• २१ वैशाख २०८१, शुक्रबार

१९औँ एसियाली खेलकुद

‘नेपालले भारतसँग राम्रो क्रिकेट संस्कृति देखायो’

blog

एसियाड क्रिकेटको क्वार्टरफाइनल खेलमा प्रतिस्पर्धा गर्दै नेपाल र भारतका खेलाडी । तस्बिरहरु : सौजन्य राजेन्द्र चित्रकार

हाङझाउ, असोज १६ गते । १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतसँग सानदार प्रदर्शन गरेको छ । 

नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले खेल हारेपनि नेपालले क्रिकेटको राम्रो संस्कृति देखाएको बताउनुभयो । ‘‘खेलमा हार जित स्वाभाविक हो । तर आज खेलाडीले धेरै राम्रो खेले । मैदानमा ब्याटिङको उत्कृष्ट नमुना थियो । फिल्डिङमा थोरै कमजोरी भयो । यदि १०-१५ रनको कम स्कोर भएको भए, नतिजा जेपनि हुन सक्थ्यो । यस प्रदर्शनले नेपाललाई विश्वकप छनोटमा राम्रो गर्ने बल मिलेको छ,’’ देसाईले भन्नुभयो । उहाँले नेपाली क्रिकेट बिस्तारै लयामा आएकोमा खुसी पनि व्यक्त गर्नुभयो । 


यस्तै नेपालका कप्तान रोहित पौडेलले भारतविरुद्ध सबै खेलाडीले राम्रो प्रदर्शन गरेको बताउनुभयो । ‘‘हामीले भारतलाई राम्रो चुनौती दियौँ । टी–२० मा जित हार जेपनि हुनसक्छ । हाम्रो ब्याटिङ पक्ष राम्रो भयो । बलिङमा सानातिना कमजोरी भए । हारेपनि हामीले आज राम्रो खेल्यौँ । पछिल्लो समय हामीले बलिया टिमसँग खेलिरहेका छौँ । आसन्न विश्वकप छनोटमा राम्रो प्रदर्शन गर्ने विश्वास गरेकाछौं,’’ पौडेलले भन्नुभयो । 

जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा मङ्गलबार भएको क्वार्टरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको हो । हारसँगै नेपाल एसियाडबाट बाहिरिएको छ । भारत भने सेमिफाइनलमा प्रवेश गरेको छ । 


जितका लागि दुई सय तीन (२०३) रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७९ रनमा समेटिएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाउनुभयो । उहाँले १५ बलमा चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।


यस्तै कुशल मल्ल र सन्दीप जोराले समान २९/२९, ओपनर कुशल भुर्तेलले २८, करण केसीले अविजित १८, आशिफ शेखले १० र रोहित पौडेलले तीन रन बनाउनुभयो । यस्तै सोमपाल कामी सात र गुलशन झा ६ रनमा आउट हुनुभयो । सन्दीप लामिछाने लामिछाने पाँच रन जोड्दै पेभेलियन फर्किनुभयो । 


बलिङमा भारतका रवि विस्नोई र आवेश खानले तीन तीन विकेट लिनुभयो । अर्शदीप सिंहले  दुई तथा सई किशोर एक विकेट लिनुभयो । यसअघि टस टिजेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय दुई (२०२) रन बनाएको थियो । 

भारतका लागि यशस्वी जैसवालले शतकीय इनिङ्स खेल्नुभयो । उहाँले ४९ बलमा आठ चौका र सात छक्काको सहयोगमा एक सय रन बनाउनुभएको हो । रिन्कु सिंहले अविजित ३७, कप्तान रुतुराज गायकवाडले २५ र शविम् दुवेले अविजित २५ रन बनाउनुभयो । 

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिनुभयो । सोमपाल कामी, सन्दीप लामिछाने एक एक विकेट लिनुभयो ।नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो पटक भारतसँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेको हो ।


एक दिवसीय क्रिकेटमा भने नेपालले एक महिना अघिमात्र एसिया कपमा भारतसँग प्रतिस्पर्धा गरेको थियो । नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो । त्यतिवेला भारतसँग उत्कृष्ट ब्याटिङ गरेको नेपालको चर्चा विश्वभर चुलिएको थियो ।


विश्वकपको कारण भारतले यसपटक एसियाडमा दोस्रो रोजाइका खेलाडी मैदानमा उतारेको थियो । एसियाड क्रिकेटको समूह चरणमा नेपालले पहिलो खेलमा मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई एक सय ३८ रनले हराएको थियो ।