• १२ साउन २०८१, शनिबार

उपराष्ट्रपति यादव र जर्मनीका राजदूत प्रिन्जबीच भेट

blog

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग शिष्टाचार भेटघाट गर्नुहुँदै जर्मनीका राजदूत डा. थोमस प्रिन्ज । तस्बिर : उपराष्ट्रपतिको सचिवालय

काठमाडौं, असोज १९ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग जर्मनीका राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेटघाट गर्नुभएको छ । शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उपराष्ट्रपति यादव र राजदूत डा. प्रिन्जबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटघाटमा शुभकामना आदानप्रदानपछि उपराष्ट्रपति यादवले सन् १९५८ मा कूटनीतिक सम्बन्ध स्थापना भए पश्चात नेपाल र जर्मनीबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहादर्द्धपूर्ण रहेको र नेपालले दुई मुलुकबीचको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको बताउनुभयो ।

‘‘उच्च राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदानप्रदान तथा संवाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–जर्मनी सम्बन्धका आधारस्तम्भ हुन्,’’ उहाँले भन्नुभयो, ‘‘जर्मनी नेपालको प्रमुख विकास साझेदार हो । नेपालले सामाजिक आर्थिक विकासका सबालमा जर्मन सरकारबाट सन् १९६१ देखि सहायता प्राप्त गर्दै आएको छ ।’’

उपराष्ट्रपति यादवले कोभिड–१९ सङ्क्रमणको समयमा मूल्यवान सहयोग प्रदान गरेकोमा जर्मनीप्रति आभार समेत व्यक्त गर्नुभयो । ‘‘जर्मनीको युरोपेली संघमा अत्यन्तै प्रभावशाली भूमिका रहेको छ । हामी नेपाल र युरोपेली सङ्घबीचको बढ्दो सहकार्यको स्वागत गर्दछौँ,’’ उहाँले भन्नुभयो, ‘‘दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न हामी प्रतिबद्ध छौं । नेपालको विकासको पथमा मित्रराष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा हामी आशावादी छौँ ।’’

जर्मनीले बहुपक्षीय मञ्चहरुमा अन्तर्राष्ट्रिय मुद्दा जस्तै जलवायु परिवर्तनको क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले भन्नुभयो, ‘‘आपसी हितका विषयहरुमा दुईपक्षीय र बहुपक्षीय मञ्चहरुमा हाम्रो सहकार्य निरन्तर कायम रहनेमा म आशावादी छु ।’’

भेटघाटमा महामहिम राजदूत प्रिन्जले नेपालको शान्ति र राजनीतिक स्थायित्वका लागि जर्मनीले निरन्तर सहयोग गर्दै नेपालको ऊर्जा, पर्यटन, उद्योगलगायतका क्षेत्रको विकासमा मद्दत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जर्मन सरकारले ८० जना नेपालीलाई व्यवसायिक प्रशिक्षणका लागि जर्मनी लगिएको जानकारी दिँदै यो क्रम अगामी दिनमा पनि जारी राख्दै यो सङ्ख्या पाँच सयसम्म पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो ।