• ९ जेठ २०८१, बुधबार

बस दुर्घटनामा २१ को मृत्यु

blog

रोम,  असोज  १७ गते ।  इटालीको भेनिसमा बस मङ्गलबार राति दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा दुई जना बालबालिका छन् । 

अग्निशमनकर्ता र उद्धार दलले बसबाट शव निकालेका र आगो निभाएका थिए ।

भेनिसका एक अधिकारीका अनुसार युक्रेनीसहित विदेशी पर्यटक बोकेको बस मार्घेरा समुदाय रहेको स्थलतिर जाँदै गर्दा मेस्त्रे सहरको सडकमा दुर्घटना भएको थियो । 

भेनिसका अग्निनियन्त्रक टोली कमाण्डर माउरो लुओन्गोका अनुसार बसमा सवार यात्रुहरू आगोमा फँसेका थिए । दृश्य अति नै दर्दनाक थियो, बसबाट शव निकाल्न करिब एक घण्टा लागेको थियो ।

भेनिसको पुरानो तथा ऐतिहासिक सहरबाट नौ किलोमिटर उत्तर पश्चिममा भएको दुर्घटनामा घाइतेमध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको भेनिस सहरका अधिकारी रेनाटो बोरासोले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेलाई उपचारका लागि जिल्लाका विभिन्न पाँच अस्पतालमा पुर्‍याइएको छ । 

स्थानीय सञ्चारमाध्यमका अनुसार बस मेस्त्रेको रेल्वे ट्र्याक नजिकै दुर्घटनामा पर्दा केही तल खसी आगलागीसमेत भएको थियो ।  

“यो अत्यन्त दुःखदायी हो, तर यो कसरी भयो भन्नेबारे थाहा पाउन कठिन छ”, भेनेटो क्षेत्रका गभर्नर लुका जाइयाले भन्नुभयो, “नयाँ र विद्युतीय बस तथा समस्यारहित सडक हुँदाहुँदै पनि भएको दुर्घटनाले त्रासदी फैलिएको छ ।” रासस/एपी