• १२ साउन २०८१, शनिबार

सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ

blog

काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका भौगोलिक रूपमा विकट गाउँपालिका हो । यो गाउँपालिकामा अहिले पनि बाह्रै महिना यातायातको पहुँच पुग्न सकेको छैन । गाउँपालिकाको केन्द्र र वडामा बाह्रै महिना सवारीसाधन सञ्चालन गराउने लक्ष्यसहित सडक निर्माणलगायतको काममा जुट्नुभएका गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङसँग पछिल्लो डेढ वर्षको अवधिमा गरेका काम र कार्यकालको बाँकी अवधिमा गर्ने कामबारे गोरखापत्रका केदार तिमल्सिनाले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।


तपाईंले अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको डेढ वर्ष भएको छ, यो अवधिमा के कस्ता काम भए ? 

खानीखोला गाउँपालिका काभ्रेपलाञ्चोक जिल्लाको सबभन्दा विकट गाउँपालिका हो । यहाँका जनताको आकाङ्क्षा धेरै छ । जनताको आकाङ्क्षा पूरा गर्नेतर्फ आशा र विश्वासका साथ हामी अगाडि बढेका  छौँ । सडक यहाँको मुख्य समस्या भएकाले सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । हिउँदको चार-पाँच महिना मात्रै गाडी गुड्ने सडकलाई अहिले बर्खाबाहेक नौ महिना चल्न सक्ने बनाएका छौँ । अब बाह्रै महिना गाडी चल्ने सडक बनाउँछौँ ।  


शिक्षा र स्वास्थ्य क्षेत्रमा के के काम गर्नुभयो ? 

शिक्षा सुधार गर्ने भनेर प्रारम्भिक बाल कक्षादेखि कक्षा १० सम्मका विद्यार्थीलाई तीन वटा समूहमा वर्गीकरण गरेर सानो कक्षालाई डिजिटाइजेसन गर्ने, बिचको (कक्षा ६–८) लाई थप कक्षा सञ्चालन र कक्षा ९–१० का विद्यार्थीलाई क्लोज क्याम्पमा राखेर अध्यापन गराउने सोच अगाडि बढाएका छौँ । आधारभूत अस्पताल निर्माणको काम अलपत्र परेपछि प्रदेश सरकारले अस्पताल निर्माणका लागि चालु आर्थिक वर्षमा तीन करोड रुपियाँ विनियोजन गरेकाले अब अस्पताल निर्माणको काम गर्ने छौँ । गाउँपालिकाका सातवटै स्वास्थ्य चौकीको भवन निर्माण गर्ने लक्ष्य राखेका छौँ ।


अन्य सामाजिक क्षेत्रका लागि कस्ता कार्यक्रम ल्याउनुभएको छ ? 

स्वास्थ्य क्षेत्रमा ज्येष्ठ नागरिकको मासिक घुम्ती स्वास्थ्य परीक्षणको काम अगाडि बढाएका छौँ । गाउँपालिकाभित्र १४÷१५ वर्षको उमेरमा विवाह गर्ने परम्परा थियो । गाउँपालिकामा समस्याका रूपमा रहेको बालविवाह अन्त्यका लागि आमनागरिकमा जनचेतना अभियान चलाएका छौँ । ‘एक घर, एक धारा’ को नारा अगाडि सारेका छौँ । हाम्रो कार्यकालमा ६० देखि ७० प्रतिशत घरधुरीमा खानेपानी पु-याउने लक्ष्य राखेका छौँ । हाल विशेष अनुदानमार्फत वडा नं. १, २, ३ मा खानेपानीको काम गर्दै छौँ । वडा नं. ४, ५ र ६ मा नेवा नामक संस्थामार्फत खानेपानी पु-याउने  छौँ । 


अधिकांश बासिन्दाको मुख्य पेसा कृषि हो । कृषि क्षेत्रको विकास नभई समृद्धि आउन सक्दैन । कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुभएको छैन ? 

