• १४ मंसिर २०८१, शुक्रबार

अधिवेशनमा प्यानलगत उम्मेदवारी छैन : सचिव विष्ट

blog

नेकपा (एमाले) का सचिव गोकर्ण बिष्ट । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, असोज १८ गते । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले पार्टीको गण्डकी प्रदेश प्रथम अधिवेशनमा प्यानलगत उम्मेदवारी नरहेको बताउनुभएको छ । उहाँले प्यानलगत उम्मेदवारी सञ्चारमाध्यमले बनाइदिएको भन्दै सङ्गठनको नेतृत्व गर्ने चाहना हुने व्यक्तिहरूले मात्रै उम्मेदवारी दिनुभएको प्रष्ट पार्नुभयो । 

व्यक्तिगत हिसाबले आफ्ना उम्मेदवारीहरू प्रस्तावक र समर्थकसहित दिएको कुरालाई प्यानलगत भन्न नमिल्ने उहाँको भनाइ छ । उहाँले सहमतिको प्रयास आफूहरूले गरे पनि अब निर्वाचनमै जाने स्थिति देखिएको बताउनुभयो । अहिले पार्टीभित्र वैचारिक मतभिन्नता नरहेको उहाँको भनाइ छ । जिम्मेवारीका बेलामा धेरै आकंक्षीहरुको बिचमा प्रतिष्पर्धा हुनेकुरा स्वाभाविक भएको उहाँले बताउनुभयो ।

त्यस्तै अध्यक्ष पदका प्रत्याशी मायानाथ अधिकारीले कार्यकर्ता र नेताहरूले नै अध्यक्षको लागि योग्य भनेपछि आफू उम्मेदवार बनेको बताउनुभयो । आफूले आफूलाई सहमति गर्न र नसके अर्को सबैले मान्ने व्यक्तिलाई सहमति गर्न आग्रह गरे पनि सफल हुन नसकेको बताउनुभयो । उहाँले सहमति गरेर अघि गए आफू पछि हट्न समेत तयार रहेको बताए पनि सफल हुन नसकेको चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जिल्लातिरका धेरै अगुवा साथीहरूले र कतिपय नेताले पनि पोलिटब्युरो सदस्य तपाई पहिला नै हुनुपर्ने हो, विभिन्न कारणले बनाउन सकिएन, अब पार्टीले पोलिटब्युरो सदस्य बनाएको छ, त्यो उपयुक्त पद हो भन्नुभएको छ ।’

त्यस्तै, अर्का अध्यक्ष पदका उम्मेदवार नवराज शर्माले एक पूर्ण कार्यकाल सङ्गठनको नेतृत्व गर्ने चाहनाअनुसार आफूले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले यसलाई नेताहरूसँग जोडेर बुझ्न नहुने बताउनुभयो । उहाँले सहमतिका निम्ति प्रयत्न गरे पनि सफल हुन नसकेको बताउनुभयो ।

मीनप्रसाद गुरुङ र बाबुराम विकले उपाध्यक्षमा उम्मेदवारी दिँदा धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा उम्मेदवारी दिनुभएको छ । सहसचिवमा अर्जुनकुमार सुनाम, दामबहादुर बिक र सन्तोष रावल, सहसचिव महिलातर्फ मञ्जु अधिकारी र मिना गुरुङले उम्मेदवारी दिनुभएको छ । अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९०७ प्रतिनिधि छन् । कास्कीबाट सबैभन्दा धेरै १४६ र मनाङबाट सबैभन्दा कम १४ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन् । १६५ सदस्यीय प्रदेश कमिटीको लागि ३८२ जनाको उम्मेदवारी परेको छ ।