• ४ जेठ २०८१, शुक्रबार

बुलिङटारमा सडक समस्या

blog

नवलपरासी समाचारदाता

कावासेती (नवलपरासी), असोज १९ गते । पूर्वी नवलपरासीको पहाडी क्षेत्र जोड्ने दलदले, धौवादी, बुलिङटार ग्रामीण सडक वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। 

बुलिङटार गाउँपालिका–४ का वडाध्यक्ष मीनबहादुर आलेमगरका अनुसार सडकको ठाउँ ठाउँमा पहिरो खसेको छ। बर्सात नरोकिएकाले सडक खुलाउन केही समय लाग्ने जनाइएको छ।

बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारी मगरका अनुसार जिल्लाको पहाडी बुलिङटार र बौदीकाली गाउँपालिका चल्ने दलदले, धौवादी ग्रामीण सडक अवरुद्ध भएपछि नवलपुरसँग यातायातको सम्बन्धविच्छेद भएको छ। केही दिनदेखिको वर्षापछि आएको पहिरोले सडक अवरुद्ध हुँदा पहाडी क्षेत्रमा खाद्यान्न, औषधीलगायतका अत्यावश्यक सामग्रीको अभाव हुन सक्ने अध्यक्ष सुनारी मगरले बताउनुभयो।

दलदले धौवादी सडकखण्डको कुमसोत पाङ्ग्रे खण्ड, अर्खलादेखि कमलीकोटसम्म पहिरो जाँदा अवरुद्ध बनेको सो बाटो मर्मतका लागि एक हप्तासम्म लाग्ने र पानी नरोकिएसम्म मर्मतको काम थाल्न नसकिने बुलिङटार–४ का वडाध्यक्ष मीनबहादुर आलेमगरले बताउनुभयो। पहाडी क्षेत्रलाई जोड्ने सडक अवरुद्ध भएपछि दैनिक एक सयको हाराहारीमा सवारीसाधन गुड्ने मोटरबाटो बन्द हुँदा पहाडी क्षेत्रका जनताले ठुलो सास्ती बेहोर्नुपर्ने अवस्था आएको वडाध्यक्ष आलेमगरले बताउनुभयो।