• १२ साउन २०८१, शनिबार

१९औं एसियाड : १४औं दिन सबै खेलमा निराशा

blog

महिला कबड्डीमा प्रतिस्पर्धा गर्दै भारत र नेपालका खेलाडी । तस्बिर : लोकेन्द्रकुमार बस्नेत (राखेप) ।

हाङझाउ, असोज १९ गते । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) को १४औं दिन नेपालले खेलेका सबै खेलमा हार खेपेको छ । 

एसियाडमा नेपालले भाग लिएको २९ खेलमध्ये २५ खेल सकिएको छ । अझै कुस्ती, कराँते, क्यानोइङ र महिला भलिबलका खेल जारी रहेको छ । 

शुक्रबार नेपालले पदकको आशा गरेको कराँते खेलाडी विप्लवलाल श्रेष्ठ कांस्य नजिक पुगेर चुक्नुभयो । पुरुष कुमुतेको ८४ केजी तौलमाथि विप्लव रिपोचको काँस्य पदक भिडन्तमा साउदी अरेबियाका तारेग हामिदसँग ९–१ ले पराजित हुनुभयो । 

विप्लवले पहिलो खेलमा ताजकिस्तानका उमेद साफारोभलाई १२–४ ले हराउनुभएको थियो । क्वार्टरफाइनलमा भने उहाँ किर्गिस्तानका सादिकानोभ अदिलेतसँग ५–१ ले पराजित हुनुभएको थियो । विप्लवले रिपोचको पहिलो खेलमा बाई पाएपछि काँस्यका लागि हामिदसँग भिड्नुभएको थियो । 

नेपालले शुक्रबार एसियाडमा औपचारिक रुपमा एउटा काँस्य पदक आफ्नो पोल्टामा पारेको छ । शुक्रबार मात्र नेपालले महिला कबड्डीमा काँस्य पदक जितेको हो । नेपाल सेमिफाइनलमा भारतसँग ६१–१७ ले पराजित हुँदै काँस्यमा चित्त बुझाउन बाध्य थियो । 

यस्तै कराँते अन्तर्गत शुक्रबार नै भएको कुमुतेको महिला ६१ केजी मुनि स्पर्धामा नेपाली निरुपा तामाङ दोङ अन्तिम १६ मा पराजित हुनुभयो ।  उहाँ बङ्गलादेशकी हुमइरा अख्तर अन्तरासँग ५–१ ले पराजित हुनुभएको हो ।

कुस्तीमा सुशिला पराजित

एसियाड अन्तर्गत कुस्तीमा नेपालकी सुशिला चन्द पराजित हुनुभएको छ । लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा शुक्रबार भएको महिला ६२ केजीको पहिलो चरणमा भारतकी सोनमले सुशिलालाई १०–० ले पराजित हुनुभयो ।

अघिल्लो दिन महिला ५७ केजीको पहिलो चरणमा नेपालकी सुवाङ्गी दुवे थाइल्यान्डकी श्रृपारासँग ८–० ले पराजित हुनुभएको थियो । कुस्तीमा अब शनिबार दुई पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

१२५ केजीमा नेपालका राज यादवले कम्बोडियाका बाली सोउ तथा ७४ केजीमा र सुरेश चुनाराले तुर्कमिनिस्तानका पर्मन होम्मादोभविरुद्ध खेल्नुहुनेछ । 

डान्स स्पोर्ट्समा दीपक पहिलो चरणबाटै बाहिर

एसियाड अन्तर्गत डान्स स्पोर्ट्सको ब्रेकिङ विधामा नेपालका दीपक लामा पहिलो चरणबाटै बाहिरिनुभएको छ । पुरुषतर्फ शुक्रबार भएको प्रि सेलेक्समा उहाँ २५ खेलाडीमा २३औं स्थानमा अटाउनुभयो ।

दीपकले ताजिकिस्तानका दुई खेलाडीलाई मात्र पछि पार्नुभयो । एसियाडमा डान्स स्पोर्ट्समा नेपालले पहिलो पटक सहभागिता जनाएको हो । 

महिला भलिबलमा चौथो हार

१९औं एसियाड अन्तर्गत महिला भलिबलमा नेपालले लगातार चौथो हार खेपेको छ । यसअघिनै पदकबाट बाहिरिएको नेपालले वरीयताका लागि प्रतिस्पर्धा गरिरहेको छ । 

नेपाल शुक्रबार हङकङसँग ३–० को सोझो सेटमा पराजित भएको हो । हाङझाउस्थित नर्मल युनिभर्सिटी जिम्न्यासियममा भएको खेलमा हङकङले नेपालमाथि २५–२२, २५–१६, २५–१८ को जित निकालेको हो ।

नवौं देखि १२औं स्थानसम्मको लागि नेपालले क्लासिफिकेसन खेल खेलिरहेको छ । नेपालले अब शनिबार मंगोलियासँग अन्तिम खेल खेल्नेछ । नेपालको महिला भलिबल टोलीले पहिलो पटक एसियाड खेलेको हो ।