आजको २१ औँ शताब्दीलाई डिजिटल क्रान्तिको युग भनेर चिनिन्छ । इन्टरनेट, स्मार्टफोन, कृत्रिम बौद्धिकता, क्लाउड कम्प्युटिङ, सामाजिक सञ्जाल र डिजिटल सेवाहरूको विस्तारले विश्वभरि समाजको संरचना, व्यवहार, सम्बन्ध, कार्यशैली र सोचाइमा आमूल परिवर्तन ल्याइरहेको छ । डिजिटल क्षेत्रमा भएको व्यापक प्रगतिले आश्चर्यजनक सुविधा र अवसर सिर्जना गरिरहेको छ ।
डिजिटल प्रविधिले गर्दा आजको युगमा नयाँ ज्ञान र सूचनासम्मको पहुँच सहज, सरल र सजिलो भएको छ । इन्टरनेटले आज हरेक व्यक्तिलाई सूचनाको समुद्र उपलब्ध गराएको छ । पहिले पहिले ज्ञान प्राप्त गर्न पुस्तकालय वा विशेषज्ञ खोज्नु पथ्र्यो । अहिले हातमै गुगल, च्याट जिपिटी, अनलाइन जस्ता लर्निङ प्लेटफर्मले केही सेकेन्डमै खोजेको विषयवस्तुको उत्तर पाइन्छ । विद्या, अनुसन्धान, सिप र टेक्नोलोजीको स्रोत अब विश्वभरबाट निशुल्क तथा कम लागतमै उपलब्ध छन् । डिजिटल प्रविधिले हरेक क्षेत्र जस्तै उद्यमशीलता, शिक्षा, रोजगार, प्रशासन, स्वास्थ्य कृषि जस्ता क्षेत्रमा आमूल परिवर्तन ल्याइदिएको छ । डिजिटल अर्थतन्त्रले नयाँ प्रकारको रोजगारी र उद्यमशीलताको पनि सिर्जना गरेको छ । फ्रिलान्सिङ, डिजिटल मार्केटिङ, ई कमर्स, अनलाइन व्यापार जस्ता क्षेत्रमा लाखौँ रोजगारी सिर्जना भइरहेको छ । युट्युब, टिकटक, फेसबुक जस्ता प्लेटफर्मले युवालाई आम्दानीको वैकल्पिक बाटो खोली दिएको छ । नेपालमै पनि घरमै बसेर अन्तर्राष्ट्रियस्तरमा काम गर्न सकिने सम्भावना बढेको छ ।
सरकारी सेवामा पारदर्शिता र सहजता बढेको छ । ई गभर्नेन्स, अनलाइन कर तिर्ने प्रणाली, नागरिकता, पञ्जिकरणसम्बन्धी डिजिटल प्रणालीले सरकारी सेवाको पारदर्शिता र कार्यक्षमतालाई बढाइदिएको छ । सार्वजनिक खरिद, अनुदान, भुक्तानी प्रणालीमा डिजिटल प्रविधिले भ्रष्टाचार घटाउने ठुलो सम्भावना बोकेको छ । डिजिटल नेपाल अभियान अन्तर्गत प्रशासनिक प्रणालीलाई आधुनिक बनाउने प्रयास जारी छ । डिजिटल सरकारले घण्टाैँ लाइन बस्नुपर्ने झन्झट हटाएको छ । नागरिकता, पासपोर्ट, जग्गा दर्ता, कर तिर्नेलगायत धेरै सेवामा अनलाइन प्रणाली सुरु भइसकेका छन् । यसले परदर्शिता, दक्षता र सुशासनलाई मजबुत बनाउँदै गइरहेको छ ।
स्वास्थ्य क्षेत्रको रूपान्तरणमा पनि डिजिटल प्रविधिले तीव्रता ल्याएको छ । टेलिमेडिसिनले दुर्गम क्षेत्रमा पनि विशेषज्ञ डाक्टरसँग परामर्श सम्भव बनाएको छ । एआईले गर्दा रोग पहिचान, ई हेल्थ रेकर्ड, डिजिटल रिपोर्ट, अनलाइन अपोइटमेन्ट, एक्सरे विश्लेषण, महामारी पूर्वानुमान जस्ता काम अझै छिटो र वैज्ञानिक बनेका छन् ।
