• ४ जेठ २०८१, शुक्रबार

नाका खुल्दा स्थानीय खुसी

blog

गुणबहादुर रोका 

सुलीकोट, असोज १९ गते ।  झन्डै चार वर्षदेखि बन्द चीनसँग जोडिएका उत्तरी गोरखाको रोइला र ङुइला दुवै नाका खुला भएसँगै गोरखाका उत्तरी क्षेत्रका बासिन्दा खुसी भएका छन्। सीमा प्रवेशका लागि चुमनुब्रीवासीलाई बोर्डर पास वितरण सुरु भएसँगै दैनिक उपभोग्य सामग्री ल्याउन सहज भएको छ। 

जिल्ला प्रशासन कार्यालय गोरखाले बुधबारदेखि चुमनुब्री गाउँपालिका–३, सिर्दिवासस्थित फिलिममा रहेको इलाका प्रशासन कार्यालयबाट बोर्डर पास वितरण गर्न सुरु गरेको छ।  प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालसँगै गोरखाको उत्तरी नाकाबाट सहजै रूपमा सामान आहोरदोहोर गर्न सहज भएको जानकारी दिनुभयो। 

 बोर्डर पास वितरणका लागि सहायक प्रमुख जिल्ला अधिकारी पुस्कर राना नेतृत्वको टोली फिलिम पुगी बोर्डर पास वितरण गरिसकेको गोरखाका प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुभयो। गृह मन्त्रालयको सर्कुलर अनुसार चीनसँग जोडिएका सबै नाकामा बोर्डर पासको व्यवस्था भएबमोजिम गोरखाका दुई नाकामा आवतजावत गर्न सहज बनाउन बोर्डर पास वितरण गरिएको प्रजिअ भुसालले जानकारी दिनुभयो। चीनको सीमा क्षेत्रसँग जोडिएको चुमनुब्री गाउँपालिकाका बासिन्दालाई चीन प्रवेशका लागि बोर्डर पास वितरण भएसँगै अबदेखि तिब्बती बजारमा सहजै ओहोरदोहोर गर्न पाउने भएका छन्। चुमनुब्री गाउँपालिका वडा नम्बर १ स्थित रुइला र वडा नम्बर–७, छेकम्पारस्थित डुइला नाका कोभिडको सङ्क्रमण सुरु भएसँगै बन्द भएको थियो। 

उत्तरी गोरखाका छेकेम्पारका कासम फुन्जो लामाले चीनसँगको बोर्डर खुल्दा स्थानीयलाई सहज भएको छ। उहाँले भन्नुभयो, “हामीसँग भएका खच्चड प्रयोग गरेर यहाँका नागरिकलाई आवश्यक सामान ओसारपोसार गर्नसहज भएको छ।” 

दुई हप्ताअघि नै चीन सरकारले नाका खुला गरेर आउजाउका लागि अनुमति दिएको भए पनि चुमनुब्रीवासीले भने बोर्डर पास नहुँदा प्रवेश गर्न पाएका थिएनन्। गाउँपालिकाका अध्यक्ष निमा लामाले बोर्डर पास वितरण भएपछि चुमनुब्रीवासीलाई तिब्बतका बजारमा पुगेर दैनिक उपभोग्य वस्तु खरिद गर्न सजिलो भएको जानकारी दिनुभयो।