• १२ मंसिर २०८१, बुधबार

सद्भाव नै एकताको आधार

blog

प्रविधिमा सहज पहुँच र इन्टरनेट विस्तारले पछिल्लो समय विश्व साँघुरिँदै गएको छ । विश्वको कुनै पनि कुनामा भएको कुनै पनि घटनाबारे जानकारी अहिले सिधैँ सोही समयमा पाउन सकिन्छ । 

इन्टरनेटको विस्तारले गर्दा अहिले सामाजिक सञ्जाल सर्वाधिक लोकप्रिय बन्दै गएको हो । साथीभाइसँग निकट हुन, आफ्ना भावना अरूसम्म पुर्‍याउन मात्र नभएर सूचनाको प्रभावकारी माध्यमका रूपमा पनि अहिले फेसबुक, टिकटक, ह्वाट्सएप, ट्विटर जस्ता सामाजिक सञ्जालको भूमिका महत्वपूर्ण देखिएको छ । सहरदेखि ग्रामीण क्षेत्रका युवकयुवती मात्र नभई बालबालिका र प्रौढ अवस्थाका सर्वसाधारण पनि सामाजिक सञ्जालमा रमाइरहेका छन् ।

पछिल्लो समय आमसर्वसाधारण सामाजिक सञ्जालमा निकै व्यस्त देखिन्छन् । इन्टरनेटको सहज पहुँच बढेसँगै सामाजिक सञ्जालको प्रयोग पनि बढ्दै गएको छ तर सामाजिक सञ्जालमा राखिने सामग्री पनि सामाजिक हुन जरुरी छ भन्ने कुरा धेरैले नबुझेको जस्तो देखिन्छ । त्यहाँ राखिने सामग्री समाजले कत्तिको रुचाउँछ, त्यसले समाजलाई कति हानि गर्छ वा फाइदा पुर्‍याउँछ ? भन्ने बारेमा कतिपय गम्भीर नरहेको देखिएको छ । त्यसैले हामी तपाईंले सामाजिक सञ्जालमा राख्ने सामग्रीका बारेमा एक पटक गम्भीर भएर सोच्न जरुरी छ । समाज, देश र मानवताको हित नगर्ने सामग्री सामाजिक सञ्जालमा राख्नु हुँदैन भन्ने कुराप्रति हामी सबै समयमै गम्भीर र सचेत हुनु जरुरी छ ।

प्रविधि र इन्टरनेटको पहुँच विस्तार भएकै कारणले हाल आएर सामाजिक सञ्जालको लोकप्रियता तीव्र गतिमा बढेसँगै बढ्दै गएको यसको दुरुपयोग र त्यसका गम्भीर परिणाम पनि सार्वजनिक हुन थालेका छन् । सामाजिक सञ्जालकै दुरुपयोगका कारण समाजमा अपराध, हिंसा, ठगी, लुटपाट र मानव बेचबिखन जस्ता जघन्य घट्नाहरू दिनदिनै बढ्न थालेका छन् । राज्यले साइबर क्राइमलगायत कानुन बनाएर सामाजिक सञ्जाललाई नियमन गर्ने प्रयास गरेको देखिए पनि त्यो प्रयास प्रयाप्त हुन सकेको छैन । खासमा सामाजिक सञ्जालको प्रयोगभन्दा पनि दुरुपयोगका घटना बढ्न थालेपछि त्यसको सिधा प्रभाव समाजलाई पर्न थालेको छ । सबैभन्दा छिटो सूचना प्रवाह हुने माध्यमको रूपमा रहेको यो सञ्जालमार्फत बाहिर आएको सकारात्मकभन्दा नकारात्मक सूचना, जानकारी र टीकाटिप्पणीले समाजमा छिटो प्रभाव देखाउने गरेको छ । त्यसैले कतिपय बुद्धिजीवी र नागरिकले समय समयमा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने माग पनि गर्दै आएको देखिन्छ, सुनिन्छ । दुरुपयोग बढेकै कारणले भारतमा टिकटकमा सरकारले प्रतिबन्ध लगाएको छ भने फेसबुकलगायत अन्य सामाजिक सञ्जालमा पनि कडा निगरानी राख्ने गरिएको पाइएको छ । 

