हरिप्रसाद कोइराला
उर्लाबारी, असोज १८ गते । मोरङको लेटाङ–२ पैतीसबिघेमा नेपालकै पहिलो स्वचालित बिद्युत सबस्टेसन निर्माण हुनेभएको छ । लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती र नेपाल विद्युत प्राधिकरण कोशी प्रादेशिक कार्यालय, विराटनगरका प्रमुख उमेशकुमार झाले संयुक्त रूपमा सब-स्टेसनको शिलान्यास गर्नुभयो ।
नेपाल बिद्युत प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालय, विराटनगरका प्रमुख उमेशकुमार झाका अनुसार एक बिघा जग्गामा लेटाङमा निर्माण हुने नेपालकै पहिलो मानवरहित सब-स्टेसन हुनेछ ।
६–८ एमभीए क्षमताको सब-स्टेसन निर्माणका लागि सोहन कन्स्ट्रक्सन र जयदुर्गे निर्माण सेवाले काम गरिरहेका छन् । झाले भन्नुभयो, “करिब १७ करोडको आयोजना हो । जसमध्ये ट्रान्समिसन लाइनको काम सोहन कन्स्ट्रक्सने गरिरहेको छ । सब-स्टेसन निर्माणको काम जयदुर्गे निर्माण सेवाले गरिरहेको छ ।”
२०८१ सालको मङ्सिरसम्ममा दुवै कामका ठेकदार कम्पनीले सक्नेगरी सम्झौता भएको कार्यालय प्रमुख झाले बताउनुभयो । ट्रान्समिसन लाइनको काम १० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको कार्यालय प्रमुख झाको भनाइ छ । केरौन चौकबाट लेटाङको सबस्टेसन निर्माण हुने स्थानसम्मको १८ किलोमिटर क्षेत्रमा ६–८ एमभीए विद्युत प्रसारण गर्ने पोल गाड्ने काम सकिएको छ ।
केरौन चोकबाट कानेपोखरीसम्म र कानेपोखरीबाट लेटाङको कमलपुर पोल गाड्ने काम सकिएको छ । अब तार टाङ्ने काम सुरु हुन्छ, उहाँले भन्नुभयो । मोरङको कानेपोखरी–२ केरौनमा प्राधिकरणले १३७–१११ एमभीए क्षमताको स्टेसन निर्माण गरिसकेको छ ।
सोही केन्द्रबाट विराटचोक, लेटाङ र रङ्गेलीमा विद्युत वितरण गरिनेछ । यता लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीले महत्त्वाकाङ्क्षी योजना भएकाले निर्माणका क्रममा सहयोग गर्न नगरवासीसँग आग्रह गर्नुभयो ।
लावतीले भन्नुभयो, “निर्माणका क्रममा कुनै समस्या आए तत्काल राजनीतिक दलको छलफलबाट समाधान निकालिने छ । सब-स्टेसन निर्माण भएपछि कम भोल्टेजको समस्या स्थायी रूपमा समाधान हुने दाबी गरिएको छ ।