• १३ साउन २०८१, आइतबार

नेपालगन्जमा आज पनि कर्फ्यु हटाएर निषेधाज्ञा जारी

blog

गोविन्द शर्मा 

बाँके, असोज १९ गते । नेपालगन्जको अवस्था शान्तिपूर्ण रहेपछि शुक्रवार पनि कर्फ्यु  हटाएर निषेधाज्ञा जारी गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बिहीबार राती ८ बजेदेखि शुक्रवार बिहान ६ बजेसम्म लगाइएको कर्फ्यु  आदेश हटाइएको जानकारी दिदैं बिहान ६ बजेदेखि राती ८ बजे निषेधाज्ञाको आदेश जारी गरिएको बताउनुभयो ।  प्रशासनले शुक्रवार राति ८ बजेदेखि शनिवार बिहान ६ बजेसम्म साबिककै क्षेत्रमा कायम रहनेगरि कर्फ्यु  आदेश जारी गरेको छ । 

 जिल्ला प्रशासन कार्यालय बाँकेले पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाक्षेत्रभित्र  कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न लेख्न नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्धेश्यले एकै ठाउँमा ५ जना भन्दा बढी मानिसहरू जम्मा हुन नपाउने गरी निषेधज्ञा आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी अधिकारी आचार्यले बताउनुभयो ।  प्रशासनले सामाजिक सद्भाव र शान्ति स्थापनाका लागि जिल्लावासीमा अपिल समेत गरेको हो । 

 जिल्ला प्रशासन कार्यालय बाँकेले पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाक्षेत्रभित्र मङ्गलबार दिउसो १ बजेदेखि अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेकोमा बिहीबार बिहान ८ बजे हटाएर पुन बिहीबार राती ८ बजेदेखि कर्फ्यु   आदेश जारी गरेको थियो । 

सामाजिक सञ्जालमा लेखिएको प्रतिक्रियापछि मुस्लिम समुदायले असोज १४ गते गरेको विरोध प्रदर्शनपछिको परिस्थिति र ॐकार समाज हिन्दु परिवारले मङ्गलबार प्रदर्शन गरेको र्यालीको क्रममा विवाद भई तोडफोड, सार्वजनिक सम्पत्तिमा क्षति पुगेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।