• १२ मंसिर २०८१, बुधबार

ज्ञान हस्तान्तरणको दायित्व

blog

समाजका चौतर्फी विकास निर्माणमा गरुत्तर दायित्व हुन्छ शिक्षकको । उनीहरूको काँधमाथि नै विश्वको उन्नत भविष्य निर्माण गर्ने जिम्मेवारी रहेको हुन्छ । यसै कुरालाई ध्यानमा राखेर संयुक्त राष्ट्रसङ्घको महत्वपूर्ण विश्व एकाइ संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले विश्व शिक्षक दिवस मनाउने आरम्भ ५ अक्टोबर १९९५ बाट गरेको हो । यसको उद्देश्य विश्वभरिका शिक्षकद्वारा विश्वका झन्डै दुई अर्ब पच्चास करोड बाल बच्चाहरूको जीवनको आधार निर्माण गर्ने महत्वपूर्ण योगदानमाथि विचार विमर्श गर्नु रहेको छ । विश्वका कतिपय देश प्राचीन समयमा पनि शिक्षाका ठुला केन्द्रहरू बनेका थिए । तिनले विश्वलाई सही दिशाबोध पनि गराएको हामी पाउँछौँ । 

आजको युग त आर्थिक दौडधूप, युद्धको युग जस्तो पो बनेको छ । यस्तो युगमा त झन् शिक्षकको भूमिका अत्यन्तै महत्वपूर्ण बन्न जान्छ । किनभने शिक्षकले विद्यार्थीलाई ज्ञान मात्रै दिने होइन, उनीहरूका लागि जीवनमा चाहिने आवश्यक कला कौशल पनि सिकाउँछन् । नैतिक मूल्य तथा शान्तिपूर्ण जीवनयापनका बारेमा पनि सम्झाउने बुझाउने गर्दछन्, जसले गर्दा विद्यार्थीलाई असल नागरिक बन्न अभिप्रेरणा मिल्दछ । शिक्षकको भूमिका किन महत्वपूर्ण छ भने भोलिका प्रधानमन्त्री, मन्त्री, प्रशासकदेखि समाजका हरेक तह र तप्काका लागि चाहिने मान्छे आज कक्षा कोठामा छन् र शिक्षकले नै उनीहरूलाई शिक्षा दिइरहेका छन् । यसका कारण पनि शिक्षकको जिम्मेवारी र दायित्व अन्य पेसा व्यवसायको तुलनामा धेरै बढी छ भन्ने गरिन्छ । किनभने यस्तो अवसर अन्य पेसागत क्षेत्रमा मिल्दैन । एक जना शिक्षाविद् डा. एएस अल्टेकरले लेखेका छन् –‘शिक्षाको प्रकाश र शक्ति एउटा यस्तो स्रोत हो, जसले हाम्रो शारीरिक, मानसिक, भौतिक तथा वैचारिक शक्ति र क्षमतालाई निरन्तर सामञ्जस्यपूर्ण र सन्तुलित विकास गरेर हाम्रो स्वभावलाई परिवर्तित तुल्याउँछ र उत्कृष्ट बनाउँछ ।’ नोबेल पुरस्कारले विभूषित विश्वप्रसिद्ध नेल्सन मण्डेलाले भनेका छन् –“संसारमा शिक्षा नै सबैभन्दा शक्तिशाली हतियार हो, जसले संसारलाई बदल्न सक्दछ ।” यसबाट पनि सहजै आकलन गर्न सकिन्छ कि समाजमा शिक्षाको जिम्मेवारी र भूमिका के छ भन्ने कुरा । अनि विद्यार्थीमा शिक्षाको ज्ञान हस्तान्तरण गर्ने कार्य शिक्षकले नै गर्दछन् । 

आजको समयमा सारा संसारकै लागि एउटै किसिमको शिक्षा प्रणाली हुनुपर्ने कुरा पनि उठिरहेको छ । यो स्वाभाविक कुरा होइन । संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव डा. कोफी अन्नानले भनेका थिए –“मानव इतिहासमा बिसौँ शताब्दी सबैभन्दा रक्तरञ्जित र हिंसाको शताब्दी रह्यो । त्यो शताब्दीमा दुइटा त विश्वयुद्ध नै भए । हिरोसिमा र नागासाकीमा दुई वटा परमाणु बमको हमला तथा विभिन्न युद्धको विनाशलीलाको ताण्डव सङ्कुचित राष्ट्रियताको कारण चल्यो । अहिले पनि केही समयदेखि रुस – युक्रेन युद्ध चलिरहेको छ । यी सबैका लागि सबैभन्दा बढी हाम्रो आजको शिक्षा नीति दोषी छ भन्ने विज्ञहरूले उल्लेख गरिरहेका छन् । विश्वका सबै देशले आ–आफ्ना देशका विद्यार्थीलाई विद्यालयमा देश प्रेमको कुरा धेरथोर सिकाउने त गर्दछन् तर शिक्षाको माध्यमले सारा विश्वलाई नै प्रेम गर्नुपर्ने कुरा सिकाउँदैनन् । विश्व सुरक्षित रह्यो भने न देशहरू पनि सुरक्षित रहलान्, व्यक्तिहरू पनि सुरक्षित रहलान् । यस हिसाबले हेर्दा संसारका कक्षा कोठाहरूमा केही न केही सुधार गर्नुपर्ने कुरा देखिन्छ । केही न केही विद्यार्थीले सिक्नुपर्ने कुरा थप गर्नुपर्ने देखिँदै छ । खासमा शिक्षक दिवसले यो सन्देश दिनुपर्ने हो ।” 