डिजिटल प्रविधिले गुणस्तरीय शिक्षामा पनि समान पहुँच पु¥याइदिएको छ । अनलाइन कक्षा, डिजिटल सामग्री, विश्वभरिका अनलाइन कोर्स, ई लर्निङ, भिडियो लेक्चर, भर्चुअल ल्याबको प्रयोगले शिक्षालाई भौगोलिक सीमाभन्दा धेरै माथि उठाएको छ । एआईमा आधारित ट्युटरिङ जस्ता सुविधाले विद्यार्थीलाई विश्वस्तरीय ज्ञान घरमै बसेर सिक्ने अवसर दिएको छ । डिजिटल शिक्षण विधिले शिक्षालाई व्यक्तिगत, रोचक र पहुँचयोग्य बनाएको छ । साँच्चै नै डिजिटल प्रविधि अन्तर्गत सामाजिक सञ्जालले विश्वलाई ग्लोबल भिलेज बनाइदिएको छ । अन्तर्राष्ट्रिय संस्कृति, भाषा, विचार र प्रविधिसँग द्रुत रूपमा सम्पर्क स्थापित भएको छ । एआई र डेटा विश्लेषण प्रयोग गरेर विद्यार्थीको स्तर अनुसार सामग्री, अभ्यास र सिकाइ निर्धारण गर्न सकिने भएकाले प्रभावकारी शिक्षा सम्भव भएको छ । अब शिक्षा विद्यालयका कक्षाकोठामा मात्र सीमित नभएर कुनै पनि उमेरका व्यक्तिले भाषा, प्रोग्रामिङ, व्यवसाय, सिप विकास डिजिटल प्लेटफर्मबाट सजिलै सिक्न सम्भव भएको छ ।
बैङ्किङ तथा वित्तीय क्षेत्र डिजिटल क्रान्तिको केन्द्र बनेको छ । यस क्षेत्रमा डिजिटल प्रविधि सबैभन्दा द्रुत गतिमा फैलिएको छ । ई सेवा, खल्ती, कनेक्ट आइपिएस, क्युआर पेमेन्ट, मोबाइल बैङ्किङ, डिजिटल वालेट जस्ता सेवाले लेनदेनलाई झनै छिटो, छरितो, पारदर्शी र सुरक्षित बनाएको छ । यसले नगदविहीन संस्कृतिको विकास गरिरहेको छ । डिजिटल सोच भएका युवापुस्ताले टेक स्टार्टअप, आइटी सेवा, सफ्टवेयर विकास, डिजिटल मार्केटिङ, फर्म जस्ता क्षेत्रमा विस्तार गरिरहेका छन् ।
कृषि क्षेत्रमा डिजिटल प्रविधिले नवप्रवर्तनको आयाम थपेको छ । नेपालको कृषि देशको आर्थिक विकासको एक महत्वपूर्ण मेरुदण्ड पनि हो । स्मार्ट कृषि प्रविधिले कृषिमा खेतीका सबै चरणमा माटो परीक्षण, मौसस पूर्वानुमान, बाली व्यवस्थापन, सिँचाइ, रोग तथा किराको पहिचान, कटानी, भण्डारण, बजार व्यवस्थापनलाई वैज्ञानिक बनाएको छ । किसानले मोबाइलमार्फत बजार मूल्य, बिउबीजनसम्बन्धी जानकारी, सरकारी अनुदान र तालिमबारे सजिलै थाहा पाउन थालेका छन् । ड्रोनमार्फत मल छर्किने, भूमि नाप्ने, बाली निरीक्षण गर्ने प्रविधि विकसित देशमा प्रयोग भइरहेकाले नेपालमा पनि विकास र विस्तारको प्रचुर सम्भावना छ ।
डिजिटल प्रविधिले विश्वभरि सूचना, सञ्चार, व्यवसाय मात्र होइन, मनोरञ्जन क्षेत्रलाई पनि पूरै परिवर्तन गरिदिएको छ । अहिलेको मनोरञ्जन केवल समय काट्ने माध्यम मात्र होइन, सामाजिक परिवर्तन, आर्थिक अवसर, सांस्कृतिक आदानप्रदान र सिर्जनात्मक उद्योगको बलियो स्तम्भ बनेको छ । डिजिटल प्रविधिको विकाससँगै मनोरञ्जन क्षेत्र विश्वकै सबैभन्दा छिटो बढ्ने उद्योगमध्ये एक भएको छ । सिर्जनशीलता प्रदर्शन गर्ने सहज प्लेटफर्म बनेको छ ।
