• १२ मंसिर २०८१, बुधबार

सामाजिक सञ्जालबाट रूपान्तरण

blog

सूचना प्रविधिको विकासले मानिसलाई यति धेरै सहज बनाइदिएको छ कि एउटा मोबाइल फोनमै विश्व भेटिन्छ । प्रविधिकै माध्यमबाट मानिसहरू सामाजिक सञ्जालमा समेत जोडिएका छन् । यस हिसाबले हेर्दा सामाजिक सञ्जालले मानिसको जीवन सहज पनि बनाएको छ तर यसको दुरुपयोगले अति कष्ट पनि दिएको छ । जीवन नै तहसनहस भएको छ, घरपरिवार विछोडिएको छ । सामाजिक सञ्जाल अहिले सूचना वा विचार प्रवाहको सबैभन्दा भरपर्दो माध्यम बनेको छ । यसको दुुरुपयोगले धेरै अनिष्टकारी घटना घटेका छन् । हरेक कुराको सकारात्मक र नकारात्मक दुवै पाटो हुने भएकाले सामाजिक सञ्जालको पनि सदुपयोग र दुरुपयोगका विषयमा जानकार हुनै पर्दछ यसका प्रयोगकर्ता । यदि थोरै मात्र सचेत हुने हो भने सामाजिक सञ्जाल ज्ञान र सिपको अथाह स्रोत पनि बन्न सक्छ । सामाजिक सञ्जालमा राखिएका विषयलाई मानिसले आफूलाई आवश्यकता अनुसार ग्रहण गर्ने र अनावश्यक विषयमा प्रवेश नगर्ने हो भने यसले जीवन नै परिवर्तन गरेका उदाहरणहरू छन् । 

यस्तैमा हुनुहुन्छ खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका मिलन राई । उहाँले युट्युबबाट सिकेर सूर्यमुखी फूलको व्यावसायिक खेती सुरु गर्नुभयो । १६ वर्षको उमेरमा एसइई उत्तीर्ण भएका मिलन वैदेशिक रोजगारीको तयारीमा रहे पनि आफ्नै गाउँमा केही गर्ने सोच पलायो र सुरु भयो सामाजिक सञ्जालमार्फत सिप सिक्ने जाँगर । सोही जाँगरले उहाँलाई १९ वर्षको उमेरमै सफल व्यवसायी बनायो । युट्युबमा हेरेर बिना प्रशिक्षण व्यावसायिक रूपमा सुरु गरिएको सूर्यमुखी फूलको खेती राम्ररी सप्रिएपछि आगामी वर्ष थप वृद्धि गर्ने तयारी उहाँको छ ।

नगरपालिकाको कृषि शाखामा आधिकारिक रूपमा सूर्यमुखी कृषि फर्म दर्ता गरेर सूर्यमुखी फूलको व्यावसायिक खेती सुरु गर्नुभएका राईलाई आमा र बुबाले समेत साथ दिँदै आउनुभएको छ । परम्परागत कृषि प्रणाली अपनाउँदै आएका छिमेकीसमेत उहाँको फूलको व्यावसायिक खेती देखेर सिको गर्ने तयारीमा छन् । 

केही समयअघि सुदूरपश्चिमका महिलाहरूले टिकटकबाट पोतेका विभिन्न किसिमका सौन्दर्य सामग्री बनाउने सिप सिकेर व्यवसायी बनेका समाचार सार्वजनिक भयो । कैलालीका महिलाले मोबाइलको सहायताले टिकटक तथा युट्युब हेरेर सिप सिकेर व्यवसायी बनेका छन् । टीकापुरकी पुष्पा पाण्डेले टिकटक र युट्युबको सहायताले सिप सिकेर टीकापुरमै व्यवसाय सुरु गर्नुभएको छ । पेसाले स्वास्थ्यकर्मी उहाँले चुरा, पोते र विवाहका लागि आवश्यक सामान उत्पादन गर्न थाल्नुभएको छ । पाण्डेले टिकटक र युट्युबबाट सिकेर विवाहको वरमाला, विवाहका लागि चाहिने दुलाहा, दुलहीका सबै सामान तयार गर्नुहुन्छ । उहाँले सबै सिप सामाजिक सञ्जालको सहयोगमा सिक्नुभएको हो । उहाँ अहिले पनि नयाँ डिजाइन देखेमा 

युट्युब तथा टिकटकमा हेरेर सिक्ने गर्नुहुन्छ । पाण्डे टीकापुर अस्पतालमा कार्यरत हुनुहुन्छ । साँझ बिहानको समयमा सामान उत्पादन गर्ने पुष्पाको व्यवसाय पनि राम्रै चलिरहेको छ । उत्पादन मात्र होइन बिक्री पनि फेसबुक र टिकटकबाट भइरहेको छ । उहाँले बनाएका सामान कैलाली मात्र नभई अन्य जिल्ला र विदेश बस्ने नेपालीले माग गर्ने भएकाले विदेशमा समेत पठाउने गर्र्नुभएको छ । 

