नवीन सुवेदी
सुर्खेत, असोज २० गते । प्रदेश राजधानी समेत रहेको वीरेन्दनगरको मंगलगडी–गणेशचोक मुख्य सडकमा र दायाँ–बायाँ सडक अपाङ्गमैत्री छैनन् । मुख्य सडक भन्दा अग्लो तहमा रहेका दायाँ–बायाँका सबै साइड सडकमा अपाङ्गता भएका व्यक्तिलाई हिँडेरै जान समेत मुस्किल छ । यो सडकमात्र हैन वीरेन्द्रनगरका कुनै पनि सडक अपाङ्गमैत्री छैनन् ।
अप्ठ्यारो खालको सडक संरचना र सडकका खाल्डाखुल्डीले अपाङ्गता नभएका व्यक्तिलाई समेत यात्रामा सकस छ । ’वीरेन्द्रनगरका धर्मराज रावलले भन्नुभयो, ‘हामी अपाङ्गता भएका व्यक्तिका लागि सडकमा लड्ने, खाल्डोमा खस्ने, चोटपटक लाग्ने कुरा त सामान्य भइसक्यो, रावलले भन्नुभयो, म दैनिकजसो बजार निस्किन्छु । तर वीरेन्दनगरको मुख्य बजार क्षेत्रकै दायाँ–बायाँ सडकमा मेरो तीन पांग्रे स्कुटर सजिलै चढ्दैन’ अपाङ्गता व्यक्ति धर्मराज रावलले स्कुटर त धकेल्नुपर्छ भने अन्य ह्वीलचिअर प्रयोग गर्ने साथीहरूको हालत के होला ? यी सडकमा ह्वीलचिअर सिधै पल्टिन्छन् ।’
सडक व्यवस्थित बनाउन पटक पटक ध्यानाकर्षण गराएपनि सम्बन्धित निकायले सुनुवाइ नगरेको रावलको दुखेको छ । पहुँचयुक्त भौतिक पूर्वाधार विकासमा अनविज्ञ बन्ने सरकार, समाज र अमैत्रीपूर्ण संरचनाले आफूलाई अपहेलित महसुस हुने गरेको वीरेन्द्रनगरका तुल्सी बुढाक्षत्रीको भनाइ छ । सडकमा सहज यात्रासमेत गर्न नसकेको उहाँले गुनासो गर्नुभयो ।
‘हामीजस्ता अल्पदृष्टि भएका व्यक्तिलाई खासै सम्बोधन गरिँदैन । सडक छेउको व्यक्तिले पनि सहयोग गर्दैनन् जुम्ला तातोपानीकी रामलक्ष्मी जैशीले भन्नुभयो, ‘हामीसँग सेतो छडी हुँदैन, परको दृश्य, साइनबोर्ड, ट्राफिक लाइट, जेब्राक्रसिङ देखिँदैन । सहयोग माग्दा उल्टै कराएर तर्किएर हिँड्छन् । त्यसैमा झन् सडक संरचना पनि बाधक बनेका छन् ।’
उहाँहरूजस्ता हजारौँले सडकमा यात्रा गर्दा पाइला–पाइलामा असुरक्षित महसुस गर्न बाध्य छन् । सडकमा सुरक्षित यात्रा गर्न अन्य व्यक्तिको सहयोग लिनैपर्ने नियति सडकको अव्यवस्थापनले निम्ताएको राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले बताउनुभयो ।
यता वीरेन्द्रनगरमा रिङरोड निर्माण कार्य समेत जारी छ । तर रिङरोडका सडक समेत अपाङ्गमैत्री बनाउन प्रदेश सरकार र नगरपालिका चुकेको देखिन्छ । यसैको एक उदाहरण हो, वीरेन्द्रनगर बजार क्षेत्रको मुख्य सडक । यो सडक गत असारमा खड्का निर्माण सेवा नेपालगंजले सम्झौता अनुसार हतारहतारमा निर्माण गरेको हो । तर डीपीआरमै अपाङ्गमैत्री सडकको डिजाइन नभएपछि अन्ततः ठेकेदारले पनि सम्झौता अनुसार काम गरे । सडक पनि अपाङ्गमैत्री बनेन । पूर्वाधार विकास निर्देशनालय सुर्खेतका अनुसार यो सडक निर्माणका लागि १२ करोड ६४ लाख खर्च भएको छ ।
‘डीपीआरमै अपाङ्गमैत्रीको डिजाइन रहेनछ । हामी यसलाई फेरी संशोधन गर्दै आवश्यक बजेट छुट्याएर अपाङ्गमैत्री बनाउने तयारीमा छौँ’ पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक रामशरण आचार्यले भन्नुभयो, ‘सम्झौता अनुसार ठेकेदारलाई पनि तत्काल काम गर्नुपर्ने भएकाले र समयपनि छोटो भएकाले अपाङ्गमैत्री बनेन अब आएको गुनासोलाई सम्बोधन गछौं ।’ साथै उहाँले अब बन्ने सबै सडक अपाङ्गमैत्री डिजाइनमा बन्ने पनि आश्वासन दिनुभयो । बन्न सकेका छैनन् ।