पछिल्लो समयमा आएर सामाजिक सञ्जालको व्यापकतासँगै त्यहाँ हेर्न नसकिने, सुन्न नसकिने अमर्यादित गतिविधि बढी राख्ने गरिएको पाइन्छ । नयाँ नयाँ, राम्रा र सकारात्मक विचारले भन्दा पनि एकअर्कालाई गरिने तथानाम गाली, नकारात्मक टीकाटिप्पणीले सामाजिक सञ्जाल भरिएको देखिन्छ । समाजका लागि अपच हुने शब्द, तस्बिर र भिडियोको प्रयोग त्यहाँ खुला रूपमा हुन थालेको छ । यही प्रयोगले बेला बेलामा समाजमा द्वन्द्व र अशान्ति निम्त्याउने कामसमेत गरिरहेको छ । यसको पछिल्लो र ताजा उदाहरण नेपालगन्जको घटना हो । वर्षौदेखि शान्ति र सद्भावको सहरका रूपमा परिचित नेपालगन्जमा सामाजिक सञ्जालकै दुरुपयोगका कारण अहिले क्षणिक अशान्ति उत्पन्न भएको छ । सामाजिक सञ्जालमा गरिएको नकारात्मक टिप्पणीले पार्ने प्रभाव र परिणाम थाहा नपाई त्यसो गर्दा अहिले नेपालगन्ज केही अशान्त हुन पुगेको हो तर अधिकांश सहरबासीले सामाजिक सञ्जालको दुरुपयोग गरिएको विषयलाई बुझ्दै गएकोले शान्ति र सद्भावले फेरी पनि लय समात्ने निश्चित छ । छिटै फेरि नेपालगन्ज सद्भाव र धार्मिक एकताका लागि नेपालकै नमुना सहर बन्ने छ । यहाँको धार्मिक एकता र भाइचारा विश्वमै चर्चित थियो, छ र रहिरहने छ । यो सहरको त्यो बहुमूल्य सम्पत्तिलाई जोगाउन हिन्दु, मुस्लिम, सिख, इसाई सबैले मिलेर एकअर्कासँग हातेमालो गर्दै अगाडि बढिरहेका छन् । सोही कारणले अवस्था सामान्य बन्दै गएको पनि छ । 

समाजलाई थप नकारात्मकताबाट जोगाउन सामाजिक सञ्जालको दुरुपयोग व्यक्ति स्वयम्ले रोक्न अपरिहार्य छ । सरकारले समेत यसबारेमा सचेतना अभियान सञ्चालन गर्नुका साथै अनावश्यक सामाजिक सञ्जालमाथि निगरानी राख्नु पर्छ, संयन्त्र विकास गरिनु पर्छ । हामी सबै सचेत नागरिक र राज्यले मिलेर दैनिक जसो हुने सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडा र प्रभावकारी कानुन निर्माणसंँगै तथ्यहीन कुरालाई निरुत्साहित र बहिष्कार गर्ने अभियान पनि चलाउनु पर्छ । सामाजिक सञ्जालमा हिंसाजन्य सामग्री राख्ने, त्यसको प्रयोग गरेर ठगी गर्ने, हिंसालाई प्रशय दिनेलाई तत्काल हस्तक्षेप गरेर सच्याउन लगाई जवाफदेही बनाइनु पर्छ । सामाजिक सञ्जालमा जे राखे पनि हुन्छ भन्ने सोचलाई समाप्त गर्ने गरी राज्यका निकायले काम गर्न जरुरी छ । छिटै त्यसो गर्न सकियो भने समाजलाई सही रूपमा मार्गदर्शन गर्न सकिने छ । अन्यथा नेपालगन्जमा देखिएको अशान्ति देशका अन्य सहरमा ढिलो चाँडो नदेखिएला भन्न सकिँदैन । समयमै सजग हुनु जरुरी छ । सामाजिक सञ्जालले मानव जीवनमा जति सहजता ल्याएको छ, त्योभन्दा बढी त्यसको दुरुपयोगले असहजतासमेत निम्त्याउने गरेको छ । यो तथ्यप्रति हरेक नेपाली नागरिकलाई सचेत गर्नु आवश्यक छ । स्थानीय प्रशासनले पनि हरेक जिल्लामा एउटा छुट्टै सामाजिक सञ्जाल नियमन गर्ने सेल नै गठन गरेर दिनरात त्यहाँ आइरहेका नकारात्मक विषयवस्तुबारे निगरानी गर्ने र तत्काल सच्याउन लगाउने वा हटाउन लगाउने कार्य गर्नु जरुरी देखिन्छ । नेपालगन्जको हकमा पनि समयमै सामाजिक सञ्जालमा आएको नकारात्मक टिप्पणीप्रति प्रशासनले गम्भीर भएर ध्यान दिई समयमै सच्याउन वा हटाउन लगाएको भए शायद अहिले यो अवस्था आउने थिएन । 

