• १३ मंसिर २०८१, बिहिबार

पुल मर्मतपछि आवतजावतमा सहज

blog

कर्णालीमा क्षतिग्रस्त पुल मर्मतपछि आवतजावतमा सहज । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, असोज १९ गते ।
कालीकोट जिल्लाको जिते बजारस्थित कर्णालीको पुल मर्मत भएपछि नागरिकलाई आवतजावत गर्न सहज भएको छ । गत वर्ष असोज १९ देखि २४ सम्म परेको अविरल वर्षापछि आएको बाढीले जिते कर्णाली करिडोर जोड्ने झुलङगे पुल बगाउँदा आवतजावत ठप्प भएको थियो ।

कर्णाली प्रदेश सरकारले एक वर्षपछि पुलको मर्मत गरेपछि अहिले नागरिकलाई आवतजावतमा सहज भएको छ ।

राजनीति दलको चुनावी एजेण्डा बनेको जिते पुल मर्मतका लागि यहाँका नागरिकले एक वर्ष कुर्नुपरेको थियो । सान्नीत्रिवेणी–१ का अनिल विष्टले हामीले जिते दुई दिनमा पुल मर्मत गर्छाैं भन्ने कालीकोटका राजनीति दलको झुट्टो आश्वासनले काम नगरेका कारणले पुल मर्मतमा ढिलाइ भएको सुनाउनुभयो । यहाँका पत्रकार र नागरिकको चर्को दवाबपछि बल्ल पुल मर्मत भएर अहिले नागरिकलाई यात्रा गर्न सहज भएको छ ।

पुल समयमा मर्मत नहुँदा पाँच किलोमिटर टाडा खुलालुको पक्की पुल भएर मानिसहरु जितेपारि लालिघाट गएर कर्णाली करिडोरको यात्रा गर्ने गरेका थिए । स्थानीयले काठको भर्याङ बनाएर हिउँदको समयमा क्षतिग्रस्त पुलको प्रयोग गरे पनि कर्णाली नदीमा पानीको मात्रा बढ्ने बित्तिकै लामो घुमाउरोे बाटो प्रयोग गर्न बाध्य थिए । गोरखापत्रको लगातारको खबरदारीपछि गत साउनमा पुल मर्मत भयो र अहिले करिडोरको यात्रा गर्नेहरुलाई सहज भएको छ ।

जितेका कमल मल्लले सिधै सुर्खेत नेपालगन्जबाट कर्णाली करिडोरमा यातायात नचल्ने र कर्णाली राजमार्गको वारी छहरामा यात्रु झरेर पुनः पुलको यात्रा गरेर कर्णाली करिडोरमा जानुपर्ने भएकाले पुल समयमा मर्मत नहुँदा निकै सास्ती खेप्दै आएका थिए । अब भने सहज भएको मल्लले बताउनुभयो । पुल मर्मतपछि १० देखि १५ मिनेटको पैदल यात्रापछि नागरिकले गाडीको यात्रा गर्न सक्ने भएका छन् ।