• ४ जेठ २०८१, शुक्रबार

जलजला जङ्गलमा भेटियो दुर्लभ रेडपाण्डा

blog

म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङस्थित जलजला क्षेत्रको जङ्गलमा देखिएको रेडपाण्डा । तस्बिर सौजन्य : सुवास थापा

साधन घर्ती

म्याग्दी (दरबाङ), असोज १८ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–२, स्थित जलजला जङ्गलमा दुर्लभ जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । लुलाङको जलजला क्षेत्रको धन्सेमाने जङ्गलभित्र रुखमा खेल्दै रमाइरहेको अवस्थामा रेडपाण्डा भेटिएको मरेनीका स्थानीय सुवास थापाले बताउनुभयो ।

‘‘केही दिनअघि जङ्गलमा च्याउ टिप्न गएको समयमा जलजला क्षेत्रको धन्सेमाने जङ्गलभित्र करिब २५ मिटर टाढा रुखमा खेल्दै रमाइरहेको अवस्थामा रेडपाण्डा देखिएको हो । विश्वमै दुर्लभ मानिएको जनावर देखेर भिडियो बनाउने क्रममा हामीलाई देखेपछि भाग्यो’’ उहाँले भन्नुभयो ।

थापाले खिच्नुभएको करिब २ मिनेट १२ सेकेन्डको भिडियोमा लजालु स्वभावको रेडपाण्डाले पैदल यात्रीलाई देखेर रमाइरहेको देख्न सकिन्छ । उहाँका अनुसार तीन वर्ष पहिले पनि सोही जङ्गलमा त्यस्तै रेडपाण्डा भेटिएको थियो । 

वडा १ गुर्जा र २ लुलाङको जङ्गलमा रहेका रेडपाण्डाको गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको छ । सर्वसाधारणले रेडपाण्डाको भिडियो खिचेपछि धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले रेडपाण्डाको संरक्षणमा पालिकास्तरबाटै सचेतनामूलक अभियान सञ्चालन गरिने बताउनुभयो । 

‘‘म्याग्दीको जलजला क्षेत्रको जङ्गलमा रहेका रेडपाण्डाको संरक्षण गर्न स्थानीय समुदायलाई सक्रिय बनाउँछौँ’’ उहाँले भन्नुभयो, ‘‘दुर्लभ जनावरको संरक्षण गर्न सकेमा अध्ययन तथा अनुसन्धानका लागि गन्तव्य बनाउने मौका पनि हो ।’’

विश्व वन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले गरेको अध्ययनका क्रममा समुदायस्तरमा गरिएको अभियान प्रभावकारी भए पनि नियमित कार्यक्रम नहुँदा समस्या भएको छ । करिब ७ वर्ष विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो ।

लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जङ्गलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको वासस्थान फेला परेको अनुसन्धानकर्ता बन्द्री पाण्डेले बताउनुभयो ।

तत्कालीन समयमा रेडपाण्डाको महत्वबारेमा वडा १ गूर्जा र लुलाङका विद्यार्थी, समुदायलाई समेत सचेतनामूलक कार्यक्रम गरी जानकारी गराइएको थियो ।


रातको समयमा रूखको टोड्कामा बास लिने र दिउँसो रूखको हाँगामा बसी आराम गर्ने, भोक लागेका बेला निगालोको टुसालगायत झारपात खान भुईँमा झर्नेगरेको रेडपाण्डाको महत्वबारेमा जानकारी पाएपछि चोरी निकासी कम भएको छ । 

रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा र लुलाङको जङ्गलमा पर्याप्त छ । समुन्द्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।