गुणबहादुर रोका
सुलीकोट, असोज १८ गते । झण्डै चार वर्षदेखि बन्द रहेको चीनसँग जोडिएका उत्तरी गोरखाको रोइला नाका र ङुईला दुवै नाका खुल्ला भएसँगै गोरखाका उत्तरवासी खुसी भएका छन् । सीमा प्रवेशका लागि चुमनुब्रीवासीलाई बोर्डर पास वितरण गरिएको हो । जसले गर्दा दैनिक उपभोग्य सामग्रीहरू ल्याउन स्थानीयलाई सहज भएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाले बुधबारदेखि चुमनुव्री गाउँपालिका–३, सिर्दिवासस्थित फिलिममा रहेको इलाका प्रशासन कार्यालयबाट बोर्डर पास वितरण गर्न सुरु गरेसँगै गोरखाको उत्तरी नाकाबाट सहजै रूपमा सामान आहोरदोहोर गर्न सहज भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।
बोर्डर पास वितरणका लागि सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर राना नेतृत्वको टोली फिलिम पुगी बोडरपास वितरण गरिसकेको गोरखाका प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुभयो ।
गृहमन्त्रालयको सर्कुलर अनुसार चीनसाग जोडिएका सबै नाकाहरूमा बोर्डरपासको व्यवस्था भएबमोजिम गोरखाका दुई नाकामा आबजजाबत गर्न सहज बनाउन बोर्डरपास वितरण गरिएको प्रजिअ भुसालले जानकारी दिनुभयो ।
चीनको सीमा क्षेत्रसँग जोडिएको चुमनुब्री गाउँपालिकाका बासिन्दाहरूलाई चीन प्रवेशका लागि बोर्डर पास वितरण भएसँगै अबदेखि तिब्बती बजारमा सहजै ओहोरदोहोर गर्न पाउने भएका छन् । चुमनुव्री गाउँपालिका–१ स्थित राेइला र वडा नम्बर ७ छेकम्पारस्थित डुइला नाका कोभिडको सङ्क्रमण सुरु भएपछि बन्द भएको थियो ।
नाका बन्द भएपछि उत्तरी गोरखाका आम नागरिकहरूलाई चीनसँगको बोर्डर नखुल्दा स्थानीयवासी मर्कामा परेको छेकेम्पारका कासम फुन्जो लामाले जानकारी दिनुभयो । उहाँका अनुसार समयमै नाका खोलेर सहज भएको छ । हामीलाई सबैभन्दा नजिक बोर्डर नै हो । त्यसमाथि त्यो नै बन्द भएपछि निकै असहज महसुस भएको थियो । अहिले हामीसँग भएका खच्चड प्रयोग गरेर यहाँका नागरिकहरूलाई आवश्याक सामान ओसारपोसार सहज भएको छ, उहाँले भन्नुभयो ।
दुई साताअघि नै चीन सरकारले नाका खुल्ला गरेर आउजाउका लागि अनुमति दिएको भए पनि चुमनुब्रीवासीले भने बोर्डर पास नहुँदा प्रवेश गर्न पाएका थिएनन् । बोर्डर पास वितरण भएपछि चुमनुब्रीवासीलाई तिब्बतका बजारमा पुगेर दैनिक उपभोग्यवस्तु खरिद गर्न सजिलो भएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
चुमनुब्रीवासीहरु तिब्बतको स्या, जोङ्गा बजार, कोङ्दाङ बजार पुगेर उपभोग्य सामग्री खरिद गर्ने गर्दछन् । चीनसँगको नाका बन्द हुँदा त्यस क्षेत्रका स्थानीयवासीले दैनिक उपभोग्य सामग्रीहरू खरिदका लागि आरुघाट बजार तथा गोरखा सदरमुकामसम्म धाउनु पर्ने बाध्यता थियो । जसका कारण ढुवानी महँगो हुने र आउजाउका लागि धेरै समय लाग्ने गरेको थियो ।