• २९ फागुन २०८२, शुक्रबार

कांग्रेस अनुशासन समितिको बैठक : अनुशासन उल्लङ्घनका उजुरीमाथि प्रारम्भिक अध्ययन सुरु

blog

फाइल तस्बिर

ललितपुर, फागुन २९ गते । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ललितपुरमा सम्पन्न भएको छ । समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेको बैठकले अनुशासनसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

बैठकले केन्द्रीय अनुशासन समितिमा प्राप्त भएका पार्टी अनुशासन उल्लङ्घनका उजुरीहरूमाथि प्रारम्भिक अध्ययन सुरु गर्ने निर्णय गरेको छ । प्राप्त उजुरीहरूको प्रकृति र प्रमाणका आधारमा समितिले छानबिन प्रक्रिया अघि बढाउने जनाइएको छ ।

यसैगरी, बैठकले 'नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२' को उपदफा १.१ बमोजिम केन्द्रीय कार्यालयका सह–सचिव दिनेश थापा मगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

पार्टीभित्रको आन्तरिक अनुशासनलाई थप सुदृढ र व्यवस्थित बनाउन समितिले सक्रियता बढाउने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार समितिले कार्यविधि अनुसार आफ्ना आगामी गतिविधिहरूलाई तीव्रता दिनेछ ।