समाजमा विभिन्न विकृति विसङ्गति सिर्जना गर्न, जाति, धर्म, विचारविरुद्ध आमसर्वसाधारण नागरिकबिच वैमनष्यता फैलाउन सामाजिक सञ्जालले मलजल गरिरहेको पाइन्छ । सामाजिक सञ्जालमा फैलाइएका हल्ला र झुठा समाचारले सत्य र तथ्यमा आधारित समाचारलाई समेत ओझेलमा पारिदिने गरेका छन् । आमनागरिकले ती समाचारलाई सत्य ठानेर सेयर, ट्याग र ट्विट गरिरहेका हुन्छन् । कतिपय मानिसले राम्रो मनसायले ती कार्य गरेको भए पनि त्यसको परिणाम अत्यन्त खराब र घातक साबित देखिने गरेको पाइएको छ । 

नागरिकको जीवन र सम्पत्तिको रक्षा गर्ने जिम्मा सरकारको हो । सरकारले त्यसका लागि विभिन्न सुरक्षा निकायको गठन गरेर परिचालनसमेत गरेको छ । सुरक्षा निकायभित्र साइबरसम्बन्धी अपराध नियन्त्रण गर्न साइबर ब्युरो नामको बेग्लै एकाइ पनि गठन गरिएको छ तर त्यस्ता ब्युरोहरू जिल्लामा धेरै सव्रिmय रहेको पाइँदैन । सोही कारणले पनि साइबर अपराधहरू जताततै बढेको देखिन्छ, सुनिन्छ । हरेक जिल्लामा आवश्यक साधनस्रोतसहित साइबर ब्युरोलाई सक्रिय पार्न आवश्यक छ । सूचना प्रविधिको प्रयोगको फाइदा उठाउँदै सामाजिक सञ्जालको उपयोग गर्दा सबैले सचेत र सजग भएर गर्नु पर्छ भन्ने तथ्यलाई सबै नेपालीसम्म राम्रोसँग पुर्‍याउनु अहिलेको पहिलो आवश्यकता हो । 

हामी विभिन्न धर्म र सम्प्रदायका मानिस यो देशमा वर्षौंदेखि एकआपसमा अति नै मर्यादित तरिकाले सद्भाव र एकताका साथ बसोबास गरिरहेका छौँ । धार्मिक सद्भाव र एकता जति बलियो हुन्छ, त्यति नै राष्ट्रिय एकता पनि बलियो र सुदृढ हुन्छ भन्ने कुरा कहिले हामीले बिर्सन हुँदैन । बेला बेलामा बाहिरबाट छिरेको हावाले यहाँको सद्भाव र एकतालाई भाँड्ने दुष्प्रयास गर्दै आएको पाइएको छ तर त्यो प्रयास कहिले पनि सफल हुन सकेको छैन । हामी नेपालीले आफ्नो देश र समाजको हितलाई ध्यानमा राखेर सधैँ त्यस्ता दुष्प्रयासविरुद्ध एकताबद्ध भई उभिने गरेका छौँ । अहिले पनि हामी सबै धर्म र सम्प्रदायका मानिसहरू एकताबद्ध भएर आफ्नो पहिचान र विशिष्टता जोगाउने काममा लागेका छौँ । हाम्रो एकता र सद्भावले फेरि पनि विजय पाउने निश्चित छ । 

  

Author

सिराज खान