वास्तवमा आजको शिक्षा एउटा असल आदर्शबाट प्रेरित नभएर कमाउने व्यवसाय जस्तो बनाइएको छ । शिक्षक तथा शिक्षालयहरू आफ्नो ज्ञानको लिलामी गर्न थालेका छन् । वर्तमान विश्व परिवेशलाई हेर्ने हो भने गुरु–शिष्यको परम्परा कतै न कतै कलङ्कित जस्तो भइरहेको छ । शिक्षक र विद्यार्थीका बिचमा हुनुपर्ने सद्भाव प्रेममा कहीँ न कहीँ समस्या देखिन्छ नै । अचेल शिक्षकद्वारा विद्यार्थीहरू र विद्यार्थीद्वारा शिक्षकमाथि दुव्र्यहार, मारपिट अनि अनुशासनहीनताका खबरहरू प्रायः दिनदिनै जसो पढ्न, सुन्न पाइन्छ । समाजमा यी र यस्ता खालका घटनाले समाजमा सकारात्मक सन्देश त पक्कै दिन सकेका छैनन् । आज शिक्षक दिवस मनाइरहँदा यस प्रकारको पीडादायी प्रवृत्तिलाई सुधार्ने दृढ सङ्कल्प गर्दै धूमिल हुँदै गएको शिक्षकको आदर्श परम्परा तथा शिक्षालाई परिष्कृत, समाज उपयोगी एवं जीवनोपयोगी तुल्याउने, जिम्मेवार र असल नागरिक बनाउने कुरामा केन्द्रित हुन आवश्यक छ ।

वर्तमान समयमा शिक्षकको भूमिका पहिलाभन्दा निकै बदलिएको नै किन नहोस्, अहिले पनि विद्यार्थीको व्यक्तित्व निर्माण गर्न महत्वपूर्ण र अतुलनीय जिम्मेवारी उत्तिकै महत्वपूर्ण अझ प्रासाङ्गिक बनेको छ । किनभने सर्वतोमुखी योग्यताको अभिवृद्धि बिना युग सापेक्ष रूपमा हिँड्न र आफूलाई टिकाइराख्न पनि कठिन हुन जान्छ । त्यसैले शिक्षकले पनि आफैँलाई उन्ननय गर्दै र विद्यार्थीलाई पनि त्यसतर्फ प्रोत्साहित र अभिप्रेरित गर्ने भूमिका अझ राम्ररी खेल्न सक्छन् । किनभने आजको शिक्षाले सबै कुरा गर्न सक्ने सामथ्र्य समाजलाई दिनु पर्दछ । यस्तो व्यक्तित्व निर्माण गर्ने कार्य शिक्षकको नै हो । एक जना विचारक स्वामी विवेकानन्दको भनाइ छ कि– ‘सर्वाङ्गीण विकासको अर्थ हृदयले विशाल, मनले उच्च र कर्मले महान् व्यक्तित्वको विकासका लागि शिक्षकले संस्कार, व्यवहार तथा विचार यी सबै कुराको परिमार्जन गर्ने प्रयत्न निरन्तर जारी राख्नु पर्दछ ।’ 

यस सम्बन्धमा भारतका मिसाइल म्यान भनेर चिनिने सादगी पूर्वराष्ट्रपति एपिजे अब्दुल कलामको भनाइ थियो –“यदि कुनै देश भ्रष्टाचारमुक्त र सुन्दर मस्तिष्क भएको राष्ट्र बनेको छ भने मलाई सबैभन्दा बढी के लाग्छ भने त्यसका लागि तीन प्रमुख सामाजिक सदस्य छन्, जसले केही भिन्नता या परिवर्तन ल्याउन सक्छन् । ती हुन् – माता, पिता र शिक्षक ।” वास्तवमा अब्दुल कलामको यो उक्ति विश्वमा शिक्षकहरूको प्रभावको प्रतीक जस्तै छ । व्यक्तित्व निर्माणको कार्य एउटा अत्यन्तै कठिन कार्य हो । त्यस्तो असल व्यक्तित्व निर्माण गर्न निःस्वार्थी र जागरुक शिक्षकले मात्र सक्छन् । हाम्रा प्राचीन शास्त्रहरूमाा पनि ‘सा विद्या या विमुक्तये’ भन्ने कुरा प्रस्ट पारिएको पाइन्छ । जुन शिक्षाले अज्ञानताको अँध्यारोबाट मुक्ति दिन्छ त्यही नै शिक्षा हो । शिक्षाले नै नागरिकलाई चेतनशील र जागरुक बनाउँछ । जसले राष्ट्रियता, राष्ट्रिय सार्वभौमिकतामाथि खलल पु¥याउनबाट जोगाउँछ । गरिबी, अभाव, असुरक्षा र असमानताका बारेमा यथार्थ जानकारी दिन्छ । त्यसबाट मुक्तिको ठोस ज्ञान दिने पनि शिक्षाले नै हो । यस प्रकारको शिक्षा नीति र शिक्षा प्रणाली तथा शिक्षकले मात्र विश्वलाई चाहिने असल, उन्नत र सुसंस्कृत ज्ञानले सुसज्जित नागरिक बनाउन सक्छ र ‘वशुधैव कुटुम्बकम्’ भन्ने कुरालाई सार्थक र जीवन्त तुल्याउन सक्छ । त्यसका लागि आजको शिक्षामा आमूल परिवर्तन अर्थात् क्रान्ति चाहिएको छ ।   

Author

लोकनारायण सुवेदी