तर्गत १ लाख विनियोजन गरिएकोमा यस वर्ष २ लाख राखिएको छ । गत वर्ष ४० जना कृषकलाई गाई सुत्केरी वापतको खर्च दिइएको थियो भने खर्चका लागि निवेदन दिने थप १० जना कृषकलाई रकम अपुग भएपछि दिन सकिएको थिएन । नयाँ आर्थिक वर्ष साउनदेखि यता ४ जना कृषकले लोकल गाई सरक्षण कार्यक्रम अन्तर्गत सुत्केरी खर्च रकम पाउन भनी निवेदन दिएको शाखाले जनाएको छ ।