एक दशकसम्म शिक्षण पेसामा आबद्ध बझाङका भुवन जोशीले युट्युबकै सहारामा न्यू मालिका फुड्स एन्ड प्रोडक्ट नामक उद्योग सञ्चालनमा ल्याउनुभएको छ । स्नातक उत्तीर्ण गरेलगत्तै निजी तथा सामुदायिक विद्यालयमा अध्यापन सुरु गर्नुभएका जोशी विद्यालयमा काम गर्नुभन्दा स्वतन्त्र हुन व्यवसाय गर्ने चाहनालाई युट्युबले साथ दियो । त्यसैबाट सिकेर सुरु गरेको व्यवसायले एक वर्षमै दोब्बर कमाइ भयो । उहाँमा व्यवसायी बन्ने सोच सुरुदेखि नै थियो । एक दिन युट्युबमा प्रेरणादायी कथा सुन्दै गर्दा सडकबाट करोडपति भएका व्यवसायीका प्रेरणादायी कुराहरू बुझ्दै जाँदा जुनसुकै पेसा व्यवसायमा पनि मेहनतले फल दिन्छ भन्ने बुझेर व्यवसायी बन्नुभयो र यसको सिको सामाजिक सञ्जालबाट गर्नुभयो । व्यवसाय गर्ने दृढतामा साथ जोशीले चाउमिन उद्योग सुरु गर्नुभयो । सोही सोच अनुसार कैलालीबाट मेसिनलगायत सामान लिएर गाउँ आउनुभएका जोशीले युट्युब हेरेर जडान गर्नुभयो । अहिले बिहान चाउमिन बनाउने र दिउँसो गडराय बजारकै होटलमा बेच्नु उहाँको दैनिकी भएको छ । बिस्तारै व्यवसाय बढ्दै गएपछि दुई जनाले रोजगारसमेत पाएका छन् उहाँको उद्योगमा । 

यी केही उदाहरण मात्र हुन् । यी सन्दर्भहरू उठाउनुको एउटै कारण के हो भने सामाजिक सञ्जाललाई एक–अर्कालाई गालीगलौजमा मात्र सीमित गरी त्यस्तै विषयहरू पढेर, हेरेर रमाउने या यहाँ आउने सिपमूलक, ज्ञानबद्र्धक विषयमा गम्भीर भएर आफूलाई रूपान्तरण गर्ने भन्ने हो । यी सन्दर्भहरूले सामाजिक सञ्जालको महìव र उपयोगिता दर्शाउँछ । तर सामाजिक सञ्जाललाई असामाजिक बनाउने काममा कोहीभन्दा कोही कम छैनन् । आफ्नो आक्रोश पोख्ने काम यसैमा हुन्छ, पक्ष–विपक्षमा विभाजित गर्ने काम पनि यसैबाट हुन्छ । सही सूचना लुकाएर आफ्नो कुरा मात्र ठिक भन्ने नियोजित प्रचारबाजी यसैबाट हुन्छ । राजनीति गर्ने, सहिष्णुता बिगार्ने, कसैलाई गलत साबित गर्ने, कसैलाई देवत्वकरण गर्ने, कसैलाई दानवीकरण गर्ने, कसैको चरित्र समाप्त पारिदिने काममा सामाजिक सञ्जालको दुरुपयोग भइरहेको छ । 

तर यस्तै सक्रियता सकारात्मक काममा पनि हुने हो भने मुलुकमा उद्यमशीलताको विकास यसरी हुन्छ कि वैदेशिक रोजगारीको विकल्प नै खडा हुन सक्छ । मुलुकमा केही भएन भनेर सामाजिक सञ्जालमा आक्रोश पोख्नेहरूले त्यही सामाजिक सञ्जालमा आएका सकारात्मक र सिपमूलक, ज्ञानमूलक, शिक्षामूलक कुराहरूलाई ग्रहण गरेर आफूलाई परिवर्तन नै गर्न चाहँदैनन् । सामाजिक सञ्जालको विकास जीवन सहज बनाउन भएको थियो तर विश्वव्यापी रूपमा यसको अत्यधिक दुरुपयोग गरिएको छ । त्यसैले असामाजिक सञ्जालका रूपमा स्थापित हुन पुगेको छ । 

यसको दुरुपयोगबाट डरलाग्दा नतिजाहरू निस्किएका छन् । कतिको ज्यान गएको छ भने कतिको घरपरिवार भताभुङ्ग भएको छ, दुरुपयोगमा लाग्ने हजारौँ जेलजीवन बिताइरहेका छन् । अहिले पनि दैनिक जसो सामाजिक सञ्जालबाट ठगी गर्ने, चरित्र हत्या गर्ने, दुव्र्यवहार गर्नेहरू पक्राउ परेका समाचार सार्वजनिक भइरहेका छन् । यति मात्र होइन यसको दुरुपयोग गरी मानव बेचबिखनका घटनामा समेत वृद्धि भएको छ ।   

Author

यादव देवकोटा