• १२ साउन २०८१, शनिबार

सामूहिक प्रयासले मात्र अर्थतन्त्र सुध्रिन्छ : अर्थमन्त्री डा. महत

blog

अर्थमन्त्री डा. प्रकाशशरण महत ।

वसन्त पराजुली

भरतपुर, असोज १९ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले सामूहिक प्रयास र सकारात्मक माहोल भएमात्रै अर्थतन्त्र सुधारिने बताउनुभएको छ । काँग्रेसको एक कार्यक्रममा सहभागी हुन चितवन आउनुभएका मन्त्री डा. महतले सो कुरा बताउनुभएको हो ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नकरात्मक बहस र छलफलले अर्थतन्त्र सुधारमा बाधा परेको गुनासो गर्नुभयो । “अर्थतन्त्रमा आएको शिथिलतालाई अन्त गरी गति दिन जरुरी छ । त्यसमा वित्तनीति सँगसँगै मौद्रिक नीतिको पनि ठूलो भूमिका रहन्छ” उहाँले थप्नुभयो, “जनता र देशलाई केन्द्रबिन्दु राखेर वित्त सुधारका लागि काम गर्नैपर्छ । त्यसका लागि सकारात्मक छलफल र बहस हुन जरुरी छ ।”

नकारात्मक बहसले अर्थतन्त्रले गतिलिन रोकिने धारण राख्दै उहाँले अर्थतन्त्र अगाडि बढ्ने ठोस आधार अघि बढेको बताउनुभयो । “सरकारका निकायवाट सहजीकरण नीतिगत र व्यावहारिक प्रावधान पनि अघि बढेको छ । पर्यटन आगमन बढेको छ । रेमिटेन्स पनि बढेकै छ । यसले पनि वित्तीय प्रवाह भएको छ ।”

आर्थिक गतिविधि बढेसँगै रोजगारी पनि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । रोजगारी बढे आम्दानी बढ्छ आम्दानी बढेसँगै राजस्व बढ्छ । अनि बल्ल विकास निर्माणको काम गर्न पनि सकिनेछ उहाँले भन्नुभयो ।    

आर्थिक सुधारजस्तो काम जादुगरले जस्तो फटाफट गर्न नसकिने बताउनुहुँदै उहाँले सरकारले गृहकार्य सुरु गरेको तर समय लाग्ने बताउनुभयो । “हामी बाटाे पक्रिदैछौं । सकारात्मक कुरालाई प्रोत्साहन गर्ने र आत्मविश्वास दिन सक्नुपर्छ । सामाजिक सञ्चालनमा  पनि सकरात्मक छलफल तथा बहस सुरु गर्नुपछै अनि अर्थतन्त्रले लय समात्नेछ” उहाँले भन्नुभयो । 

विश्व बैक र एडीबीले पनि आर्थिक वृद्धि दर बढ्ने प्रक्षेपण गरेर नेपालको आर्थिक सुधारको सङ्केत गरेको उहाँले बताउनुभयो । “विश्व बैंकले यही वर्ष चार प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । तर नेपाल सरकारले यसमा छ प्रतिशतको प्रक्षेपण गरेको छ । त्यो हामी पूरा गर्छौं” उहाँले भन्नुभयो ।  

राष्ट्र बैंकले  बिहीबार अघि सारेका केही नीतिगत निर्णयले पनि आर्थिक सुधारमा सहयोग पुग्ने उहाँको विश्वास छ । “आर्थिक चलायमान ब्याजदरको ठूलो भूमिका हुन्छ । ऋण प्रवाह गर्ने सीमाहरुले ठूलो भूमिका खेल्छ । शेयर बजारले पनि गति दिने र नदिनेमा प्रभावित गर्छ” उहाँले भन्नुभयो, “राष्ट्र बैंकको बोर्डले जुन निर्णय गरेको छ, त्यसले अर्थतन्त्रलाई गति दिन मद्दत गर्ने र सकारात्मक बाटोमा जाने विश्वास लिएको छु ।” 

शेयर बजार, जग्गाको कारोबार तथा अन्य उत्पादनशील क्षेत्रमा राष्ट्र बैँकको निर्णयले अर्थतन्त्र चलायमान हुने उहाँको विश्वास छ । बैँक तथा वित्तीय संस्थाहरु पनि आफ्नो तर्फबाट प्रतिस्पर्धी र पारदर्शी किसिमबाट चल्न जरुरी रहेको उहाँले बताउनुभयो ।