सिराज खान
नेपालगन्ज, जेठ २ गते । बाँके जिल्लाबाट यस वर्ष हज गर्न साउदी अरेबियाको मक्का मदिनामा १५५ जना मुस्लिम धर्मावलम्बी जाने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । प्रयाप्त धन सम्पत्ति हुने मुस्लिमका लागि जीवनमा एक पटक हज गर्नु अनिवार्य धार्मिक पाँच कार्य मध्ये एक हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार यस वर्ष बाँकेबाट हज गर्न जानेमध्ये ७६ जना महिला र ७९ जना पुरुष छन् । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बाँके जिल्लाबाट यसपटक १५५ जना मुस्लिमले हज गर्ने अवसर पाएको जानकारी दिनुभयो ।
बाँके जिल्लाका हजयात्रीको काठमाडौँबाट जेठ ५ गते साउदी अरबका लागि हवाई उडान हुने भएकोले केन्द्रीय हज समितिले जेठ ३ गतेसम्म काठमाडौं पुग्न सबै हज यात्रीलाई अनुरोध गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सोही कारणले अहिले हजयात्रामा जानेलाई विभिन्न सङ्घसंस्था तथा आफन्तजनले बिदाई तथा शुभकामना दिने कार्यक्रम चलिरहेका छन् ।
नेपालगन्जबाट हज गर्न जानेलाई विभिन्न राजनीतिक दल, वडा कार्यालय तथा पेसागत सङ्घसंस्थाले शुभकामना दिइरहेको हज समितिका केन्द्रीय सदस्य अलिम हलवाईले बताउनुभयो ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले हजयात्रुको सफल यात्रा तथा सुस्वास्थ्यको कामना गर्दै हजको आध्यात्मिक महत्त्व र सामाजिक सद्भाव सुदृढ गर्न यो अवसर महत्त्वपूर्ण हुने बताउनुभयो ।
केन्द्रीय हज समितिका अनुसार पहिलो चरणमा जेठ तीन गते शनिबार ५५ जना हज यात्री, एक जना दूतावासका प्रतिनिधि र दुई जना हज समितिका सदस्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी अरेबिया प्रस्थान गर्ने छन् ।
दोस्रो चरणमा जेठ ४ गते आइतबार ११८ जना यात्रु, एक जना दुतावासका प्रतिनिधि र एक जना हज समिति सदस्य साउदी अबर जानेछन् । त्यसपछि जेठ ५, ६, ७ र ८ गते थप हाजीहरू साउदी अरेबिया जाने कार्यतालिका रहेको छ ।
समितिका अनुसार यस वर्ष देशभरबाट दुई हजारभन्दा बढीले हज यात्राका लागि आवेदन दिएकोमा एक हजार १७१ जनाले मात्र हजमा जाने अनुमति पाएका छन् । उनीहरू ११ चरणमा जेठ तीन गतेदेखिदेखि आठ गतेसम्म काठमाडौँबाट सिधै साउदीको जेद्दातर्फ जाने छन् । उनीहरू हज सम्पन्न गरेर असार ६ गते देखि ११ गते सम्म स्वदेश फर्किने छन् । यस वर्ष प्रति यात्री हज खर्च तीन लाख ७० हजार रुपियाँ लागेको हज समितिले जनाएको छ ।