कृषि क्षेत्र हाम्रो प्राथमिकतामै छ । कृषिको क्षेत्रमा पहुँचका आधारमा अनुदान दिने परम्परालाई हटाउन ‘जसको उत्पादन, उसैलाई अनुदान’ भनेर कफीमा प्रतिकिलोग्राम ३५ रुपियाँ अनुदान दिने काम अगाडि बढाएका छौँ । यो कार्यव्रmम मुलुकभर नै नमुना कार्यक्रम हो भन्ने हाम्रो दाबी छ । यसले किसानलाई व्यावसायिक कफी खेतिप्रति आकर्षित गर्ने छ । दुध, मासु उत्पादन र जडीबुटीबाट आम्दानी गर्न सकिने छ । गाउँपालिकाले किसानलाई दुधमा अनुदान दिने कार्यक्रम ल्याउने तयारी गरिरहेको छ । 


युवा पुस्ताका लागि के के योजना छ ? 

युवा पुस्तामाझ नेपालमा नै सम्भावना छ भनेर अभियान चलाउनुपर्ने जरुरी देखिएको छ । गाउँपालिकाभित्र खुवा बिक्री गरेर मासिक एक लाख रुपियाँ आम्दानी गर्ने किसान पनि छन् । गाउँमा नै आर्थिक उपार्जनका लागि युवालाई उद्यमशील बनाउन क्षमता विकास तथा सिप विकास तालिम दिने योजना गाउँपालिकाको रहेको छ ।

कार्यकालको बाँकी अवधिका लागि के कस्ता कामलाई प्राथमिकतामा राख्नुहुन्छ ? 

यहाँका बासिन्दाका लागि विकास भनेको सडक हो भन्ने धारणा छ । त्यसैले हाम्रो पहिलो र मुख्य काम भनेको नै सबै मौसममा सबै वडाको केन्द्रसम्म मोटर चल्ने बाटो (अल वेदर रोड) निर्माण गर्ने नै हो । गाउँपालिकाको केन्द्रसँग प्रदेश राजधानी दुई घण्टामा पुग्ने बनाउने, उक्त सडकलाई गाउँपालिकाको मेरुदन्ड सडकका रूपमा स्थापित गर्ने, अल वेदर रोडमार्फत नै जिल्ला सदरमुकाम धुलिखेलसँगको सम्बन्ध बनाउने काम गरिने छ । गाउँपालिकाको प्रशासकीय भवन बनाउन यस वर्ष बोलपत्र आह्वान गर्ने छौँ । सातवटै वडाको वडा कार्यालय बनाउने लक्ष्य अनुसार यस वर्ष वडा नं. १, २ र ६ को तथा वडा नं. ७ को अर्को वर्ष ठेक्का निकाल्छौँ । यस्तै दुर्लुङखोला पुल र खानीखोला पुल बोलपत्र आह्वान भइसकेकाले दसैँपछि काम सुरु हुने छ । 

सङ्घ र प्रदेशको सहयोग कस्तो छ ?

सङ्घ र प्रदेश सरकारले खानीखोला गाउँपालिका जस्ता विकट गाउँपालिकाको समग्र विकासका लागि ठोस नीति तथा कार्यव्रmम ल्याउनु पर्छ । सङ्घीय, प्रदेश सरकारका साथै राजनीतिक दल, नेता र सांसद विकट गाउँपालिकाको विकासमा एकजुट भएर अगाडि बढ्नु पर्छ । हामी निर्वाचनको समयमा जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न आफ्नो तहबाट विभिन्न निकायमा पहल गर्ने छाँै । स्थानीय उत्पादन खरिदबिक्री केन्द्र स्थापना गरेर नागरिकले उत्पादन गरेको कृषिजन्य सामग्रीको बजारीकरणका लागि पहल तथा शिक्षा क्षेत्रमा सुधारका काम गर्ने छौँ ।