• ३१ वैशाख २०८२, बुधबार

निकुञ्जमा जिप सफारी खुला

blog

शालिग्राम नेपाल 

चितवन, असोज १९ गते । तीन महिनादेखि बन्द रहेको चितवन राष्ट्रिय निकुञ्जभित्रको जिप सफारी खुला गरिएको छ । निकुञ्जभित्रको बाटो मर्मत गरेपछि पूर्वी क्षेत्रबाट जिप सफारी खुला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो । बर्खा लागेपछि निकुञ्जले हरेक वर्ष तीन महिना जङ्गल सफारी बन्द गर्दै आएको छ । गत असार १६ देखि बन्द गरिएको सफारी असोज १६ देखि सुरु गरिएको हो । निकुञ्ज प्रवेश गरी पर्यटकलाई घुमाउन जिपले निकुञ्ज कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । सौराहाबाट निकुञ्ज आउन बाटोमा भएका अवरोध हटाउने, बाटो मर्मत गर्ने र जिपलाई अनुमति दिने काम भएको सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । 

चितवनको सौराहा, माडी, मेघौली, कसरा, नवलपरासीको अमलटारीलगायतबाट निकुञ्ज सफारी जाने गरिएको छ । सौराहाबाहेकका जिपले अनुमति लिनका लागि नआएकाले सञ्चालन नभएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । अन्य स्थानमा बाटो मर्मत भइरहेको जानकारी कार्यालयले दिएको छ । सौराहा क्षेत्रबाट ३२ वटा जिपले सफारीका लागि अनुमति पाएका छन् । गत साल कसराबाट १६, मेघौलीबाट नौ, अमलटारीबाट पाँच, कुजौलीबाट दुई र माडीबाट एउटा जिपले अनुमति पाएका थिए । बर्खासँगै निकुञ्जभित्रको सडक भत्किने र खाल्टाखुल्टी हुने, खोल्सामा ‘कल्भर्ट’ भत्किने भएकाले जिप सफारी बन्द गरिएको थियो ।

पर्यटन व्यवसायी उत्साहित

निकुञ्जमा जिप सफारी खुला गरिएपछि सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका छन् । सिजनमा समेत पर्यटन नआएको भन्दै चिन्तित व्यवसायी निकुञ्जमा सफारी खुला गरेपछि पर्यटक बढ्ने भन्दै उत्साहित भएका हुन् ।  क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले सिजनमा समेत सुनसान भएको सौराहा सफारी खुला भएपछि पर्यटक आउनेमा विश्वास पलाएको बताउनुभयो । सौराहा आउने पर्यटकको रोजाइ निकुञ्ज घुम्ने हुन्छ । “अब सिजन लागेको छ, चाडपर्वसमेत आउन लागेको छ, त्यसैले पर्यटक आउनेमा आशावादी छौँ,” उहाँले भन्नुभयो । 

क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष दीपक भट्टराईले पनि सौराहामा पर्यटक आगमन वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “भदौ र असोज पर्यटकका लागि मुख्य सिजन हो तर अहिले पाँच प्रतिशत पनि पर्यटक छैनन् । निकुञ्जको सफारी खोलेपछि पर्यटक आउने छन् भन्ने लागेको छ । जिपसँगै डुङ्गा सफारी, जङ्गल पैदल यात्रालगायत खुला गरिएको छ ।” 

निकुञ्जका सूचना अधिकारी तिवारीले चितवन घुम्न आउने पर्यटकको पहिलो रोजाइ निकुञ्जमा जिप सफारी हुने गरेको र यसबाहेक मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी, निकुञ्जमा पैदल यात्रा, राप्ती नदीमा डुङ्गा सयरलगायतका पर्यटकीय गतिविधि हुने गरेको बताउनुभयो । “दुर्लभ एकसिङे गैँडा, बाघ पर्यटकको रोजाइमा पर्छन् । यहाँको वन्यजन्तु, प्रकृति, शान्त वातावरण हेर्नका लागि पर्यटक आउने भएकाले सफारीको महŒव धेरै छ,” उहाँले भन्नुभयो । निकुञ्ज प्रवेश शुल्क कार्यालयले लिने भएकाले राजस्वमा समेत ठुलो प्रभाव पार्ने कार्यालयले जानकारी दिएको छ ।