डिजिटल मनोरञ्जनले परम्परागत कला, संस्कृतिलाई पनि क्षणभरमै विश्वभर पु¥याएको छ । डिजिटल प्रविधिले यति मात्र होइन मानव जीवनका हरेक क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलेको छ । सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मले सन्देश, विचार, कला, संस्कृति, व्यवसाय अभियान विश्वभर पु¥याउने अवसर दिएको छ । स्वास्थ्य, शिक्षा, अधिकार, रोकथाम, सहायक कार्यक्रम जस्ता जनचेतना फैलाउन सजिलो भइरहेको छ । डिजिटल प्लेटफर्म फेसबुक, टिकटक, युट्युबमार्फत नेपाली संस्कृति, नृत्य, परम्परा, परिकार, कला र संकृतिको प्रवर्धन गर्न सहज र सजिलो भएको छ । यसले सांस्कृतिक पर्यटनलाई पनि बलियो बनाएको छ ।
डिजिटल प्रविधि अवसरको एक महासागर नै हो तर यसलाई समुचित ज्ञान र जिम्मेवारी उपयोद्वारा मात्र वास्तविक सफलता प्राप्त गर्न सकिन्छ । आजको दुनियाँ सूचना–प्रविधि र डिजिटल नवप्रवर्तनको तेज गतिमा अघि बढिरहेको छ । प्रशासन, शिक्षा, स्वास्थ्य, व्यवसाय, सञ्चार मनोरञ्जनदेखि न्यायिक प्रणालीसम्म सबै क्षेत्रमा डिजिटल परिवर्तन तीव्र गतिमा फैलिँदै गएको छ । डिजिटल प्रविधिले मानिसको जीवन सहज बनाइदिएको छ । अवसर बढाइदिएको छ । पारदर्शिता र सुशासनलाई बलियो बनाएको छ तर यसको प्रयोगमा चुनौती पनि उत्तिकै गम्भीर रूपमा देखा पर्दै छन् । नेपाल जस्तो विकासशील राष्ट्रका लागि त यी चुनौती अझ महत्वपूर्ण र बहुआयामिक छन् ।
नेपालमा डिजिटलसम्बन्धी सबैभन्दा ठुलो चुनौती नै पर्याप्त र भरपर्दो पूर्वाधारको अभाव हो । ग्रामीण तथा दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच कम छ । उपलब्ध इन्टरनेट पनि कम गति, उच्च शुल्क र अस्थिर गुणस्तरको हुन्छ । आधुनिक टावर, फाइबर नेटवर्क, डाटा सेन्टर, अत्याधुनिक हार्डवेयर जस्ता आधारभूत संरचना अझै देशभर पु¥याउन चुनौतीपूर्ण छ । डिजिटल साक्षरता राष्ट्रको डिजिटल भविष्यको मेरुदण्ड हो । डिजिटल प्रविधिबारे पर्याप्त ज्ञान नहुँदा धेरै मानिस सेवाबाट वञ्चित भइरहेका छन् । डिजिटलाइजेसन बढेसँगै साइबर अपराधको खतरा बढेको छ । डिजिटल प्लेटफर्ममा अफवाह, भ्रम राजनीतिक प्रचार, झुटो सामाचार, हानिकारक सामग्री, अश्लील सामग्री, एकअर्काको व्यक्तिगत जीवनको गोपनीयता भङ्ग जस्ता क्रियाकलाप द्रुत गतिमा फैलिरहेका छन् । यति मात्र होइन डिजिटल पहुँचमा असमानता, साइबर सुरक्षाको बढ्दो जोखिम, डिजिटल साक्षरताको कमी, गोपनीयता र डाटा सुरक्षामा कठिनाइ, टेक्नोलोजीमा अत्यधिक निर्भरता, रोजगारीमा समस्या जस्तै डिजिटल अर्थतन्त्रले धेरै नयाँ अवसर सिर्जना गरे पनि पुराना सिप भएका मानिसहरू प्रतिस्पर्धामा पछि पर्ने सम्भावना, पूर्वाधार र लागतको चुनौती, नीतिगत अस्पष्टता र नियमनको अभाव, सामाजिक तथा मनोवैज्ञानिक प्रभाव डिजिटल प्रविधिका चुनौती हुन् । नेपाल जस्तो विकासशील राष्ट्रका लागि डिजिटल प्रविधि अवसर र चुनौती दुवै हो । सही नीति, पूर्वाधार र मानव स्रोत विकासमा ध्यान दिन सकियो भने डिजिटल नेपाल सम्भव छ । समृद्ध नेपालको यात्रामा यसले पक्कै पनि निर्णायक भूमिका खेल्न सक्छ ।