• १३ मंसिर २०८१, बिहिबार

दैनिक दाउरा बेचेर अध्ययनको जोहो

blog

कैलाश माविका छात्रहरु दाउरा बोकेर बिक्री गर्न सदरमुकाम सिमकोट जाँदै । तस्बिर : राजन रावत

राजन रावत

हुुम्ला, असोज १८ गते । हुम्लाको एक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दाउरा बेचेर अध्ययनको जोहो गर्दैआएका छन् । घरको आर्थिक अवस्था न्यून भएका कारण कापी–कलमको व्यवस्था गर्न र घरका लागि आवश्यक पर्ने खानेकुराको बन्दोबस्त गर्न विद्यार्थीले दैनिक दाउरा बेचेर बिक्री गर्नुपरेको बताउनुभएको छ ।  

सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँको कैलाश माध्यमिक विद्यालयमा अध्ययनरत छात्र  लोकेश विकले बाध्यताले दैनिक गाउँबाट सदरमुकाम सिमकोट बजारमा दाउरा बोकेर बिक्री गर्नु परिरहेको बताउनुभयो । घरको आर्थिक अवस्था कमजोर भएका कारण कापीकलम किन्नकै लागि र घरखर्च समेत जुटाउन दाउरा बोक्नु परिरहेको बताउनुभयो । उहाँले यो नगरी अन्य विकल्प नभएको बताउनुभयो । 

आमाबुवाले घरको अन्य काम गर्ने भएका कारण आफू वर्षमा कम्तीमा डेढसय दिन यसरी नै दाउरा बोकेर बिक्री गर्नेगरेको बताउनुभयो । सोही विद्यालयको कक्षा ५ मा अध्ययनरत छात्र सुरेन्द्र शाहीले दैनिक बिहान ४ देखि ५ बजे उठेर दाउराको भारी बोकेर डेढ घण्टा पैदल हिँडेर बिक्री गर्ने काम गर्नुपरेको बताउनुभयो । 

उहाँले एक भारी दाउरा बेचेको पाँचदेखि सातसय रुपियाँसम्म पाउनेगरेको बताउनुभयो । त्यसबाट कापीकलम किन्ने र केही घर खर्चका लागि प्रयोग गर्ने बताउनुभयो । आमाले घरमा काम गर्ने र अन्य आयस्रोत नभएको कारण आफूलाई यसरी दाउरा बोक्नै पर्ने परिस्थिति निर्माण भएको बताउँदै उहाँले यो नगरी आफ्नो पढाइ अघि बढाउन नसकिने बताउनुभयो । बिहान सबेरै जानुपर्ने भएको कारण ती विद्यार्थी समूह बनाएर दाउरा बिक्री गर्नेगरेका छन् ।

विद्यालयका प्रधानाध्यापक मेजबहादुर बुढाले विद्यालयमा १२६ जना छात्राहरू अध्ययन गर्दैआएको र उनीहरूमा बालबिकासदेखि कक्षा २ मा अध्ययन गर्ने बाहेक अन्य सबै कक्षाका अधिकांश छात्राहरूले यसरी दैनिक दाउरा बोक्नेगरेको बताउनुभयो । 

उहाँले बनबाट ल्याएर जम्मा गरिएका दाउरा विद्यार्थीले बिहान बोकेर सिमकोट बजारमा बिक्री गरी फर्केर ९ देखि ९ः३० बजे घरमा पुगेर खाना खाएर विद्यालयमा पुग्नेगरेको बताउनुभयो । उहाँले विद्यार्थीले यसरी दाउरा बोक्ने काम एक वर्षमात्र नभएर बर्सेनि बोक्ने गर्दैआएको बताउनुभयो ।  विद्यार्थीले यसरी परिश्रम गर्नु मुख्य कारण गरिबी भएको बताउँदै उहाँले यसले पढाइलाई बाधा पुग्नेगरेको बताउनुभयो ।