• २६ वैशाख २०८१, बुधबार

१९औं एसियाड : काँस्य नजिक पुगेर चुक्नुभो विप्लवलाल

blog

काँस्य पदकका लागि प्रतिस्पर्धा गर्दै नेपालका विप्लवलाल श्रेष्ठ । तस्बिर : सौजन्य राजेन्द्र चित्रकार

हाङझाउ, असोज १९ गते । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) मा नेपालका कराँते खेलाडी विप्लवलाल श्रेष्ठ कांस्य नजिक पुगेर चुक्नुभएको छ । 

शुक्रबार भएको पुरुष कुमुतेको ८४ केजी तौलमाथि विप्लव रिपोचको काँस्य पदक भिडन्तमा साउदी अरेबियाका तारेग हामिदसँग ९-१ ले पराजित हुनुभयो । 

विप्लवले पहिलो खेलमा ताजकिस्तानका उमेद साफारोभलाई १२-४ ले हराउनुभएको थियो । क्वार्टरफाइनलमा भने उहाँ किर्गिस्तानका सादिकानोभ अदिलेतसँग ५-१ ले पराजित हुनुभएको थियो । विप्लवले रिपोचको पहिलो खेलमा बाई पाएपछि काँस्यका लागि हामिदसँग भिड्नुभएको थियो । 

पदकको निकै आशा गरिएका विप्लव चुकेपछि नेपालले जारी एसियाडमा एउटा काँस्य पदक आफ्नो पोल्टामा पारेको छ । शुक्रबार मात्र नेपालले महिला कबड्डीमा काँस्य पदक जितेको हो । नेपालले सेमिफाइनलमा भारतसँग पराजित हुँदै काँस्यमा चित्त बुझाएको थियो । 

यस्तै कराँते अन्तर्गत शुक्रबार नै भएको कुमुतेको महिला ६१ केजी मुनि स्पर्धामा नेपाली निरुपा तामाङ दोङ अन्तिम १६ मा पराजित हुनुभयो ।  उहाँ बङ्गलादेशकी हुमइरा अख्तर अन्तरासँग ५-१ ले पराजित हुनुभएको हो ।

कराँते एसियाडमा नेपालका लागि पदक दिलाउँदै आएको खेल हो । यसअघि सन १९९४ मा जापानको हिरोशिमामा भएको एसियाडका करातेबाट सीता राई, सन् १९९८ को बैंकक एसियाडमा समरबहादुर गोले र सन् २०१४ को इन्चोन एसियाडबाट विमला तामाङले काँस्य पदक दिलाउनुभएको थियो ।