• २१ वैशाख २०८१, शुक्रबार

१९औं एसियाली खेलकुद

भारोत्तोलनमा विशालको दुर्लभ राष्ट्रिय कीर्तिमान

blog

भारोत्तोलनमा प्रतिस्पर्धा गर्दै नेपालका विशालसिंह विष्ट । तस्बिर : सौजन्य लोकेन्द्रकुमार बस्नेत (राखेप) ।

हाङझाउ, असोज १८ गते । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड)को भारोत्तोलन खेलमा नेपालका विशालसिंह विष्टले बिहीबार दुर्लभ  राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।

चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा बिहीबार भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले तीन राष्ट्रिय कीर्तिमानसहित कुनै पनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३०१ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि स्थापित गर्नुभयो । 

यसअघि कुनै पनि नेपाली भारोत्तोलकले कुनै पनि तौलसमूहमा जम्मा तीन सय केजीसम्मको भार वहन गर्न सकेका थिएनन् । विशालले स्न्याचमा १३३ केजी, क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गर्नुभयो । 

स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ केजी र कुलमा २९१ केजीको राष्ट्रिय कीर्तिमान विशालकै नाममा थियो । उहाँले उक्त कीर्तिमान केही साताअघि रियादमा भएको विश्व भारोत्तोलन च्याम्पियनसिपमा बनाउनुभएको थियो । स्न्याचमा भने विशालले दोस्राे लिफ्टमा नै १२७ केजी तौल उठाउँदै राष्ट्रिय कीर्तिमान स्थापित गरिसक्नुभएको थियो । 

पहिलो लिफ्टमा विशालले १२१ केजी तौल उचाल्नुभएको थियो । त्यस्तै क्लिन एन्ड जर्कमा विशालले पहिलो लिफ्टमा १६१ केजी वजन उठाउनुभएको थियो । 

दोस्राे लिफ्टमा विशालले १६८ केजी वजन उचालेर राष्ट्रिय कीर्तिमान रचेपछि तेस्राे लिफ्टमा कीर्तिमान सुधार गर्ने प्रयासमा १७५ केजी तौल लोड गर्न लगानुभएको थियो ।  त्यसमा भने उहाँ सफल हुनुभएन । 

नेपालबाट पाँच खेलाडी सहभागी भारोत्तोलनमा अब शनिबार नेपालका सागर भण्डारीले १०९ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने नेपाली टिमका व्यवस्थापक एवं नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जानकारी दिनुभयो ।