• ३१ वैशाख २०८२, बुधबार

पर्यटक आकर्षित गर्न वृन्दावन निर्माण

blog

दोलखा समाचारदाता 

दोलखा, असोज १८ गते । दोलखाको भीमेश्वर नगरपालिका–४, जिलुमा रहेको धार्मिक वनको घैयाखोरियामा वृन्दावन निर्माण गरिएको छ । यहाँ रहेका पौराणिक चिह्न र सुन्दर ठाउँलाई जोगाइराख्न वृन्दावन निर्माण गरिएको समाजसेवी केशवराज चौलागाईंले जानकारी दिनुभयो । 

यहाँ रहेको चार हेक्टर धार्मिक वनभित्र महाभारतकालीन केही चिह्न र दरबारका भग्नावशेष पनि भेटिन्छन् । महाकाली भगवती मन्दिर पनि छ । ओढारमा प्राकृतिक रूपमा बनेको पाइला आकारको आकृति पाँच पाण्डव भीमसेनको रहेको विश्वास गरिन्छ । 

यो ठाउँलाई ऐतिहासिक एवं पौराणिक हिसाबले खोजबिन गरिनुपर्ने जिलु मोहोरिया भीमेश्वर नित्य पूजा गुठीका सञ्चालक विष्णु श्रेष्ठले बताउनुभयो । 

यो ठाउँलाई मातातीर्थधाम पनि बनाउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “यहाँको सुनखानी, गगरजुला, डोक्पारलगायतका स्थानमा खेत र बारी पनि छ । गुठीको नाममा जग्गा रहेको छ भने मोहीले कमाएबापत कुत बुझाउनुपर्ने रीत अझै पनि रहेको छ ।” 

यो गुठीले भीमेश्वर मन्दिर पूजाका लागि १० मुरी धान, २२ माना तेल, एक पाथी घिउ, फूल, फलफूल, १० वटा पालालगायतका सामग्री दिनु पर्छ । विसं १९८४ को सम्झौता अनुसार बोकाका लागि दुई पाथी, राँगाका लागि चार पाथी, १० पाथी धानका लागि एक रुपियाँ र तेलका लागि २५ पैसा बुझाउनुपर्ने पनि सञ्चालक श्रेष्ठले बताउनुभयो । 

यो स्थललाई पर्यटकीय स्थल बनाउन नगरपालिका र प्रदेश सरकारको ८६ लाख रुपियाँमा महाकाली भगवतीको मन्दिर, राधाकृष्णको मूर्ति, पिकनिक स्थल, सिँढी, प्रवेशद्वार निर्माण भएको छ भने सडक सञ्जाल पनि जोडिएको छ । विद्युतीकरण र पानीको व्यवस्था तत्काल गर्नुपर्ने स्थानीय बताउँछन् । बजेट अभावले गुरुयोजना अनुसारको आठ करोड रुपियाँको काम 

हुन बाँकी रहेको छ ।  

गुरुयोजना अनुसार यहाँ मुख्य द्वारको बायाँपट्टिबाट गोलाकारमा पिकनिक स्थल, पार्क, पानी ट्याङ्की, क्याफेटेरिया, महाँकाल भगवती मन्दिर जाने बाटो, गोवर्धन पार्क, गुफा निर्माण हुने छन् । त्यसै गरी गोलाकारमा भ्यु डेक, राधाकृष्ण मन्दिर, पोखरी, पिकनिक स्थल, सार्वजनिक शौचालय, थिएटर, रथ मूर्ति भएर मुख्य द्वारमा जोडिने छ । यसबाट पर्यटकको मन जित्नुका साथै आयआर्जनका बाटो खोलिने अपेक्षा राखिएको छ ।