काठमाडौँ, पुस ६ गते । जीवन विज्ञानका संस्थापक सद्गुरुद्वय एलपि भानु शर्माले नेपालले सनातनदेखि अभ्यास गर्दैै आएको ध्यानको विधिलाई प्रयोगपरक र वैज्ञानिक तवरबाट समग्र मानव स्वास्थ्य तथा विश्वकल्याणका लागि अपरिहार्य अभ्यास भएको बताउनुभएको छ ।
संयुक्त राष्ट्र संघ भवन न्युयोर्कमा आयोजित दोस्रो विश्व ध्यान दिवसका अवसरमा आयोजित एक विशेष कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले नेपालको सनातन आध्यात्मिक पहिचानलाई विश्वसमक्ष प्रस्तुत गर्नुभएको छ ।
सद्गुरु शर्माले नेपालले ध्यानका क्षेत्रबाट विश्वलाई नेतृत्व दिन सक्ने गरी अभ्यास गराउने संस्था तथा प्रशिक्षकहरु तयार गरिसकेको जानकारी गराउनुहुँदै हरेक सहयोगका लागि नेपाल तयार रहेको बताउनुभयो ।
समारोहमा विभिन्न राष्ट्रबाट कुटनीतिज्ञ, आध्यात्मिक संस्थाका प्रतिनिधि संयुक्त राष्ट्र संघका कर्मचारी तथा विभिन्न देशबाट अमेरिकामा आई विभिन्न आध्यात्मिक संस्थामा संलग्न सहभागीकासहित करीब सात सय जनाको उपस्थिति रहेको थियो ।
साथै समारोहमा जीवन विज्ञान गुरूकूलका संरक्षक गुरूमा देवी शर्मा पनि सहभागी हुनुहुन्थ्यो ।

यसैगरी, सद्गुरु रमेश नेपालले सहभागीहरुलाई ध्यानका गहिरा विधिका सैद्धान्तिक जानकारी दिनुहुँदै व्यावहारिक अभ्यास गराउनुभयो । सद्गुरु शर्माले ध्यानका विविध पक्ष र व्यक्तिको समग्र रुपान्तरणमा ध्यानको वास्तविक प्रभावबारे विश्लेषण गर्नुभयो ।
नेपालसहित विश्वका ६ मुलुकले डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रुपमा घोषणा गर्न संयुक्त राष्ट्र संघमा गत वर्ष प्रस्ताव गरेअनुसार सन् २०२४ को फ्रेबुअरीमा संयुक्त राष्ट्र संघको महासभाले डिसेम्बर १ लाई विश्व ध्यान दिवस घोषणा गरेको हो । नेपालका तर्फबाट जीवन विज्ञानले पहिलोपटक भाग लिएको यस समारोहमा जीवन विज्ञानका तर्फबाट अमेरिकामा रहेका प्रशिक्षक तथा साधकसहित करीब एक सय जनाको सहभागिता रहेको थियो ।
यसैबिच विश्व ध्यान दिवसका अवसरमा आगामी डिसेम्बर २१ तरिख आइतबार नेपालका विभिन्न प्रदेश तथा नेपालबाहिर ३५ देशका राजदूताबासहरुमा जीवन विज्ञानका प्रशिक्षकबाट सामूहिक ध्यान गराउने कार्यको तयारी पूरा भएको जीवन विज्ञानले जनाएको छ ।